
तेल्लोक (ताप्लेजुङ) – शहरिया पढेलेखेका लागि जागिर पाउन सजिलो होला। उनीहरू केही निजी काम गरेर वा व्यापार व्यवसाय गरेर भए पनि जीविका चलाउँछन्।
तर जहाँ रोजगारीको संभावना छैन त्यो ठाउँका लागि सानोतिनो अवसर पनि रोजगारी खोज्नेहरूका लागि बरदान सावित भइदिन्छ।
पातलो बस्ती, यता हेर्दा त्यही डाँडो, उता हेर्दा पनि पल्लो डाँडो, मानसिक रुपमा पनि जीवन जिउन धेरै कठिन छ।
कतिपयले त आज पनि त्यही, भोलि पनि त्यही, पर्सी पनि त्यही अवस्थाले दिक्क भएर आत्महत्या गर्नेसम्मका प्रयास गर्छन्। त्यस्ता विवरण कैयौं पटक पढ्न पाइन्छ।
जहाँ संरचनाहरू बनेका छन्, भौगोलिक सुगमता छ, त्यहाँ रोजगारी विभिन्न अवसरहरू प्राप्त हुन्छन्। तर भौगोलिक विकट स्थानहरूका युवा जति नै पढे पनि त्यही स्थानका लागि सुहाउने र थोरै भए पनि आम्दानीका श्रोत जुटाउन बाध्य हुन्छन्।
ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका खेबाङका मणि लिम्बुले भर्खरै अंग्रेजी विषय लिएर स्नातक तह उत्तीर्ण गरेका रहेछन्। भौगोलिक सुगम स्थानका युवकका लागि भने अंग्रेजी विषय लिएर त्यो तह उत्तीर्ण गरिसकेपछि कि त शिक्षक बन्नका लागि विद्यालयमा निवेदन दिन्छन्, कि कुनै गैर सरकारी संस्थामा जागिर खोज्दै जान्छन् वा अन्य क्षेत्रका जागिर खोज्न निस्किन्छन्।
तर मणि लिम्बुका लागि ती अवसरहरू ‘आकाशको फल’ जस्तै हो। त्यस्ता अवसर खोज्न उनले घर छोड्नु पर्छ। घर छोड्दा खर्च अभाव हुन्छ। त्यो ‘रिस्क’ उनले लिन चाहेनन्।
गाउँपालिका कार्यालयले पहिलो पटक राजमिस्त्री (मेसन)को तालिमका आवेदन खुलायो। जुन उनका लागि एउटा अवसर थियो। निवेदन दिए।
अहिले उनी आफ्नो दिमाग प्रयोग गरेर त्यही अवसरको भरपूर सदुपयोग गरिरहेका छन्। तालिम लिइरहेका छन्। गाउँपालिकाका इन्जिनियरहरूले मणिलगायत १४ जनालाई मेसनको तालिम दिइरहेका छन्।
गाउँपालिकाका रोजगार शाखाका प्रमुख हिमाल तिम्सिनाले भने, ‘यो भन्दा अघि सीपमूलक तालिम गराइएको थिएन। पहिलो पटक हो यो।’
गाउँपालिका कार्यालय अघि इन्जिनियरहरूको रेखदेख र निर्देशनमा मणि नालीको काम गरिरहेको थिए।
उनले भने, ‘पहिला जस्तोसुकै तरिकाले काम गरिन्थ्यो। अहिले त धेरै ज्ञान भयो। अब त दक्ष बनिन्छ, पक्का।’
उनको अनुहारमा चमक थियो। खुशी थिए। उनले फेरि भने, ‘गाउँ ठाउँमा यस्तो हो सर। जस्तो परिस्थिति छ, रमाउनु पर्यो नि।’ खिस्स हाँस्दै काममा लागे।
उनका साथी विजयराज लिम्बुले पनि कक्षा ७ पढ्दा पढ्दै विद्यालय जान छोडेका रहेछन्। उनको जवाफ थियो, ‘पढेर कुनै अवसर छैन। अब मेसन नै बन्ने हो।’
गाउँपालिका कार्यालय पनि ती १४ जनाको मेहेनत देखेर सन्तुष्ट भएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए।
सर्वसाधारण जनतामा विकास भन्ने वितिक्कै गाउँमा डोजर चल्नुपर्ने, बाटै खन्नु पर्ने जस्ता अवधारणाको विकास भएकाले मानवीय विकासमा पनि गाउँपालिकाले ध्यान दिएको उनले बताए।
मानवीय साधनको प्रयोगले मानिसको सुख र कल्याणका उन्नतिका विविध प्रयास गर्नु नै आर्थिक विकास हो।
मानवीय साधनलाई बढी उत्पादनशील बनाउन यसमा लगानी गरिरहनु पर्दछ।
शिक्षा, स्वास्थ्य, सरसफाईमा लगानी गर्नु भनेको मानव विकासमा लगानी गर्नु हो। मानव विकासका लागि सबभन्दा महत्त्वपूर्ण खर्च भनेको शिक्षा क्षेत्र हो। यसको दीर्घकालिक प्रभाव हुन्छ।
खासगरि सोच परिवर्तन नभए जबरजस्ती भौगोलिक संरचनाको विकास गरिए त्यस्ले विकास होइन विनाश निम्त्याउने तर्क घिमिरेको छ।
उनले भने, ‘यहाँ खन्दा अन्य क्षति हुँदैन भन्ने मानसिकताको विकास नभइ कसरी साँच्चै विकास हुन्छ र। पहिला त दिमागले काम गर्नुपर्छ र मात्र हात खुट्टा चल्ने हुन्।’