
काठमाडौँ– जिल्ला प्रशासन कार्यालय गोरखाले मनकामना केबुलकार बन्द गर्न आदेश दिएको छ। उक्त आदेशप्रति स्थानीय व्यवसायीदेखि यात्रुले असन्तुष्टि व्यक्त गरेका छन्।
मनकामना मन्दिर लकडाउनदेखि नै बन्द रहेको र खुलेपछि पनि बन्द नै राखी भक्तजनलाई बाहिरबाटै स्वास्थ्य सुरक्षाका मापदण्ड पालनासहित पूजा चलाइरहेको अवस्थामा केबुलकारलाई बन्द गर्नु असान्दर्भिक रहेको कम्पनीको भनाइ छ।
सरकारको निर्णय अनुसार मन्दिरमा नित्य पूजा, ध्यान तथा प्रार्थना मात्र गर्ने–गराउने आदेश भएको र सार्वजनिक यातायातमा समेत स्वास्थ्य मापदण्ड तोकिई चलाउने व्यवस्था भएको छ।
केबुलकारमा समेत यही लागू हुने सरोकारवालाको बुझाइ छ।
मन्दिर बन्द गर्दैमा केबुलकार बन्द गर्नू भन्ने जिल्ला प्रशासन कार्यालय गोरखाको मौखिक आदेश नेपाल सरकारको आदेशसँग बाझिएको मनकामना केबुलकारका सञ्चालक राजेशबाबु श्रेष्ठले बताए।
सञ्चालक श्रेष्ठले भने, ‘मन्दिर बन्द हुँदैमा मनकामना क्षेत्रमै प्रवेश निषेध गर्नु न्यायोचित नहुनुका साथै मानव अधिकारमा र व्यावसायिक अधिकारमा ठाडो हस्तक्षेप हो।’
उनले तोकिएको स्वास्थ्य मापदण्ड पालना गर्ने र सचेत रहने कुरामा जोड दिँदै केबुलकार सञ्चालन गर्न पाउनुपर्नेमा जोड दिए।