
काठमाडौँ – कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पक्षपातको शासन रोक्न सरकारको विकल्प खोज्नुपर्ने बताएका छन्।
नेपाल निजामती कर्मचारी युनियन संघ केन्द्रीय कार्यसमितिद्वारा काठमाडौंमा आयोजित राष्ट्रिय भेलामा वरिष्ठ नेता पौडेलले वर्तमान सरकार निरंकुशतातिर बढिरहेकाले विकल्प खोज्नुपर्ने बताएका हुन्।
प्रधानमन्त्रीले संसद्को रोस्टम प्रयोग गर्न नचाहेको अवस्थामा प्रतिपक्षी दलले कसरी रोस्टमको प्रयोग गर्यो भन्ने लेखाजोखा इतिहासमा हुने भएकाले कांग्रेसले सरकारको विकल्प खोज्नुपर्ने उनको भनाइ छ।
त्यसका लागि उदार बनेर अथवा सम्झौता गरेर भए पनि सरकार बदल्न इमान्दार प्रयत्न गर्नुपर्ने उनले बताए।
उनले भने, ‘संसद्को रोस्टमलाई प्रधानमन्त्रीले प्रयोग गर्न नचाहँदा प्रतिपक्षी दलले रोस्टम प्रयोग गर्यो कि गरेन, कसरी गर्यो यसको पनि लेखाजोखा इतिहासमा हुनेछ। अहिले यहाँ चुनाव–चुनाव मात्रै भनेर सुख पाइँदैन। निरंकुशतातिर बढिरहेको यो सत्तालाई विकल्प खोजी गर्नुपर्छ।’
नेता पौडेलले वितगमा पनि कांग्रेसले एउटा अवसर छुटाएको उल्लेख गर्दै अहिले पनि सरकार नबदल्ने हो भने भविष्यमा टाउको समातेर रुनुको विकल्प नहुने पनि बताए। त्यसैले चुनाव चुनाव भनेर बस्न नहुने उनको भनाइ छ।
उनले भने, ‘अब एउटा चान्स त हामीले अस्तिनै मिस गरिसकेका छौं। जनु बेला एमाले र माओवादी केन्द्र बनेका थिएनन् त्यो बेलामा जोखाना हेर्दा हेर्दै एउटा चान्स मिस भएको छ। यति मात्रै भन्छु। जोखाना फेरि पनि हेरेर यो चान्स मिस गर्ने अनि पछि टाउको समातेर रुने यो कुरा हुँदैन।’
चुनाव– चुनाव–यो सबैले भन्ने विषय भएको उनले बताए।
उनले थपे, ‘केपी ओलीको पनि नारा चुनावै हो, हाम्रा साथीहरूको पनि नारा त्यही हो। आज देश त्यसैमा विभाजित छ।’
पार्टीको अधिवेशन सम्पन्न हुन नपाएको स्थितिमा चुनावमा जाँदा कांग्रेस नै नरहने स्थिति आउन सक्नेतर्फ अहिले नै सचेत बन्नुपर्ने नेता पौडेलको भनाइ छ।
अहिलेको सरकरको कारण लोकतन्त्र बच्ने अवस्थामा नरहेकाले लोकतन्त्र बचाउनको लागि पनि कांग्रेसले आफूलाई बचाउनुपर्ने उनले बताए।
उनले भने, ‘पार्टीको अधिवेशन सम्पन्न हुन पाएको छैन पार्टी यस्तो अवस्थामा छ। चुनावमा हामफाल्ने कुरा त्यसले हामीलाई कहाँ पुर्याउँछ। लोकतन्त्र बचाउनको लागि हामीले आफूलाई पनि बचाउनुपर्छ।’
वर्तमान प्रधानमन्त्रीले संवैधानिक परिषद्मा एकलौटी गर्न खोजेर सर्वसत्तावादको भ¥याङ चढ्न खोजेको पुष्टि भएको पनि उनले बताए। त्यसैले कांग्रेसले व्यवस्था बचाउन जोड दिनुपर्ने उनको भनाइ छ।
व्यवस्था बचे मात्रै सत्ता आफैँ आउने भएकाले अहिलेको व्यवस्था बचाउन कांग्रेस नै लाग्नुपर्ने उनले बताए।
उनले भने, ‘व्यवस्था बचाउनुपर्छ, सत्ताभन्दा व्यवस्थालाई महत्व दिनुपर्छ । सत्ताभन्दा व्यवस्थालाई महत्व दिएर हामीले नीति बनायौं र इमान्दार प्रयत्न ग¥यौं भने सत्ता आफैँ आउँछ।’
समुदायलाई लोकतन्त्रीकरण गर्न आफूलाई पनि लोकतन्त्रीकरण बनाउन तयार हुनुपर्ने पनि उनले बताए। अहिले कम्युनिष्टहरु पक्षपातको शासनमा उत्रिएकाले त्यसको लडाइँमा लाग्न कर्मचारीलाई आग्रह पनि गरे।
उनले भने, ‘तपाईंंलाई पक्ष हाम्रो लिनुहोस् भन्दिनँ तर पक्षपात रोक्नुहोस्। निष्पक्षता अपनाउनुहोस्। पक्षपतको शासन चलिरहेको छ नेपालमा। पक्षपातको शासन रोक्नुहोस्। नांगो रुपमा कम्युनिष्टहरु पक्षपातको शासनमा उत्रेका छन्, आजको हाम्रो लडाइँ तिनैसँग हो। हाम्रो लडाइँ यही सिद्धान्तको लडाइँ हो। सत्ताको लडाइँ होइन।’