
काठमाडौँ- नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग राजनीतिकरुपले अलग भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मिलेर अघि बढ्न प्रस्ताव गरेका छन्।
ओली निकट एक उच्च स्रोतका अनुसार बुधबार साँझ टेलिफोन गर्दै ओलीले प्रचण्डलाई फकाउने तीब्र प्रयास गरेका छन्।
स्रोतका अनुसार ओलीले प्रचण्डलाई भनेका छन्,‘ जे नहुनु पर्ने थियो त्यो भयो। तपाईँले मलाई भित्तामा पुर्याउने कोशिस गर्नुभयो। अब जे भयो भयो। मिलेर अघि बढौँ।’
तर प्रचण्डले ओलीको प्रस्ताव ठाडै अस्वीकार गरेका थिए। स्रोतका अनुसार प्रचण्डले ओलीलाई भनेका थिए,‘ यो सबै बिग्रहको नेतृत्व तपाईँले गर्नु भएको हो। तपाईँको कुन विश्वासको मिल्ने? त्यस्तो आश नगर्नुहोस् अब। तपाईँसँग मिल्ने सम्भावना छैन।’
प्रचण्डले अलग भएपछि ओलीले आफूलाई दुई पटक सम्म फोन गरेको तर राम्ररी कुरा हुन नपाएको सार्वजनिक रुपमा गुनासो गर्दै आएका थिए।
विवादका कारण फुटको संघारमा पुगेको नेकपालाई फागुन २३ गते सर्वोच्च अदालतले भंग गरेपछि ओली र प्रचण्डको राजनीतिक बाटो बदलिएको थियो।
तर ओलीले सबै प्रयासका साथ आफ्नो सरकारको बचाउमा उत्रिएपछि प्रचण्ड ओलीसँग झनै आक्रोशित छन्।
प्रचण्डलाई भने ओलीको विरोध पनि गर्ने तर उनी नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिएको आरोप लागेको छ।
बुधबार मात्रै प्रचण्डको पार्टीको स्थायी कमिटी बैठकले उनलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार दिएको छ।