
काठमाडौँ- दक्षिणकाली नगरपालिकाको चाल्नाखेलमा पर्ने जङ्गलमा शुक्रबार मृत भेटिएका दुई किशोरमा डिप्रेसनको समस्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ।
अनुसन्धानमा खटिएका काठमाडौँ प्रहरी परिसरका एक अधिकृतका अनुसार मृतकमध्येका अर्जुन खड्काले ८/१० दिनअघि एकजना मिल्ने साथीसँग ‘सजिलो तरिकाले मर्ने आइडिया तिमीलाई थाहा छ?’ भन्दै सोधेका थिए।
शुक्रबार बिहान स्थानीय खहरेमा दुई युवाको शव देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए। मृतकमध्येका एक अर्जुनका दाजुले सनाखत गरेपछि मृतक दुवै जनाको सनाखत भएको थियो।
नुवाकोटका अर्जुन र काभ्रेका मङ्गल तामाङका रुपमा उनीहरुको पहिचान भएको थियो। उनीहरु दुवै जना बाङ्गेमुढामा बस्दै आएका थिए। उनीहरु कक्षा १० मा अध्ययनरत थिए भने साथी-साथी हुन्। दुवै जना परिवारसँग भाडामा बस्दै आएका थिए। उनीहरु सामान्य परिवारका हुन्। मङ्गल र अर्जुन बिहीबार बिहान साढे १० बजे घरबाट निस्किएका थिए।
शंकास्पद अवस्थामा शव भेटेपछि प्रहरीले मृतकका साथीहरुलाई बोलाएर सोधपुछ गरिरहेको छ। घटनास्थलमा ‘सल्फस’ नामक विषका दुईवटा बोतल भेटिएकाले यी किशोरले आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीको छ। घटना योजनाबद्ध भएको हुन सक्ने अनुसन्धान अधिकारी बताउँछन्।
‘यदि उनीहरुले आत्महत्या गरेका हुन् भने उनीहरु कसरी यो निष्कर्षमा पुगे भन्नेबारे अनुसन्धान हुनेछ। पोष्टमार्टम अहिले भइरहेको छ। पोष्टमार्टमको रिपोर्ट आएपछि अनुसन्धानले थप दिशा समात्ने छ’, ती अनुसन्धान अधिकृतले भने।
प्रहरीका अनुसार अर्जुन लागुऔषध दुर्व्यसनीसमेत थिए तर त्यसबारे उनका परिवारलाई कुनै जानकारी नभएको उनीहरुको भनाइ छ।