
– लकडाउनका समयमा गोंगबुमा एक पुरुषको निर्मम हत्या भयो। कल्पना मुडभरीले आफ्नो घरमा आइरहने एक पुरुषलाई मारेपछि शरीरलाई टुक्रा पारेर शव व्यवस्थापन गर्न खोजेकी थिइन्। तर प्रहरी अनुसन्धानबाट कल्पना पक्राउ परिन्। अदालतले उनलाई आजीवन काराबासको सजाय सुनाएको छ। श्रीमानभन्दा अलग रहेर बस्दै आएकी कल्पना र ती पुरुषबीच लामो समयदेखि सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।
– प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले भारतको मुम्बईस्थित जेबी रोडमा बेश्यालय सन्चालन गर्दै आएकी नुवाकोटकी ६२ वर्षीय सीता तामाङलाई केही दिनअघि पक्राउ गरेको छ। सीताले नेपाली महिलालाई गिरोहमार्फत पुर्याएर बेश्यालयमा काम गर्न लगाएको प्रहरीको दावी छ।
-भक्तपुरको चाँगुनारायण नगरपालिका-७ बाँसबारीमा २०७६ असारमा दिउँसो घरमा बसिरहेकी एक वृद्धाको घाँटी रेटी हत्या भयो। मृतक ६१ वर्षीया सावित्री भट्टराई कान्छी छोरी ईश्वरीकहाँ बस्दै आएकी थिइन्। बिहानै होटलको काममा निस्कने ईश्वरीका श्रीमान आइतबार पनि सबेरै बाहिरिएका थिए। ईश्वरी पनि बाहिर काम छ भन्दै निस्किएकी थिइन्।
घरमा नातिलाई खाना खुवाएर स्कुल छाड्ने जिम्मा सावित्रीकै थियो। त्यही समयमा त्यहाँ आएका तीन जना तराई मुलका युवाले सावित्राको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्यो। प्रहरीको निष्कर्ष थियो- इश्वरीको योजनामा सावित्राको हत्या भएको हो। घटनामा संलग्न मोहम्मद नौसाद र इश्वरीबीच लामो समयदेखि शारीरिक सम्पर्क रहँदै आएको थियो। त्यसबारे सावित्रालाई भर्खरै मात्रा थाहा भएको थियो। नौसादसँगको सम्बन्धलाई कायम राख्न ईश्वरीले सावित्राको हत्या गर्ने योजना बनाएकी थिइन्। ईश्वरीलाई अदालतले जन्मकैदको सजाय सुनाइसकेको छ।
– प्रहरीले १२ केजी गाँजासहित बाराबाट मंगलबार पर्साको जिराभवानीपुर गाउँपालिकाकी ५० वर्षीया मीनादेवीलाई पक्राउ गर्यो। प्लाष्टिकको झोला बोकेर जीतपुरबाट पटेर्वा सुगौलीतर्फ जान अटो कुरिरहेको अवस्थामा प्रहरीले ती महिलालाई पक्राउ गरेको थियो।
-रौतहटमा दुई महिना अघि एक किशोरीले प्रहरीमा सामूहिक बलात्कारको जाहेरी दिइन्। बलात्कार भएको भनिएको समय र ठाउँमा प्राविधिक अनुसन्धानपछि आरोपित युवकहरुको ‘लोकेसन’ देखिएन। त्यसपछि प्रहरीले जाहेरी दिने किशोरीमाथि अनुसन्धान गरेको थियो। अनुसन्धानमा झुटा जाहेरी दिएको देखियो र प्रहरीले उल्टै ती किशोरी र उनलाई प्रयोग गर्ने व्यक्तिहरुविरुद्ध मुद्धा चलायो। अहिले ती किशोरी सुधार गृहमा छिन्।
-काठमाडौँ उपत्यका अपराध महाशाखाले हालसालै हनी ट्रयापिङका दुईवटा घटनामा केही महिलाहरुलाई पक्राउ गर्यो। प्रहरीका अनुसार ती महिलाहरुले पुरुषहरुसँग सहमतिमा यौन सम्पर्क गरी त्यसलाई गोप्यरुपमा भिडियो खिचेर पछि उनीहरुसँग ब्ल्याकमेलिङ गरेका थिए। पटकपटक पैसाको बार्गेनिङ भएपछि ती पुरुषहरु प्रहरीकहाँ उजुरी दिन पुगेका थिए।
– मकवानपुरको गढी गाउँपालिका घर भई काठमाडौँको बाफल बस्ने ३९ वर्षीया माया तामाङले कलङ्कीमा बुधबार राति तरकारी किन्नेक्रममा नक्कली नोट दिएको सूचना आएपछि प्रहरीले गरेको अनुसन्धानपछि ती महिला एक हजार दरका ५१ थान र पाँच सय दरका ५७ थान नक्कली नेपाली रुपैयाँसहित पक्राउ परेकी छिन्। उनको साथबाट प्रिन्टर मेसिन, फोटोकपी पेपर, पेपर कटरलगायत सामग्री पनि बरामद भएको छ।
नेपालभित्र पछिल्लो समय भएका केही आपराधिक घटनामा महिलाको संलग्नता रहेका यी प्रतिनिधि घटना हुन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता बसन्तबहादुर कुँवर पछिल्लो समय अपराधमा महिलाको संलग्नता बढिरहेको बताउँछन्। ‘कतिपय अवस्थामा उनिहरुलाई पुरुषले प्रयोग गर्ने गरेको पनि देखिएको छ। केहीमा उनीहरु आफु जान्दाजान्दै पनि विभिन्न प्रलोभनमा परेर संलग्न भएको देखिन्छ’, कुँवर भन्छन्।
नेपाल प्रहरीको केन्द्रीय तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुससम्म भएका विभिन्न अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेकाको संख्या १६ हजार ३८ जना रहेको छ। तीमध्ये ८ सय ५३ जना महिला छन्।
मान्छे मारेको आरोपमा ५५ जना महिला पक्राउ परेका छन् भने ज्यान मार्ने प्रयास गरेको आरोपमा पक्राउ परेका उनीहरुको संख्या २५ छ। लागू औषधमा ७७ जना, जुवा तथा सट्टेबाजीमा ५५, ठगी, आपराधिक षड्यन्त्र तथा आपराधिक लाभमा ३३ जना पक्राउ परेका छन्।
सार्वजनिक अपराध ( सार्वजनिक हित, स्वास्थ्य हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर, अभद्र व्यवहार, सार्वजनिक शान्तिविरुद्धको कसुरलगायत) मा एक सय ३७ जना पक्राउ परेका छन्। मानव बेचबिखन तथा ओसारपसारमा २५, बाल विवाहमा २२ र बहुविवाहमा २ सय ६५ जना महिला पक्राउ परेका छन्। आत्महत्या दुरुत्साहनमा १४ जना, चोरीमा २४ जना, बोक्सीको आरोप लगाएकोमा २३ जना, अपहरण तथा शरीर बन्धकमा ६ जना पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीका प्रमुख सहकुल थापा जघन्य अपराधमा महिलाको संलग्नता बढ्नुको पछाडि आर्थिक पक्ष र परपुरुष सम्बन्धलगायत कारण रहेको बताउँछन्।
‘कर्तव्य ज्यानका घटना हेर्ने हो भने परपुरुष सम्बन्ध ठुलो कारण देखिन्छ। लागूऔषधतिर हेर्यौँ भने सजिलै पैसा कमाउने महत्वाकांक्षा बढी देखिन्छ’, डीआईजी थापा भन्छन्। पछिल्लो समय बलात्कारका उजुरी बढिरहेका बेला आपसी सहमतिमा भएका यौन सम्बन्धका भिडियोहरुमार्फत पैसाको बार्गेनिङ गर्ने प्रवृत्ति पनि बढ्दो छ।
‘सामाजिक प्रतिष्ठाको डरले कतिपय पीडितहरु आत्महत्याको मनस्थितिसम्म पुगेको अनुसन्धानबाट देखिएको छ’, काठमाडौँ उपत्यका प्रहरी अपराध महाशाखाका एक अनुसन्धान अधिकारीले भन्छन्।
पछिल्लो दुई वर्ष
प्रहरी तथ्यांकअनुसार अघिल्ला वर्ष(आर्थिक)मा भएका विभिन्न अपराधमा चार हजारभन्दा बढी नेपाली महिला पक्राउ परेका छन्।
आर्थिक वर्ष ०७५/७६ मा मान्छे मारेको आरोपमा एक सय ५८, मान्छे मार्ने प्रयाश गरेको आरोपमा १० जना, आत्महत्या दुरुत्साहनमा १३ जना, साधारण चोरीमा एक सय १ जना, जुवामा ९५ जना, ठगीमा एक सय १ जना, लागु औषधमा दुई सय ४१ जना, बहु विवाहमा ७ सय ४३ जना, मानव बेचबिखन तथा ओसारपसारमा एक सय जना, बाल विवाहमा २९ जना, बलात्कारमा २५ जना, बोक्सीको आरोपमा १६ जना, बैङ्किङ कसुरमा एक सय ५१ जनासहित २ हजार ८ सय ५ जना पक्राउ परेका थिए।
गत आर्थिक वर्षमा २ हजार ३ सय ९८ जना महिला पक्राउ परेका थिए। तीमध्ये मान्छे मारेको आरोपमा एक सय १९, मान्छे मार्ने प्रयास गरेकोमा २७, आत्महत्या गर्न दुरुत्साहन गरेकोमा ३१ जना, साधारण चोरीमा ८४ जना, जुवा तथा सट्टेबाजीमा एक सय २७ जना, लागु औषधमा एक सय ९२ जना, अपहरण तथा शरिर बन्धकमा ११ जना, मानव बेचबिखन तथा ओसारप्रसारमा ६२ जना, बहु विवाहमा चार सय १० जना, बाल विवाहमा ३५ जना, बलात्कारमा २४ जना, बोक्सीको आरोप लगाउनेमा १३ जना, संगठित अपराधमा १२ जना, साइबर अपराधमा २ जना, बैङ्किङ कसुरमा ३५ जना पक्राउ परेका थिए।
विदेशी महिला पनि
प्रहरी तथ्यांकअनुसार गत आर्थिक वर्षमा विभिन्न अपराधमा संलग्न भएको आरोपमा ५६ जना विदेशी महिला पक्राउ परेका थिए। तीमध्ये मान्छे मारेको आरोपमा एक जना, डाका चोरीमा दुई जना, साधारण चोरीमा ६ जना, मुद्रा सम्बन्धी कसुरमा एक जना, लागु औषध सम्बन्धी कसुरमा ६ जना, बहु विवाहमा तीन जना, धर्म सम्बन्धी कसुरमा एक जना थिए।
सार्वजनिक अपराधमा ३२ जना पक्राउ परेका थिए। आर्थिक वर्ष ०७५/७६ मा ६४ जना विदेशी महिला पक्राउ परेका थिए। उनीहरुमध्ये साधारण चोरीमा २१ जना, ठगीमा ३ जना, लागु औषधमा ९ जना र केही सार्वजनिक अपराधमा १८ जनासहित थिए।
सार्वजनिक अपराध र बहुविवाहमा धेरै
प्रहरीले सार्वजनिक अपराधअन्तर्गत विभिन्न शीर्षकमा चलाउने मुद्धा सँधै विवादमा तानिने गरेको छ। प्रहरीले कसैलाई हिरासतमा राख्नुपर्यो भने यही कसुरको सराहा लिने गरेको भन्दै आलोचना हुने गरेको छ। जिल्ला प्रशासन कार्यालयले यस्ता मुद्धाको सुनुवाई गर्छ।
मुद्धा चलाउन सजिलो हुने र म्याद लिन पनि सजिलो हुने भएकाले यो कसुरमा पक्राउ पर्ने हरेक वर्ष सबैभन्दा धेरै हुन्छन्। आर्थिक वर्ष ०७५/७६ मा केही सार्वजनिक अपराध, सार्वजनिक शान्तीविरुद्धको अपराध र सार्वजनिक हित तथा स्वास्थ्य सुरक्षाविपरितको कसुरमा गरि कुल ८ सय २० जना महिला पक्राउ परेका थिए। त्यस वर्ष करिब साढे १६ हजार मानिस यी कसुरमा पक्राउ परेका थिए जसको सुनुवाई जिल्ला प्रशासन कार्यालयले गर्छ। उक्त आर्थिक वर्ष विभिन्न अपराधमा ४४ हजार एक सय ५९ जना पक्राउ परेका थिए।
गत आर्थिक वर्ष पनि विभिन्न अपराधमा समातिनेको संख्या ३८ हजार ३ सय ५१ थियो जसमध्ये जिल्ला प्रशासन कार्यालयले सुनुवाई गर्ने सार्वजनिक अपराधअन्तर्गतका विभिन्न कसुरमा समातिनेको संख्या १३ हजारभन्दा बढी थियो। तीमध्ये ९ सयभन्दा बढी महिला थिए।
महिलाहरु बढी पक्राउ पर्ने कसुर भने बहुविवाह देखिने गरेको छ। कुनैपनि महिलाले कुनै पुरुष विवाहित हो भन्ने जान्दाजान्दै विवाह गर्न नहुने कानुनी व्यवस्था छ।
‘ महिलाहरुले पुरुष विवाहित हो भन्ने नजानीकन गरेको विवाहमा पनि हामीले दुवै जनालाई बहुविवाहको कसुरमा मुद्धा चलाउनुपर्ने हुन्छ। फैसला गर्ने त अदालतले हो तर जाहेरी दुवैजनाविरुद्ध आउँछ’, काठमाडौँ प्रहरीका एक अनुसन्धान अधिकृत भन्छन्। महिला बढी पक्राउ पर्ने अपराध अर्को लागु औषध पनि हो। महिलालाई भरियाका रुपमा प्रयोग गर्दा प्रहरीले कम चासो दिने विश्वासमा उनिहरु प्रयोग हुने गरेको प्रहरी अनुसन्धानहरुबाट देखिएको छ।
लागु औषध नियन्त्रण ब्युरोका प्रवक्ता रिसिराम कँडेल कतिपय घटनामा महिलाहरु नेतृत्वस्तरमा रहेर कारोबारमा संलग्न रहेको बताउँछन्।