
काठमाडौं – लैंगिक समानताका लागि भारतीय सुनील जागलनले सुरु गरेको दुई अभियान ‘सेल्फी विथ डटर्स’तथा ‘डटर्स नेम प्लेट’ले भारतमा धेरै ख्याति कमायो।
महिला सशक्तीकरण तथा लैंगिक समानताको मूल मर्म बोकेका यी दुई अभियानलाई हाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले र पूर्वराष्ट्रपति प्रणव मुखर्जीको फाउन्डेसनले समेत अगाडि बढाइरहेको छ।
नेपाल–भारतबीच पहिलेदेखि नै दरिलो सम्बन्ध रहिआएका कारण दुई मुलुकबीच एकअर्काले उठाउने नारा तथा अभियानले एकअर्कोमा संस्कृतिक परिवर्तन ल्याउन सघाउ पु¥याउँदै आएको छ।
यही कुरालाई ध्यानमा राख्दै अब नेपालले पनि यी दुई अभियानलाई औपचारिक रूपमा अगाडि बढाउँदै छ।
यसबीच, नेपाल इन्टरनेट फाउन्डेसनका संस्थापक अध्यक्ष विक्रम श्रेष्ठ र सेल्फी विथ डटर्स, भारतका निर्देशक सुनील जागलनबीच गत शुक्रबार एमओयूमा हस्ताक्षर भएको छ।
उक्त अवसरमा सुनील जागलनले सुरु गरेका ती दुवै महत्वपूर्ण अभियानलाई नेपालीले पनि उत्तिकै रुचाएको र यसलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा पूर्वराष्ट्रपति प्रणव मुखर्जीले समेत प्रशंसा गरेका थिए।
डटर्स नेमप्लेट अभियानलाई हाल हरियाणालगायत भारतका विभिन्न राज्यले समेत अगाडि बढाइरहेका छन्।
दुवै अभियानबाट प्रभावित भएपछि फाउन्डेसनका संस्थापक श्रेष्ठले सुनीललाई भेटेर एमओयू हस्ताक्षर गर्दै दुवै अभियानलाई नेपालमा पनि यहीँको निमयभित्र बसेर अगाडि बढाउने प्रतिबद्धता जाहेर गरेका हुन्।
फाउन्डेसनले अभियान अगाडि बढाउने क्रममा विभिन्न सिरिज इभेन्टसमेत आयोजना गरेर लैजाने संस्थापक श्रेष्ठले जानकारी दिए। नेपाल इन्टरनेट फाउन्डेसन अर्थात् एनआईएफले समाज, सामग्री, अनुसन्धान तथा प्रविधिमा भएका खाडल पुर्ने अवधारणा तथा कार्यक्रमलाई समर्थन गर्दै आएको छ।
फाउन्डेसनले इन्टरनेट तथा सञ्चारको प्रयोगलाई बढाउन विभिन्न व्यक्ति, समुदाय, सरकार, गैर तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालगायतसँग मिलेर काम गरिरहेको छ।
साथै, यसले इन्टरनेट गभर्नेन्स, डिजिटल शिक्षा तथा सामाजिक सशक्तीकरणका लागि योगदानसमेत दिँदै आएको छ। हाल फाउन्डेसनले यी दुई अभियानमार्फत देशमा महिलाको सशक्तीकरणलाई बढाउने उद्देश्य लिएको छ। नेपालमा पनि ९ जूनलाई सेल्फी विथ डटरडेका दिनमा मनाउन श्रेष्ठले सुनील जागलन र उनको टिमलाई निमन्त्रणा दिएका छन्।
नेपालमा पनि यो अभियान निकै लोकप्रिय हुने श्रेष्ठको भनाइ छ। नेपालमा यस अभियानलाई वुमन आन्टप्रिनियर्स एसोसिएसन नेपाल र जेसीआई बूढानीलकण्ठले सहयोग गर्ने बताइएको छ।