
झापा – भारतसँग सीमा जोडिएको पूर्वी नेपालको झापामा कोरोना भाइरस संक्रमितका लागि भरपर्दो उपचारका लागि संरचना निर्माण हुन सकिरहेको छैन।
पोहोर साल कोरोना भाइरस संक्रमणको पहिलो लहर चलिरहँदा सर्वसाधारण तथा विभिन्न संस्थाहरूको दबाबमा भद्रपुरमा रहेको मेची अस्पतालमा गम्भीर किसिमका कोरोना संक्रमितका लागि दुईवटा भेन्टिलेटर जडान गरिएको थियो। तर त्यसपछि संरचना निर्माणका लागि ध्यान दिएको पाइएन।
हाल पनि त्यही दुईवटा भेन्टिलेटर मात्र रहेको स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिए।
उनले भने, ‘गत सालदेखि अहिलेसम्म संरचना निर्माणमा ध्यान दिइएन। अहिले पनि पोहोरकै हालत छ। झन् यसपाली त संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ।’
मेची अस्पतालमा ७५ वटा अक्सिजनसहितका बेड छन्। संक्रमितको चाप बढ्दै जाँदा ती बेडले पनि धान्न सक्ने अवस्था छैन। संक्रमितलाई कि बिराटनगर कि धरान लैजानुपर्ने बाध्यता छ।
झापा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला पनि हो। तर झापाकै कोरोना संक्रमितले समयमा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था आउन अब धेरै टाढाको दिन नरहेको सर्वसाधारणले गुनासो गर्ने गरेका छन्।
१५ दिनमा ७६ संक्रमित थपिए
छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणले भयावह स्थिति बनाइरहँदा भारतसँगै टाँसिएको झापामा विगत १५ दिनमा ७६ जना संक्रमित थपिएका छन्।
कोरोना संक्रमणको दोस्रो चरण शुरु भएयता करिव दुई सातामा जिल्लामा त्यति धेरै संक्रमित थपिएका हुन्।
बुधबार ६ महिला र १० पुरुष गरी १६ जनामा संक्रमण पुष्टि भएको छ भने मंगलबार १२ जनालाई पुष्टि भएको थियो।
ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा तीब्र रुपमा संक्रमण बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईंले बताए। उनले दैनिक रुपमा बढ्दो क्रममा संक्रमण विस्तार भइरहेको जानकारी दिए।
अहिले भारत लगायत तेस्रो देशबाट आएका नागरिकलाई सुरक्षित तवरले राख्न नसक्नु मुख्य चुनौती रहेको फोकल पर्सन चौलागाईंले बताए।