
झापा – करिब २० वर्षअघि तत्कालीन नेकपा माओवादीका लडाकुद्वारा मारिएका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि यामबहादुर आचार्यको शालिक अनावरण कार्यक्रममा नेपाली कांग्रेसका नेतृत्व तहका नेता सहभागी थिए।
मंगलबार झापाको बुद्धशान्ति ७ मा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेसका एक बृद्ध नेता पूर्वसांसद डिल्ली सिटौला पनि सहभागी थिए। उनी नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाका दाजु हुन्।
नेताहरूले बोल्दै गए। कसैले कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउनु पर्छ भने कसैले यो बेला कांग्रेस सरकारमा जानु हुँदैन भने।
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकी तथा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा पनि कार्यक्रममा सहभागी थिए।
८६ वर्षीय पाका नेता डिल्ली सिटौला जब बोल्न थाले सबैको ध्यान उनीतिर गयो। उनले सरकार बनाउने वा नबनाउने कुरा भन्दा भिन्न किसिमका विचार राखे।
उनले सोझै पार्टीको नेतृत्वमाथि औँला ठड्याए। पार्टीमा अनुशासन नभएको कुरा प्रष्ट राखे। सिटौलाले भने, ‘के पार्टी नेतृत्व आर्थिक अनुशासनमा बसेको छ? कार्यकर्ताको अनुहार हेर्नुस्।’
उनले आफू पद र पैसाको लोभमा नहिँडेको तर युवा जमातलाई पार्टीमा काम गर्नुपर्छ भनेर हौसला दिन यस्तो पाको उमेरमा पनि हरेका कार्यक्रमहरूमा उपस्थित हुने गरेको बताए।
उनले भने, ‘बीपी कोइरालाको विचार र किसुनजीको सादगी जीवनशैलीको जगमा बनेको पार्टी हो यो। गणेशमानजी बस्न नसकेको पार्टी हो यो। यस्ता कुराहरूबाट पाठ सिक्ने कि नसिक्ने सभापतिज्यू, सिटौलाजी?’
उनले युवामा क्रान्तिको जोश मरेको बताए। यही बेला पार्टीलाई बचाउन नेतृत्व तहदेखि कार्यकर्ता तहसम्म बल गर्नुपर्ने सिटौलाको भनाइ थियो।
उनले पुनः सभापति देउवालाई लक्षित गर्दै भने, ‘सभापतिजी, तपाईं फराकिलो भइदिनुस्। म बार/बार भन्ने गरेको छु।’
कांग्रेसको इज्जत गाउँ तहसम्म खस्किएकाे सिटौलाले बताए। उनले भने, ‘सभापतिजी, निष्पक्ष भएर पार्टीमा उभिइदिनुहोस्।’
सभापति देउवा उनका सुनेर मुसुमुसु हाँस्दै थिए।