
काठमाडौँ– वर्ल्ड रेमिट र ई–सेवा मनी ट्रान्सफरबीच अन्तरदेशीय रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।
सम्झौतासँगै विश्वभरका वर्ल्ड रेमिटका ग्राहकले परिवार, आफन्तजन तथा साथीभाइलाई रियल टाइममै ई–सेवा वालेटमा रेमिट्यान्स पठाउन सक्नेछन्।
वर्ल्ड रेमिट अन्तरदेशीय डिजिटल रेमिट्यान्स कारोबार गर्ने संस्था हो।
सम्झौतापछि वर्ल्ड रेमिटका साउथ एशिया कन्ट्री निर्देशक रूजान अहम्मदले भने, ‘नेपालले आफ्ना जनताका लागि तीव्र रूपमा डिजिटल सेवा उपलब्ध गराइरहेको छ, नेपाली जनताले पनि परिवर्तनलाई आत्मसात् गरेको देखिरहेका छौँ।’
वर्ल्ड रेमिट यी घटनाक्रमलाई निरन्तरता दिन प्रतिबद्ध रहेको र त्यसका लागि ई–सेवा मनी ट्रान्सफरसँग सहकार्य गर्न पाउँदा गौरवान्वित भएको उनले बताए।
ई–सेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले भने, ‘डिजिटल अन्तरदेशीय भुक्तानी सेवामा विश्वकै अग्रणी कम्पनी वर्ल्ड रेमिटसँग साझेदारी गर्न पाउँदा हामी धेरै उत्साहित छौँ। यस साझेदारीले कम शुल्कमा रेमिट्यान्स भित्राउने हाम्रो अभियानमा अर्को एउटा थप आयाम हुनेछ।’
यसैगरी, वर्ल्ड रेमिटमार्फत नयाँ ग्राहक बनेर प्रमोकोड प्रयोग गरी पहिलो पटक ई–सेवा खातामा रकम पठाउँदा कुनै शुल्क नलाग्ने भएको छ।
डिजिटल रेमिट्यान्स प्रवर्द्धन गर्ने उद्देश्यले वर्ल्ड रेमिट र ई–सेवा मनी ट्रान्सफरले निःशुल्क रेमिट्यान्स पठाउन सकिने व्यवस्था मिलाइएको छ। यो योजना जुन ३० सम्म लागू हुनेछ।