
काठमाडौँ- कर्णाली प्रदेशका नेकपा एमालेका तीन मन्त्रीहरुले आफ्नो पार्टीको निर्देशनलाई आत्मसात गनुपर्ने बाध्यताका कारण राजीनामा दिएको बताएका छन्।
नेकपा एमाले कर्णाली प्रदेशसभा दलले गरेको निर्णय बमोजिम नैतिक र राजनैतिक मूल्य, मान्यतालाई स्थापित गर्दै आफूहरुले राजीनामा दिएको मन्त्रीहरु दल रावल, नन्दसिंह बुढा र प्रकाश ज्वालाले आफ्नो सयुक्त राजीनामा पत्रमा उल्लेख गरेका छन्।
मन्त्रीको जिम्मेवारी सम्हालेपछि कर्णाली प्रदेशको समग्र विकासमा देखिएको चुनौतीलाई कम गर्न आफ्नोतर्फबाट भूमिका खेलेको उनीहरुले आशय पनि प्रकट गरेका छन्।
संयुक्त राजीनामा पत्रमा भनिएको छ, ‘एकातिर भौतिक प्रशासनिक एवं कानुनी संरचनाहरुको संस्थागत विकास गर्नुपर्ने थियो भने अर्कोतर्फ विकास र आधारभूत सेवा सुविधाको जनतासमक्ष अनुभूती गराउने कुरा हाम्रोसामु चुनौतीका रुपमा रहेका थिए। यसतर्फका सकारात्मक प्रयासहरुलाई सकेसम्म सफलताका साथ अगाडि बढाउने काममा हामी प्रयासरत रह्यौँ।’
गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा भंग गरी नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई विलयपूर्वको अवस्थामा पुर्याएको थियो। तत्कालिन एमालेबाट मन्त्री बनेका उनीहरु वरिष्ठ नेता माधवकुमार नेपाल खेमाका हुन्।
फागुन २३ अघि नेकपा फुटको संघारमा पुग्दा उनले नेता नेपाल र तत्कालिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ खेमामा प्रवेश गरेको घोषणा गर्दै मन्त्रीमै रहेका थिए। तर उनीहरु ओली निकट नेकपा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलको निर्देशन मान्नुपर्ने अवस्थामा आइपुगेका हुन्।