
बुटवल– नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले केपी ओलीले अहंकार त्यागेमा वामपन्थीहरु बीच पुनः गठबन्धन हुनसक्ने बताएका छन्।
बुटवलमा माधव नेपाल निकट प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमाले अध्यक्ष केपी ओलीको शक्ति र कुर्सीको अहंकारका कारण मुलुकको राजनीति बिग्रिएको बताए।
उनले ओलीले सत्ता र अहंकार त्यागेमा सहमतिको सम्भावना रहेको बताए।
‘उहाँको सत्तामा रहिरहने र अहंकारी प्रवृत्तिका कारण सहमतिको वातावरण बिग्रिएको हो,’ उनले भने, ‘त्यही अहंकारका कारण आफ्नै पार्टीका नेतालाई लखेटेर अरु दलसँग गठबन्धन गरेर सरकार बचाइराख्ने प्रयास गरिराख्नुभएको छ।’
उनले ओलीले बिगारेको राजनीति सुधारका लागि अभियानको थालनी भएको भन्दै ७७ जिल्लामै कमिटी बनाएर अघि बढ्ने बताए।