
– झापाको विर्तामोड-१ स्थित स्वर्गीय टुंङगबहादुर बस्नेतको नाममा रहेको जग्गा अधिकृत वारेसनामा नै किर्ते बनाएर जग्गा बिक्री गरेको घटनामा गौराहद नगरपालिका-७ का वडाध्यक्ष बलराम खरेल मुछिएका छन्। उनि हाल फरार छन्।
– नक्कली भान्जा खडा गरेर मिर्गौला प्रत्यारोपण गरेको आरोपमा गत वर्ष ललितपुर महानगरपालिका-३ का वडाध्यक्ष श्रीगोपाल महर्जन पक्राउ परे। नक्कली भान्जालाई प्रमाणित गरेको आरोप महर्जनविरुद्ध थियो।
-गत जेठमा रुकुम पश्चिमको चौरजहारीमा युवती लिन जाजरकोटबाट पुगेका युवाहरुलाई स्थानीयले घेरा हाली लखेट्दा ७ जनाको ज्यान गयो। घटना योजनाबद्ध भएको र त्यसमा स्थानीय वडाका वडाध्यक्ष डम्बरबहादुर मल्लको पनि संलग्नता रहेको प्रहरीको दावी थियो।
प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो स्थानीय निर्वाचनदेखि गत फागुनसम्म देशभर एक सय १९ जना वडाध्यक्षविरुद्ध मुद्धा दायर भएको छ। प्रदेश-१ मा ३० जना, प्रदेश-२ मा १२, बागमती प्रदेशमा १०, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा १५, कर्णाली प्रदेशमा १७ र सुदुर पश्चिम प्रदेशमा १३ जना वडाध्यक्षविरुद्ध मुद्धा दर्ता भएको छ।
चालु आर्थिक वर्षमा मात्र प्रदेश-१ मा ११ जना, प्रदेश-२ मा ३ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा ५ जना, लुम्बिनी प्रदेशमा २ जना र सुदुर पश्चिम प्रदेशमा ५ जना वडाध्यक्ष पक्राउ परेका छन्।
वडाध्यक्षविरुद्ध के-के मुद्धा
वडाध्यक्षहरु विभिन्न आपराधिक गतिविधिमा मुछिएका छन्। उनिहरु कर्तव्य ज्यान, जबर्जस्ती करणीदेखि सरकारी छाप किर्ते, नागरिकता सम्बन्धी कसुर, लागु औषध, जुवा, हात हतियारलगायतमा संलग्न रहेको आरोप लागेको छ। ९ जनाविरुद्ध ज्यान मारेको, ६ जनाविरुद्ध बलात्कार गरेको र १० जनाविरुद्ध सरकारी छाप तथा दस्तखत किर्ते गरेको आरोप लागेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार झुटा विवरण पेश गरि नागरिकता बनाएको आरोपमा १२ जना र नागरिकता सम्बन्धी अन्य कसुरमा ७ जना वडाध्यक्षविरुद्ध मुद्धा दर्ता भएको छ।
जुवामा संलग्न भएको आरोपमा १०, लागु औषधमा २, चोरि तथा डाँकामा १, हात हतियारमा ३, बोक्सिको आरोप लगाएकोमा १, मानव बेचबिखन तथा ओसार प्रसार गरेकोमा १, जातिय छुवाछुत गरेकोमा एक, संगठित अपराध गरेकोमा एक, बहु विवाह गरेकोमा एक र कसुरको प्रमाण दबाएको आरोपमा २ जना वडाध्यक्षविरुद्ध मुद्धा दायर भएको प्रहरी तथ्यांकले देखाउँछ।
अभद्र व्यवहार गरेको तथा शान्ति सुरक्षा खलल पुर्याउने काम गरेको आरोपमा मात्र २९ जना वडाध्यक्षविरुद्ध मुद्धा दर्ता भएको छ।