ओली-नेपाल मिलन पातलिँदै, धुम्बाराही वार्ता ‘कास्टिङ’ मात्रै

ओली-नेपाल मिलन पातलिँदै, धुम्बाराही वार्ता ‘कास्टिङ’ मात्रै
+
-

काठमाडौँ- सर्वोच्च अदालतले एकै ठाउँमा बस्न आदेश दिएपनि केपी शर्मा ओली र माधवकुमार नेपालको राजनीतिक सहयात्रा कठिन बन्दै गएको छ।

अर्थात ओली र नेपाल मिलेर नेकपा एमाले हाँक्ने सम्भावना अब झिनो बन्दै गएको छ। सोमबारको धुम्बाराही वार्ताले त्यसलाई थप पुष्टि गरेको छ।

नेपाल पक्षको माग अनुसार आफ्नो तीन दिन अघिको निर्णय खारेज गर्न ओली तयार भएनन्। न त भोलि मंगलबारको बालुवाटारको चियापान समारोह र ७ गतेको केन्द्रीय कमिटी बैठक नै स्थगित गर्न उनी सहमत भए।

बरु, नेपालको भनाइलाई विश्वास गर्दा ओलीले बैठकको सुरुवातमा मिठो कुरा गरे र अन्तिममा तितो कुरा गरेर वार्तामा सामेल सबै नेताहरुलाई निराश पारे।

ओलीले चैत २८ गते नेपाल पक्षको सहभागिता बिना ओलीले नेपाल पक्षका पार्टी विभागीय प्रमुख र प्रदेश इन्चार्जलाई हटाउने, केन्द्रीय कमिटी विस्तार र ७० वर्षे हदम्याद विधानबाट हटाउने निर्णय गरेका थिए।

यी निर्णयहरु फिर्ता नभएसम्म एकता र सहमति प्रक्रिया अघि बढ्न नसक्ने अडानमा नेपाल रहे।

ओलीका तर्फबाट वार्तामा सामेल परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वार्ता हुनु सकारात्मक भएको तर आफूहरुको अनुरोध अनुसार आगामी चैत्र ४ र ५ गतेलाई तय राष्ट्रिय कर्ता भेला रोक्न नेपाल पक्षले नमानेको गुनासो गरे।

तर २८ गतेको आफूहरुको विधानविपरीतको निर्णय खारेज किन नगरेको भन्ने प्रश्नको जबाफ उनले स्पष्टरुपमा दिएनन्।

यता वार्तामा सामेल नेपाल र उनी पक्षधरु सबै नेताहरुले वार्ता अपेक्षा अनुसार अघि नबढेको र ठोष निष्कर्षबिनै आफूहरु उठ्नुपर्ने अवस्था आएको बताएका छन्।

ओली पक्षले २८ गतेको निर्णय फिर्ता लिन सहमत नभएपछि उनीहरु ओलीद्धारा मंगलबार आयोजित चियापान समारोह र ७ गतेको केन्द्रीय कमिटी बैठकमा सामेल नहुने निर्णय गरेका छन्।

यसबाट एमालेमा ओली र नेपाल पक्षबीचको विवाद तत्काल मिल्ने सम्भावना कम देखिएको हो।

ओलीले एक्लै बोलाए, नेपालले साथी लिएर गए


ओली र नेपालबीच सार्वजनिक रुपमै आरोपप्रत्यारोपको युद्व सुरु भएको पछिल्लो पटक करिव तीन महिना पुग्दै थियो। युद्ध समाप्तिका कुनै लक्षणहरु देखिएका थिएनन्। आफूले विघटन गरेको संसद ब्यूँतिएपनि ओलीले नैतिकता आधारमा राजीनामा नदिएपछि नेपाल क्रुद्ध थिए।

नेपालले नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्य दलसँग मिलेर ओलीलाई हटाउने तीव्र प्रयास गरेका बेला सर्वोच्च अदालतले नेकपालाई पुरानै अवस्थामा पुर्‍याइदियो। नेकपा एमाले र नेकपा माओवादी ब्यूँतिएपछि ओली नेतृत्वको नेकपा एमालेमा नेपाल जान बाध्य भएका थिए। ओलीविरुद्ध एमालेमै फर्किएर संघर्ष गर्ने घोषणा गर्दै नेपालले प्रचण्डलाई त्यागेका थिए।

विवाद बढ्दै जाँदा ओली र नेपालबीच भेट नभएको करिव तीन महिना पुगेको थियो। पछिल्लो पटक उनीहरुको पुस १ गतेको स्थायी कमिटी बैठकमा भेट भएको थियो।

संसद पुनःस्थापनापछि एमाले र माओवादी ब्यूँतिएको दिन चैत्र २३ गते ओलीले फोन गरेर नेपाललाई जन्मदिनको शुभकामना भने दिन भ्याएका थिए।

त्यसपछि भने संवाद ठप्प थियो। सोमबार साँझपख करिव ७ बजेतिर ओलीका तर्फबाट उपमहाचिव विष्णु पौडेलले फोनमार्फत नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेलाई मंगलबारको चियापान समारोहमा आउन आग्रह गरेका थिए।

तर स्रोतका अनुसार पाण्डेले पौडलेको निम्तो अस्विकार गरेका थिए। ‘तपाईँहरुले कुरा गर्न खोजेको हो र सहमतिको वातावरण बनाउन खोजेको हो भने प्रधानमन्त्रीलाई माधव र झलनाथ खनाल कमरेडको घरमा जान भन्नुहोस्,’ पाण्डेले पौडेललाई दिएको सल्लाह उद्धृत गर्दै स्रोतले भन्यो।’

त्यसको केहीबेरपछि नेपाललाई ओलीले फोन गरेका थिए। खनाललाई पनि गरेका थिए ओलीले फोन। कारणबस खनालको फोन उठेन।

‘हामी भेटौँ, छलफल गरौँ,‘ ओलीले नेपाललाई गरेको अनुरोध उद्धृत गर्दै स्रोतले भन्यो।

स्रोतका अनुसार नेपालले छलफल गर्नु सकारात्मक भएपनि आफू एक्लै ओलीलाई भेट्न नआउने अडान राखेका थिए। त्यसपछि ओलीले भनेका थिए,‘ त्यसो भए साथीहरु ल्याएर आउनुहोस्।’

सोमबार बिहान ११ नबज्दै नेपाल, उनी पक्षधर नेता पाण्डे, भीम रावल, रघुजी पन्त, गोकर्ण विष्ट र घनश्याम भुसाल धुम्बाराही पुगेका थिए।

त्यसको केहीबेरपछि मात्रै ओली धुम्बाराही झुल्किएका थिए। त्यसअघि ओलीका तर्फबाट परराष्ट्रमन्त्री ज्ञवाली,उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेता सुवास नेम्वाङ कार्यालयभित्र छिरिसकेका थिए।

यसअघि आफ्नो स्वास्थ्य र सुरक्षाको कारण देखाउँदै कयौँ पटक धुम्बाराहीमा तय भएका पार्टी बैठक आफ्नै सरकारी निवास बालुवाटार सारेका ओली धुम्बाराही छिर्दा मंगलबार खासै सुरक्षा व्यवस्था कडा थिएन। सञ्चारकर्मीहरुले पार्टी कार्यालय परिसरमै बसेर सूचना संकलनको अवसर पाएका थिए।

वार्ता करिव दुई घण्टा चल्यो। ओलीले सुरुवातमै नेपाललाई बोल्न लगाएका थिए। तर नेपालले भने, ‘तपाईँले हामीलाई बोलाउनु भएको हो। तपाईँको के छ कुरा? पहिले तपाईँ भन्नुहोस्। तपाईँका कुरा सुन्न हामी आएको हो।’

त्यसपछि पार्टी एकता लगायत सकारात्मक कुरा गरेका ओली विस्तारै नेपाल पक्षको चित्त नबुझ्ने कुरा गरेका थिए। अर्थात ओलीको बैठकमा ‘काष्टिङ’ राम्रो थियो। तर नेपाल पक्षले पार्टीको एकता र सुदृढिकरणका लागि आफूहरु सँधै तयार भएको र अदालतले आफूहरुलाई पूर्ववत अवस्थामा फर्काएपछि त्यही अवस्थाबाट अघि बढ्नुपर्ने धारणा राखे।

नेपाल पक्षले २३ गते यताका गतिविधिलाई शून्यमा राखेर अघि बढ्नुपर्ने अडान राखे। तर ओलीले २८ गतेको बैठक केन्द्रीय कमिटीकै भएकाले त्यसलाई आधिकारिक बैठक मान्नुपर्ने र त्यसका निर्णय पनि आधिकारिक भएको अडान दोहोर्याए। नेपाल पक्षले त्यसलाई बैठक मान्न तयार भएन। त्यो केवल गुट भेला भएको र त्यसका निर्णयहरु अवैध भएको अडान उसले त्यागेन। ओली बोलिरहे। उनका समर्थकहरु मौन थिए।

ओलीले एकोहोरो आफ्नो अडान दोहोर्याउन थालेपछि ‘कुरा मिलेन’ भन्दै नेपाल पक्षका नेताहरु उठेर हिँडेका थिए। बाहिर निस्कदा सबै नेताहरु निराश थिए।

नेता पन्तले वार्ता हुनु सकारात्मक भएपनि आफूहरुको माग कार्यान्वयन गर्न प्रधानमन्त्री ओली तयार नभएको सुनाए।नेता रावलले सर्वोच्चको फैसलासँग नमिल्नेगरी ओली पक्षले निर्णयहरु गरेको र त्यो फिर्ताका लागि गरेको आग्रहको सुनुवाई नभएको बताए। नेता घनश्याम भुसाले आफूले अपेक्षा गरेअनुसार बैठक नभएको प्रतिक्रिया दिए।

नेता पाण्डेको भनाई पनि मिल्दो थियो। नेता नेपाल स्वयम्ले बैठकको प्रारम्भ मिठो तरिकाले भएको तर अन्तिम टर्रो अर्थात तितोरुपमा सम्पन्न भएको प्रतिक्रिया दिए।

नेपालले भने,‘ बैठकको प्रारम्भ मिठो र गुलियो तरिकाले भयो। तर अन्तिमको टर्रो अर्थात तितो भयो। आफ्नै आफ्नै ठाउँमा रहेर अर्थात यथास्थितिमै रहेर हामी छुटिट्यौँ।’

तपाईँहरुको अडान के थियो? भन्ने प्रश्नमा नेपालको जबाफ थियो,‘हाम्रो एउटै भनाई थियो कि सर्वोच्च अदालतको फैसलापछि पूर्वएमालेको संरचनाको हिसावले, पदाधिकारीको हिसावले जुन स्थान थियो त्यहीँ फर्कियौँ।

२८ गतेको वैठक वैधानिक छैन। त्यसलाई शुन्य अवस्थामा पुर्याउँ। र, सिंगो स्थितिकाबारेमा बसेर छलफल गरौँला भनेको त्यो स्वीकार्य भएन।’

ओलीका तर्फबाट नेता ज्ञवालीसँगै सुवास नेम्वाङ र ईश्वर पोखरेलले पनि आफ्नो धारणा राखेका थिए। उनीहरु दुवैले वार्ता बोलाइनु आफैमा अवसर भएको र अवसरको सदुपयोग गर्नुपर्नेमा केन्द्रीत थिए। पोखरेलले भने,‘वार्ता बोलाइएको छ।

यो आफैमा सकरात्मक पक्ष हो। यसलाई अवसर मानेर पार्टी एकतामा केन्द्र हुनुपर्नेमा हाम्रो जोड रहेको छ।’ अव वार्ता कहिले हुन्छ? यसको जबाफ दुवै पक्षबाट आएन।

ओलीसँगको वार्ता असफल भएपछि नेपाल पक्षको सोमबार नै बानेश्वरस्थित अर्याल होटलमा भेला भएको थियो। भेलामा नेपालले धुम्बाराई वार्ताका निष्कर्षबारे ‘ब्रिफिङ’ सुनाएका थिए।

उक्त भेलाले नै ओलीले मंगलबार बोलाएको चियापान र ७ गते बालुवाटार बोलाएको केन्द्रीय कमिटी बैठकमा सामेल नहुने निर्णय गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?