
काठमाडौँ – अमेरिकी फास्टफुड चेन केएफसीले चितवनमा पनि आउटलेट सुरु गरेको छ।
केएफसीले चितवनको भरपुरस्थित अत्याधुनिक व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कमा नयाँ आउटलेट खोलेको हो।
उक्त आउटलेटको उद्घाटन सिजी ल्यान्डमार्कका अध्यक्ष राजेन्द्र अर्याल र म्यानेजर उज्ज्वल केसीले बुधबार गरेका हुन्।
नेपालमा केएफसीको अधिकृत प्रतिनिधि देवयानी इन्टरनेसनलले नेपाल प्रालिले उक्त रेस्टुराँ सञ्चालनमा ल्याएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अग्रणी विज्ञापन व्यवसायीसमेत रहेका अर्यालले विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डलाई चितवनका उपभोक्तामाझ पुर् याउने सीजी ल्यान्डमार्कको उद्देश्यअनुरुप केएफसीलाई चितवन भित्र्याएको बताए।
पोल्ट्रीको राजधानी मानिने चितवनमा चिकेन परिकारमा विश्वभर ख्याति कमाएको केएफसीको प्रवेशले यहाँको पोल्ट्री व्यवसाय प्रवद्र्धनमा समेत योगदान गर्ने अर्यालले जानकारी दिए।
केएफसीले अन्तर्राष्ट्रिय स्वादका परिकार पस्केर चितवनसँग सुमधुर सम्बन्ध विकास गर्नेसमेत उनले बताए।
सीजी ल्यान्डमार्कका म्यानेजर केसीले मल कल्चरमा आकर्षित चितवनवासीलाई केएफसीले अर्को अन्तर्राष्ट्रिय ब्रान्डसँग जोडेको बताए। यसले चितवनको आधुनिक जीवन शैलीमा उचाइ थप्ने उनको भनाइ छ।
कोभिड–१९ को महामारीबीच सञ्चालनमा आएको केएफसीले ग्राहकलाई संक्रमणबाट जोगाउन अन्तर्राष्ट्रिय स्तरको चार तहको सुरक्षा मापदण्ड अपनाएको छ।
केएफसीका सम्पूर्ण परिकार अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार हुने र उच्च गुणस्तरका छन्।
यो रेस्टुराँ १५१५ वर्गफिट क्षेत्रफलमा सञ्चालन भएको छ। यसले एकपटकमा ४० जनालाई सेवा दिन सक्नेछ।
रेस्टुराँले सुरुकै दिनबाट ‘टेक अवे’ र ‘मेरो किनमेल’मार्फत होम डेलिभरी सेवा सुरु गरिसकेको छ।
यो रेस्टुराँमा १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।