
काठमाडौँ – सांसदहरूले बजेट रकमान्तर गरेर भए पनि कोभिड संक्रमणको रोकथाम, नियन्त्रण र उपचारमा खर्च गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा सहभागी भएका सांसदहरूले बजेट रकमान्तर गरेर भए पनि नागरिकको जीवनरक्षा गर्न माग गरेका हुन्।
कांग्रेस सांसद मोहनप्रसाद पाण्डेले खर्च हुन नसकेको बजेटलाई रकमान्तर गरेर भए पनि नागरिकको जीवनरक्षाका लागि स्वास्थ्य क्षेत्रमा खर्च गर्न माग गरे।
सम्पन्न मान्छेले निजी अस्पतालमा उपचार गराएर बाँचिरहेको तर गरिबले उपचार नै पाउन नसक्ने स्थिति रहेको उनको भनाइ छ।
उनले राज्यले अहिले विभिन्न क्षेत्रमा बजेट रकमान्तर गरिरहेको तर त्यस्तो पैसा कोभिड रोकथाम, नियन्त्रण तथा उपचारका लागि किन खर्च नगर्ने भन्र्दै प्रश्न गरे।
अर्थ मन्त्रालयले अर्बौं रुपैयाँ रकमान्तर गरेको तर औषधि र अस्पतालको व्यवस्थाका लागि रकम उपलब्ध गराउन नसकेको उनको भनाइ छ।
उनले कोभिडविरुद्धको खोप आफँै सुरक्षित नभएको र देश नै आक्रान्त भएको अवस्थामा बजेट रकमान्तर गरेर भए पनि बिरामीको उपचारमा ध्यान दिन सरकारलाई समितिले निर्देशन दिनुपर्ने बताए।
नेकपा माओवादी केन्द्रका सांसद महेश्वरजंग गहतराजले तराईका जिल्लामा भयावह स्थिति आइसकेको बताए।
सीमावर्ती जिल्लाका स्वास्थ्यकर्मीले हात उठाइसकेको अवस्थामा समितिले सरकारलाई आफैँले गरेका निर्णय कत्तिको कार्यान्वयन गरिरहेको छ भन्ने सम्बन्धमा जानकारी लिई आवश्यक निर्देशन दिनुपर्ने बताए।
यस्तै, उनले कोभिडलाई केन्द्रमा राखेर सरकारले बजेट निर्माण गर्छ कि गर्दैन भन्ने सम्बन्धमा पनि समितिले विशेष चासो दिनुपर्नेमा जोड दिए।
जनता समाजवादी पार्टी, नेपालका सांसद रामसहाय प्रसाद यादवले कोभिड रोकथाम तथा नियन्त्रणमा सरकारले लापरबाही गरिरहेको बताए।
राज्यले आफैँ मापदण्ड बनाई नागरिक र विभिन्न निकायलाई कार्यान्वयन गर्न निर्देशन दिने तर आफँैले विभिन्न मेला गर्ने, भीडभाड गर्ने, उद्घाटनको नाउँमा भीड गराउने काम गरिरहेको उनको भनाइ छ।
त्यस्तै, कांग्रेस सांसद देवेन्द्रराज कँडेलले सरकारमातहत रहको अक्सिजन प्लान्ट मर्मत गरेर सञ्चालन गर्नतर्फ सरकारको ध्यान नगएको बताए।
सरकारसँग भएका प्लान्ट बिगारेर कमिसनको खोजीमा हिँड्ने र जनतालाई हाहाकार बनाएर सहुलियतको कुरा गरिरहेको उनको आरोप छ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालमा भएको अक्सिजन विदेश पठाउने र अक्सिजन सिलिन्डर खरिदका लागि भन्दै व्यवसायीलाई सहुलियत दिने कुरा उठिराखेको बताए।
यसमा संलग्न उद्योगी व्यवसायी को–को हुन् नामावली संकलन गरेर जनतालाई थाहा दिनुपर्ने उनको भनाइ छ।
उनले अहिले सहुलियत दिएर २० हजार थान अक्सिजन सिलिन्डर ल्याउन खोजिएको बताए।
बैठकले कोरोना रोकथाम र नियन्त्रण तथा संक्रमित बिरामीको उपचारका लागि के–कस्तो काम भइराखेको छ भन्ने सम्बन्धमा विभिन्न ठाउँमा पुगेर अनुगमन गर्ने निर्णय पनि गरेको छ।
कोभिडको बहानामा सुशासनका विषयमा कमजोरी हुन सक्ने भन्दै समितिले अनुगमनलाई निरन्तरता दिने निर्णय गरेको हो।