
काठमाडौँ- कोरोना महामारीमा दोस्रो जीवन पाएको अनुभव पुनः त्रासमा बदलिएको छ। आफ्ना खुसी र सपना भुलेर जीवन रक्षाको एक मात्र संघर्षमा उत्रिएकाहरुलाई दोस्रो लहरको कोरोनाले थप चुनौति दिने स्पष्ट संकेत देखिएको छ।
कोरोना नियन्त्रण हुँदै गर्दा सामान्य जीवन सुरुवात गरेकाहरुलाई खासगरी चैतको दोस्रोसातादेखि पुनः उकालो लागेको कोराना संक्रमित र मृत्युको ग्राफले आतंकित बनाउन थालेको छ। यसबाट नागरिक जति त्रसिद छन्, त्यहि अनुपातमा यसको व्यवस्थापनमा परिचालित सरकारी अधिकारीहरुमा छट्पटी बढेको छ। वास्तवमा अझै अन्यौलम छन् उनीहरु।
आइतबार टेकुस्थित स्वास्थ्य सेवा विभाग, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा पुग्दा त्यो स्पष्ट हुन्थ्यो। महाशाखाका प्रमुख कृष्णप्रसाद पौडेल एक किसिमको तनावमा थिए। ‘भारतमा कोरोना जसरी बढ्दैछ। त्यसरी नै नेपालमा बढ्दैछ। कसरी नियन्त्रण गर्ने?’, उनले प्रश्न गरे। अति व्यस्त देखिएका उनले थप भने,‘कोरोनाको ग्राफ माथि उक्लिदै छ। पहिलेको भन्दा धेरै फैलिने देखिन्छ। नयाँ प्रजातीको संक्रमण अझै डरलाग्दो छ। परीक्षण, उपचार र नियन्त्रणलगायत पक्ष महत्वपूर्ण छन्। हामी त्यसमै घोत्लिएका छौँ।’
पौडेलका अनुसार दोस्रो लहरमा धेरैजसो पुरानै र केही नयाँ प्रजातीका संक्रमण फैलिएका छन्। यसको चपेटामा सबै उमेर समूहका मानिस परेका छन्। तर बालबालिकामा बढेको कोरोनालाई लिएर चिन्ता बाक्लिएको छ।
आइतबार नै नेपाल पेडियाट्रीक सोसाइटीले नेपालमा परीक्षण गरिएका स्वावहरुमा १० प्रतिशत भन्दा बढी बालबालिकामा संक्रमण पुष्टि भएको र यो पहिलेको तुलनामा बढी भएको भन्दै उनीहरुको जीवन रक्षामा गम्भीर हुन सरोकारवालाको ध्यानाकर्षण गराएको छ। साथै राष्ट्रिय मानवअधिकार आयोगले पनि यो बेला बालबालिकाको सवालमा गम्भीर बन्न सरकारको ध्यानकर्षण गराएको छ आइतबार नै।
बालबालिकालाई जोगाउन एक महिना स्कूल बन्द गर्नुपर्ने स्वास्थ्य तथा जनसख्या मन्त्रालयको सिफारिस पूर्णरुपमा लागू हुन सकेको छैन। आ-आफ्नै तरिकाले स्कूलहरु बन्द हुन थालेका छन्। अभिभावक अन्यौलमै छन्।
संक्रमित बालबालिकाको उक्लिदो ग्राफ
सरकारको पछिल्लो ६ दिनको सरकारको कोरोना संक्रमणको तथ्याङ्कले जति कोरोना संक्रमण बढ्दै गएको छ त्यतिनै संक्रमित बालबालिकाको संख्या पनि बढेको देखाउँछ।
गत चैत्र १ गते ५१७ जना संक्रमित पुष्टि भएकोमा ९ वर्ष मुनिका ११२ बालबालिका छन् भने १० देखि १९ वर्षका ९१ जना बालबालिका छन्।
वैशाख १ गते त्यो बढेको छ। जम्मा संक्रमित ६०३ भएकोमा ९ वर्ष मुनिका ८९ जना छन् भने १० देखि १९ वर्ष मूनिका ७२ जना छन्।
यस्तै वैशाख २ गते ५३४ जम्मा संक्रमित पुष्टि भएकोमा ९ वर्ष मूमिका बालबालिका ८१ छन् भने १० देखि १९ वर्ष उमेरका ६६ जना छन्।
वैशाख ३ गते कोरोना संक्रमितकै संख्या झण्डै दोब्बरले बढेको छ। ९ सय जना संक्रमित पुष्टि भएकोमा ९ वर्ष मुनिका ५२ जना छन् भने १० देखि १९ वर्ष उमेरका ४८ जना छन्।
वैशाख ४ गते आइपुग्दा जम्मा संक्रमितको संख्या ८३४ भएकोमा ९ वर्ष मुनिका बालबालिका ७० छन् भने १० देखि १९ वर्षका ४८ छन्।
शनिबार वैशाख ५ गते जम्मा संक्रमितको संख्या १०५६ पुगेकोमा ९ वर्ष मुनिका बालबालिकाको संख्या ४८ रहेको छ भने १० देखि १९ वर्ष उमेरका ४३ संक्रमित छन्।
नेपालमा छैन नयाँ प्रजाती परीक्षण सुविधा
नेपालमा संक्रमणदर पुनः बढेसँगै यो कुन प्रजातीको हो भन्ने प्रश्नहरु उब्जिएका छन्। तर नयाँ भेरियन्टको परीक्षणका लागि नेपाल आफै हालसम्म सक्षम भइसकेको छैन। पौडेलका अनुसार नेपालमा परीक्षण सुविधा नभएकाले हालसम्म हङकङ पठाएका २० नमूनामा १२ जनामा ‘युके भेरियन्ट’ कोरोना संक्रमण पुष्टि भएको छ।
उक्त महाशाखाबाट प्राप्त तथ्याङकअनुसार दुई साता अघि पोखरामा १७४ जनाको पीसीआर परीक्षण गर्दा १ सय ५ जना ‘एस जिन’ नेगेटिभ आएको थियो। त्यसमा १० देखि१४ वर्ष उमेर समूहका ५१ जना बालबालिका थिए भने १५ देखि १९ वर्ष उमेर समूहका ५ जना थिए। डा. पौडेलका अनुसार ‘एस जिन’ लाई सम्भावित ‘युके भेरियन्ट’को रुपमा बुझ्न सकिन्छ। तर त्यसको थप पुष्टि भने आवश्यक पर्छ।
त्यस्तै अर्को मुलुकका विभिन्न भेगबाट संकलित १५८ नमूनाको परीक्षण गर्दा १० देखि २० वर्ष उमेर समूहका २२ जना र १० वर्ष मूनिका ४ जनामा ‘एस जिन’ नेगेटिभ आएको थियो।
काठमाडौँ उपत्यका मात्रै गरिएको ७४ नमूना परीक्षणमा ४८ जनाको ‘एसजीन’ नेगेटिभ आएको छ। त्यसमा चार वर्ष मुनिका २ जना, ५ देखि ९ वर्ष उमेर समूका १ जना, १० देखि १४ वर्ष उमेर समूहका ३ जनामा र १६ देखि १९ वर्ष उमेर समूहका ४ जनाका ‘एस जिन’ नेगेटिभ आएको छ।
यसअघि काठमाडौं विश्विद्यालयले अनुसन्धानको उद्देश्यले १५ जनामा यो परीक्षण गरेको थियो । त्यतिबेला कसैलाई पनि ‘एसजीन’ देखिएको थिएन।
डां. पौडेलले भने,‘बालबालिकामा परीक्षण गर्न गाह्रो छ। सामान्य लक्षण भएको धेरै बालबालिका परीक्षणको दायरामा आउँदैनन्। यो संक्रमणका लक्षण अन्य स्वास्थ्य समस्यासँग मिल्दाजुल्दा छन्।’
पौडेलले बालबालिकाको जीवन सुरक्षाको दायीत्व सबैको भएको उनको भनाई छ। स्कूल बन्द गर्ने उपाय पनि यसका लागि महत्वपूर्ण भएको उनले बताए।
तर शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले विद्यार्थी विद्यालयमै सुरक्षित भएको दाबी गरेका छन्। उनले आइतबार एक कार्यक्रममा यस्तो अनौठा दाबी गरेका हुन्। उनले भने,‘ सबै विद्यालय बन्द गरिहाल भनिएको छ। विद्यालय बन्द गरे के हुन्छ ? विद्यालय बाहेक सबै नर्मल। अभिभावकहरु अफिस जाने अनि छोराछोरीलाई घरमै छोड्ने ? अनि ती छोराछोरी घरमा बसिरहन्छ ? बाहिर खेल्न जाँदैन।’