
काठमाडौँ- घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको लिग चरणका सुरुका दुई खेलमा नेपालले लक्ष्य पछ्यायो र समान ९ विकेटले विजयी भयो।
पहिलो खेलमा नेदरल्याण्ड्ससँग ५ ओभर र दोस्रो खेलमा मलेसियासँग करिब ८ ओभरको खेल बाँकी रहँदै घरेलु टोलीले जित निश्चित गरेको थियो। त्यसपछिका दुई खेलमा नेपालले पहिला ब्याटिङ गर्यो र दुवैमा २ सय रन पार गर्यो।
तेस्रो खेलमा नेदरल्याण्ड्सलाई २ सय ७ रनको लक्ष्य दिएको नेपालले लिग चरणको आफ्नो चौथो तथा अन्तिम खेलमा बिहीबार मलेसियाविरुद्ध २ सय १७ रन बनाएको थियो। यो खेल ६९ रनले जित्दै नेपाल पहिलो चरणमा शीर्षस्थानमा रह्यो। नेपालले शनिबार नेदरल्याण्ड्ससँग उपाधिका लागि खेल्ने छ।
लिग चरणमा नेपालले शानदार ब्याटिङ गर्यो। नेपाली ब्याट्सम्यानले ‘फ्रि स्टाइल’ ब्याटिङ गरे। हरेक खेलमा नेपाली ब्याटिङ दबाबमा देखिएन, कुनै पनि नम्बरमा ब्याटिङमा उत्रने ब्याट्सम्यान विपक्षी सामु खुलेर खेले। उनिहरुले ठुला प्रहार गरे। टीट्वेन्टी क्रिकेटमा आवश्यक पर्ने छक्का र चौकाका ‘वर्षा’ गरे। उनिहरु त्यसका लागि सक्षम देखिए र विपक्षी बलरहरुमाथी हावी भए।
नेपालका कुशल भुर्तेल र आसिफ शेखले पहिलो र दोस्रो खेलमा पहिलो विकेटका लागि सतकीय साझेदारी गरेका थियो। टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटका लगातार खेलमा नेपालले पहिलोपटक सतकीय साझेदारी गरेको हो।
त्यसअघि नेपालले कुनैपनि विकेटका लागि एकपटक मात्र सतकीय साझेदारी गरेको थियो, सन् २०१९ मा सिंगापुरविरुद्ध दोस्रो विकेटका लागि एक सय ४५ रनको। त्यो साझेदारी पारस खड्का र आरिफ शेखले गरेका थिए।
तेस्रो खेलमा आसिफ शुन्यमै आउट भए। तर दोस्रो विकेटका लागि ४३ र तेस्रो विकेटका लागि ७८ रनको साझेदारी भयो। नेपालले २ सय ६ रन जोड्यो र टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा व्यक्तिगत दोस्रो सर्वाधिक योगफल तयार गर्यो। नेपालले भुटानविरुद्ध बनाएको २ सय ३६ रन टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा व्यक्तिगत सर्वाधिक योगफल रहेको छ।
चौथो खेलमा बिहीबार कुशल भुर्तेल पहिलो विकेटका रुपमा व्यक्तिगत १६ रनमा आउट हुँदा नेपालले ३३ रन जोडेको थियो। नेपालले दोस्रो विकेटका लागि ७३, चौथो विकेटका लागि ३७ र छैटौँ विकेटका लागि ६६ रनको साझेदारी गर्यो। नेपालले टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा छैटौँ विकेटका लागि यसअघि यति धेरै रनको साझेदारी गरेको थिएन।
नेपालले सुरुको ६ ओभर (पावर प्ले)मा पहिलो खेलमा ६६, दोस्रो खेलमा ७०, तेस्रो खेलमा ६० र चौथो खेलमा ५४ रनको साझेदारी गरेको थियो।
लिग चरणका चार खेलमा नेपालले ४६ छक्का र ४१ चौका प्रहार गरेको छ। बिहीबारको खेलमा मात्र १९ छक्का प्रहार गरेको थियो।
पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध १० छक्का र ९ चौका तथा दोस्रो खेलमा मलेसियाविरुद्ध ६ छक्का र ८ चौका प्रहार गरेको थियो। तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध ११ छक्का र १५ चौका प्रहार गरेको थियो।
प्रतियोगितामा कुशल भुर्तेलले १३ छक्का र १६ चौका प्रहार गरेका छन्। आसिफले ८ छक्का र ११ चौका प्रहार गरेका छन्। ज्ञानेन्द्रले ६ छक्का र तीन चौका तथा दीपेन्द्रसिंह ऐरीले ६ छक्का र ९ चौका प्रहार गरेका छन्। कुशल मल्लले पनि पाँच छक्का प्रहार गरेका छन्।