
बुटवल– लुम्बिनीमा एमाले नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी जनता समाजवादी पार्टी (जसपा)का कारण अलमलमा परेको छ।
गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपनि लुम्बिनीमा भने जसपा अनिर्णित बन्दा अरू दलहरू अलमलमा छन्।
लुम्बिनी प्रदेशमा एमाले नेतृत्वमा रहेको सरकार परिवर्तनका लागि केहीदिन अघिदेखि कसरत सुरू भएपनि जसपाले निर्णय नगरेपछि प्रक्रिया अघि बढेको छैन।
एमाले बाहेकका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले एमाले नेतृत्वको सरकार परिवर्तनका लागि केही दिनदेखि छलफल जारी राखेको कांग्रेस प्रमुख सचेतक फखरूद्दिन खानले बताए।
उनले जनता समाजवादी पार्टीसँग पनि सरकार परिवर्तनबारे छलफल भएको र केही दिनमा निर्णय गर्ने बताएकोले प्रक्रिया अघि बढ्न नसकेको बताए।
जसपा नेता सहषराम यादवले केही दिनभित्र दलको बैठक बसेर निर्णय गर्ने बताए। उनका अनुसार पार्टीको केन्द्रको निर्देशनअनुसार नै प्रदेशमा निर्णय हुनेछ।
एमाले प्रवेश गरेका माओवादीका २ सांसद कारबाहीमा परेपछि ८५ सदस्य रहेको प्रदेशसभामा नेकपा एमालेका ४१, माओवादी केन्द्रका १८, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ सदस्य छन्।
मुख्यमन्त्री शंकर पोखरेललाई सरकार जोगाउन ४३ मत आवश्यक पर्छ।