‘युरेनियम’ बरामद प्रकरण : चर्चा अर्बको, अनुसन्धान शून्य

‘युरेनियम’ बरामद प्रकरण : चर्चा अर्बको, अनुसन्धान शून्य
+
-

काठमाडौँ- अन्तर्राष्ट्रिय बजारमा अर्बौँ रुपैयाँ मूल्य भएको भनी प्रहरीले सार्वजनिक गरेको ‘युरेनियम’ बरामद प्रकरणको अनुसन्धान शुन्य देखिएको छ।

प्रहरीले उक्त बस्तु राखिएको घरकी मालिक जानुका तामाङ र बिक्री गर्न सक्रिय रहेको आरोपमा अन्य तीन जनालाई पक्राउ गरेको थियो। तर युरेनियमको करिब अढाइ केजी कच्चा पदार्थ बरामद भएको भनी प्रहरीले सार्वजनिक गरेको दुई साता बित्न लाग्दा अनुसन्धान त्यहाँभन्दा अगाडि बढ्न सकेको छैन।

काठमाडौँ प्रहरी परिसरले युरेनियम परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान-नास्टमा नमूना पठाएको थियो। नास्टका प्रवक्ता सुरेशकुमार ढुंगेल उक्त पदार्थ रेडियोधर्मीयुक्त भएको र त्यसले निकाल्ने रेडिएसन (विकरण)को प्याटर्न लगभग युरेनियमले निकाल्ने विकरणसँग मिल्ने भएकाले युरेनियम -२३८ (युरेनियमको कच्चा पदार्थ) हुने जवाफ पठाएको बताउँछन्। अन्य वस्तुले पनि रेडिएसन निकाल्न सक्ने तर रेडियसनको प्याटर्न हेर्दा युरेनियमसँग मिल्दोजुल्दो भएको उनको भनाइ छ।

‘प्याटर्न हेरेर अनुमान गर्ने एउटा तरिकाले हो। एक्टिभिटी अफ दी मटेरियल पनि युरेनियमन-२३८ सँग ठ्याक्कै मिल्दोजुल्दो छ।  केमिकल अनलाइसिस (आईसीपीएमएस) गरेर ठ्याक्कै यो युरेनियमन हो/होइन थाहा पाउन सकिन्छ। तर यो प्रविधि हामीसँग छैन’, प्रवक्ता ढुंगेल भन्छन्।

प्रहरीले नास्टलाई बरामद भएको बस्तुमा युरेनियमको मात्रा परीक्षणका लागि पत्राचार गरेको थियो। नास्टका प्रवक्ता ढुंगेल मात्रा थाहा पाउने प्रविधि नास्टसँग नभएकाले त्यसो गर्न सम्भव नभएको भनी जवाफ पठाएको बताउँछन्।

‘जुन बस्तु प्रहरीले फेला पारेको छ, अहिलेसम्म प्राप्त भएका तथ्यलाई हेर्दा यसको अनुसन्धान गम्भीरतापूर्वक हुनु आवश्यक छ’, ढुंगेल भन्छन्।

प्रशोधित युरेनियम (युरेनियम-२३५) प्रति १० ग्राम १८ करोड नेपाली रुपैयाँ पर्ने प्रहरीले पत्रकार सम्मेलनमा बताएको थियो। यस्तो युरेनियमन आणविक हतियार बनाउन र विद्युत उत्पादन गर्न प्रयोग हुन्छ।  नेपालमा यी दुवैको सम्भावना छैन। ‘यो कहाँबाट ल्याइयो र कहाँ लगिँदै थियो भन्ने गहन अनुसन्धान हुनुपर्छ’, परीक्षणमा संलग्न नास्टका एक अधिकारी भन्छन्। रेडियोधर्मी वस्तु त्यसमा पनि युरेनियम खुलारुपमा लिएर हिँड्दा त्यसले स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने वैज्ञानिकहरु बताउँछन्।

प्रहरी पक्राउ परेकाको बयानभन्दा अगाडि बढ्न सकेको छैन। जानुकाले आफ्ना ससुराले भारतमा युरेनियम उत्खनन् गर्दा २०/२५ वर्ष अघि चिनोका रुपमा उक्त बस्तु घरमा ल्याएर राखेको प्रारम्भिक सोधपुछमा भनेकी छिन्।

‘ससुराले २०४७/४८ सालतिर ल्याउनु भएको रहेछ। २०५१ सालतिर घर बनाएको हो। त्यसको पाँच वर्षपछि मात्र विवाह भएर म उहाँहरुको घरमा भित्रिएकी हुँ’, जानुकाले भनेकी छिन्। उनका ससुरा र श्रीमान हाल अमेरिकामा छन्। ससुरा अम्बरलाई प्यारालाइसिस भएको र स्वास्थ्य अवस्था कमजोर रहेको जानुकाले प्रहरीलाई बताएकी छिन्।

जानुकाले उल्लेख गरेको ठेगानाअनुसार त्यस समयमा भारतमा युरेनियम खानी उत्खनन् रहेको पाइएको छ।  ‘यदि जानुकाले भनेको कुरा पत्याउने हो भनेपनि अम्बरले त्यति सजिलै ल्याएर किन घरमा राखिरहे भन्ने कुरा शंकास्पद छ। यदि त्यो सत्य होइन भने यो बस्तु कहाँबाट ल्याइयो र कहाँ लगिँदै थियो भन्ने गम्भीर खोजी हुनुपर्छ’, परीक्षणमा संलग्न नास्टका ती अधिकारी बताउँछन्।

जानुकाले प्रहरीलाई बताएअनुसार एक व्यक्ति पुरानो बस्तु राम्रो मूल्य दिएर किन्दै हिँडेका कारण उनले त्यसलाई बिक्री गर्न लागेकी थिइन्। प्रहरीले ती व्यक्तिलाई पक्राउ गर्न सकेको छैन। काठमाडौँ प्रहरी परिसर प्रवक्ता रमेश बस्नेतले नास्टलाई पठाइएको पत्रको जवाफ प्राप्त नभएको बताए।

नेपालमा पनि युरेनियमको खानी हुन सक्ने सरकारी निकायकै दावी छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?