
काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि सामेल गराउने योजनासहित बालुवाटारमा मंगलबार चियापान कार्यक्रम गर्ने योजना तीन दिनअघि नै बनाइसकेका थिए।
चियापान आयोजना गर्ने निर्णय गरेको केहीबेरमै ओलीका तर्फबाट उपमहासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेलाई फोन गरेर निम्तो दिने प्रयास गरेका थिए।
तर पाण्डेले नेपाल र अर्का आफ्ना नेता झलनाथ खनालकै घरमा ओलीलाई पठाए एकताका लागि संवाद प्रक्रिया अघि बढ्ने सुझाव दिएपछि ओलीले नेपाललाई फोन गरेका थिए। तर नेपालको जबाफ थियो, ‘फागुन २८ गतेको निर्णय फिर्ता नभएसम्म चियापानमा आइन्न।’
भोलिपल्ट भएको धुम्बाराही वार्ता पनि त्यसैमा अड्कियो।
२८ गते आफ्नो सहभागिता बिना गरिएका पार्टी विभागीय प्रमुख र प्रदेश इन्चार्ज परिवर्तन, केन्द्रीय कमिटी विस्तार र विधानमा रहेको ७० वर्षे हदम्याद हटाउने ओलीको निर्णयसँग सहमत नभएको नेपाल पक्ष मंगलबार बालुवाटारमा देखिएन। त्यसलाई ओली पक्षका नेताहरुले अनौठो मानेनन्।
यसअघि नेपाल पक्षको बैठकमा देखिएका सांसद माया ज्ञवाली, गंगा चौधरी सत्गौवा, गोपाल बम, नजमा खातुन र केन्द्रीय सदस्य केशवलाल श्रेष्ठ देखिँदा भने उनीहरुलाई अनौठो लागेको थियो। जसले ओलीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए।
यता चियापान केका लागि? प्रश्न अनुत्तरित थियो। त्यसको स्पष्ट जबाफ ओलीले पनि दिएनन्। बरु उनले चियापान समारोहलाई नेपाल पक्षलाई धम्की र चेतावनी दिने थलोको रुपमा परिणत गरे। ओली आक्रमक देखिन्थे।
उनको चेतावनी थियो, ‘चियापानका लागि पार्टी अध्यक्ष र प्रधानमन्त्रीको निम्तो आउँदा नजाने, कसको निम्तो आउँदा जानुहुन्छ त? जबाफ सबैलाई थाहा छ। तर यहाँ नभनौ।’
ओलीको यो अभिव्यक्तिले हाँसो बटुल्यो। ताली पायो। यस्ता धेरै ओलीका अभिव्यक्ति चियापान समारोहमा सहभागीले मन पराएको संकेत दिइरहे।
ओलीले नेपाल पक्षलाई लक्षित गर्दै चियापान समारोहमा उनीहरु सहभागी नहुनु राम्रो लक्षण नभएको बताए। नेपाल पक्षको भेलालाई तमासाको संज्ञा दिएका ओलीले त्यसमा एक नजर राखिराख्ने घोषणा पनि गरे, सार्वजनिक रुपमै।
ओलीको धम्की थियो, ‘अझै केही समय बाँकी छ। भोलि भेला गर्नुहुन्छ कि गर्नहुन्न? भोलिको तमासामा एक नजर त्यता राखिने छ। पार्टीलाई धम्काएर, घुर्क्याएर ठेगान लगाउँछु भन्ने सोचेको हो भने त्यस्तो हुन सक्दैन। पार्टी विधि–विधान अनुसार अघि बढ्छ। नचाहिने कुराका अघि लत्रिने कुरा छैन। सत्यसँग नलड्ने, निहुँ खोज्नेहरुसँग नझुक्ने हाम्रो स्वभाव छ।’
ओलीले बालुवाटारबाट नेपाल पक्षलाई भेला नगर्न धम्की दिइरहेका बेला ललितपुरस्थित हेरिटेज होटलमा नेपाल पक्षले भेलाको तयारी सम्पन्न गरिसकेको थियो। त्यसबारे जानकारी दिन पत्रकार सम्मेलनको समेत आयोजना गर्दै थियो।
तर ओली भन्दै थिए, ‘पार्टी पुरानै स्थितिमा फर्कियो भनेपछि पनि केही मानिस छुट्टै भेला, छुट्टै बैठक गरिरहेका छन्। निहुँ खोजिरहेका छन्। ७ गते फेरि केन्द्रीय कमिटी बैठक बोलाइएको छ। तर भोलि कार्यकर्ता भेला बोलाउने, प्रतिवेदन पास गर्ने रे। के समानान्तर कमिटी पनि बनाउने रे। अर्को कमिटी वा पार्टी नै बनाउन खोजे पनि के गर्न सकिन्छ?’
योसँगै ओलीले एउटै पार्टीमा बसेर अब उपरान्त अनुशासनहिनता, उच्छ्रिङ्खलता, विधि र विधान विपरीत काम कारवाही, पार्टी एकता विरोधी क्रियाकलपा छुट नभएको र त्यो मान्य नहुने चेतावनी दिए।
‘अचाक्ली भयो। पार्टीको रुपमा चल्न नदिने। जहिले पनि भाँडभैलो मच्चाउने। यो कुरा हुन सक्दैन। पार्टीमा हामी सबैले अनुशासित भएर काम गर्नुपर्छ। अब अनुशासनहिन भयो भने पार्टीको विधान, कानुन, संविधान, संसद नियामावली, दल सम्बन्धी कानुन छ। यी सबैतिर म ध्यानाकर्षण गराउन चाहन्छु।’
साथै ओलीले नेपाल पक्षको बुधबारको भेलामा नेकपा एमाले सम्बद्ध कोही नेता तथा कार्यकर्ता सहभागी नहुन सचेत गराए।
ओलीले भने, ‘यस पार्टीमा कसैमाथि अन्याय हुन्न। ठूलठूला अपराध भएका छन्। अपराध गर्नेलाई स्वागत छ त भन्दिनँ तर स्वीकार्छौँ हामी। फेरि उही धन्दा, उही सिलसिला त्यो चल्दैन। हिजोको झैं तमासा गर्ने, जग हसाउने, अनि सञ्चारमाध्यमलाई खेती दिने, के विषयमा कलम चलाउँ भनिराख्या बेला फलानो गुटको भेला फलानो ठाउँमा भनेर समाचार बनाउने काम भइरहेको छ।’
बालुवाटारबाट ओलीले दिएको चुनौतिको जबाफ तत्कालै नेपाल पक्षका नेता एवं पूर्व पर्यटन मन्त्री योगेश भट्टराईले दिए, होटल हेरिटेजबाटै। भट्टराईले भने, ‘यो बुद्धको देशमा शान्तिको भाषा बोल्नुपर्छ। शक्तिको भाषा बोल्नुहुन्न। प्रधानमन्त्रीजी आफै बुद्धको अनुयायी हुनुहुन्छ। आज तपाईँको बालुवाटारको भाषा शक्तिको भाषा छ। त्यो भाषा बदल्नुहोस र शान्तिको भाषा बोल्नुहोस्।’
भट्टराईले भेला गरेका र भेलामा सहभागी भएकालाई कारवाही गर्ने प्रधानमन्त्री ओलीको चेतावनीको जबाफ फर्काए।
उनको जबाफ थियो, ‘भेलामा उहाँको तर्फबाट को–को नजर लाउन आउनुहुन्छ, सबैलाई स्वागत छ। प्रधानमन्त्रीले नै उद्घाटन गर्नुहोस्। सबै कार्यकर्तालाई सम्बोधन गर्नुहोस्।’
ओलीको आफूलाई कारवाही गर्ने अहंकारपूर्ण अभिव्यक्ति भएको भट्टराईले टिप्पणी गरे। उनले भने, ‘हामी सबै एकपछि अर्को कारवाही भोग्न हामी लामवद्ध भएका छौँ। हामीलाई कुनै पनि पछुतो हुनेछैन।’
साथै उनले इतहासको उत्तर दिन नसक्दा त्यही बेला कठोर कारवाहीको भागीदार ओली हुनुपर्ने उनको भनाइ छ। भट्टराईले भने, ‘सायद त्यो बेला तपाईंका निम्ति दुई थोपा आँसु चुहाउने मानिस पनि नहुन सक्छन्। त्यो दुःखान्त स्थिति आउन सक्छ। धक्कीका भाषा नबोलौँ।’
यता नेपाल पक्षले बदलिँदो परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापी रुपमा पार्टी पङ्क्तिलाई त्यस आधारमा अघि बढाउनका लागि बुधबार र बिहीबार भेला आयोजना गर्न लागेको दाबी गरेको छ। नेता सुरेन्द्र पाण्डेले यो भेलालाई राजनीतिक र वैधानिक दुवै भनेका छन्। तर नेपाल पक्षको भेलालाई ओली पक्षले आफूहरुसँग छुट्टिने तयारीका रुपमा हेरेको छ। ओलीले मंगलबार बालुवाटारमा भनेका थिए, ‘छुट्टै भेला गर्नु, बैठक गर्नु पार्टी एकता भाँड्नु र टुक्राउनु हो।’
२०७५ साल जेठ ३ गते एमालेसँग नेकपा माओवादी केन्द्रको एकता भएको थियो। तर विवादै–विवादले आफै राजनीतिक रुपमा विभाजित भइसकेको नेकपा भंग भएको फैसला सर्वोच्च अदालतले गर्न पुग्यो, यही फागुन २३ गते। पूर्ववत् अवस्थामा फर्किन परेपछि नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिलेर सुरु गरेको ओलीविरुद्धको अभियान त्यागेर पार्टीभित्रै संघर्ष गर्ने भन्दै एमालेनै रोजेका थिए।
तर त्यसको पाँच दिन नपुग्दै फागुन २८ गते ओली पक्षले आफूहरु सहभागी नभएको बैठकलाई केन्द्रीय कमिटी बैठक भनेर त्यसबाट विधान विपरीत विभिन्न निर्णयहरु गरेका थिए। त्यसको विरोधमा नेपाल पक्ष उत्रिएको छ।