
सिमकोट – दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। गाउँपालिका केन्द्र छप्रेलाबाट मैला गाउँ जाने क्रममा रोकिएको उक्त जिप अचानक गुड्दा दुर्घटना भएको हो।
शनिबार राति ११ बजे छप्रेलाबाट मैला गाउँमा जाने तयारी अवस्थामा रहेको र सडकमा रोकिएको बा १८ च ३९५१ नम्बरको बोलेरो जिप एक्कासि गुड्दा सडकको भित्तामा ठोकिएर पल्टिँदा चार जना घाइते भएको प्रहरी निरीक्षक सीताराम विष्टले जानकारी दिए।
दुर्घटनाबाट घाइते हुनेमा ताँजाकोट गाउँपालिका– ३ की १३ वर्षीया सरिता नेपाली, सोही वडाकी ७ वर्षीया गीता नेपाली, वडा नम्बर ५ का २७ वर्षका रवीन्द्र नेपाली र वडा नम्बर २ का ३६ वर्षका जानदत्त जैसी छन्।
घाइतेमध्ये सरिता बेहोस रहेको र उनको स्वास्थ्य चौकीमा सामान्य उपचारपछि बाजुरा जिल्लाको कोल्टीमा रिफर गरिएको छ। घाइते रवीन्द्रको टाउकामा चोट लागेको प्रहरीले जनाएको छ।
उनीहरू तीनै जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।