
बुटवल– लुम्बिनी प्रदेशमा एमाले नेतृत्वमा रहेको सरकार परिवर्तनका लागि कसरत सुरू भएको छ। एमालेबाहेकका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले एमाले नेतृत्वको सरकार परिवर्तनका लागि छलफल थालेका छन्।
स्रोतका अनुसार नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदले मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविस्वासको प्रस्ताव दर्ताका लागि हस्ताक्षर संकलन थालेका छन्।
सो तयारीपछि मुख्यमन्त्री शंकर पोखरेलले जसपासँग छलफल गर्दै सरकारलाई साथ दिन अनुरोध गरेका छन्।
जसपाका प्रमुख सचेतक सन्तोष पाण्डेले मुख्यमन्त्रीसँग छलफल भएको र मुख्यमन्त्रीले सरकारलाई समर्थन गर्न अनुरोध गरेको जानकारी दिए। उनका अनुसार जसपाले केन्द्रको निर्देशनअनुसार निर्णय हुने बताए।
यस्तै सरकारमै रहेका माओवादी केन्द्रका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालसहितले कांग्रेससँग छलफल गरिरहेका छन्।
८७ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ सदस्य छन्।
मुख्यमन्त्री शंकर पोखरेललाइ सरकार जोगाउन ४४ मत आवश्यक पर्छ। एमालेकै दुई जना प्रदेशसभा सदस्य माधव नेपाल समूहमा छन्। माओवादीका दुई जना प्रदेशसभा सदस्यले माओवादी दल परित्याग गरी ओली नेतृत्वको एमालेमा प्रवेश गरेका छन्।
अर्को दल प्रवेश गरेका रूपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थीलाई नेकपा माओवादी केन्द्रको संसदीय दल र पार्टीले पनि कारबाही गर्दै कारबाही गरेको जानकारी प्रदेशसभामा दर्ता गरिसकेको छ।
सरकार परिवर्तनको तयारीपछि प्रदेश सभा स्थगितको निर्णय
सरकार परिवर्तनको कसरत भएपछि शंकर पोखरेल नेतृत्वको सरकारले प्रदेश सभा स्थगित गर्ने निर्यण गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार रातिदेखि प्रदेश सभाको बैठक स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए।
सरकारमा मन्त्रीहरू धेरैदिन बस्नुहुन्नः एमाले प्रमुख सचेतक
एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले सरकारमा रहेका मन्त्रीहरूको व्यवहारका कारण मन्त्री हटाउने तयारी भएको बताएका छन्।
उनले सरकारमा सहभागी माओवादी मन्त्रीहरू कुलप्रसाद केसी र सुदर्शन बराललाई हटाउने तयारी भएको संकेत गरे।
उनले एकहप्ता भित्रै मन्त्रीहरू हटाउने तयारी भएको बताए।