
झापा – नुवाकोट जिल्लाको एउटा बिकट गाउँबाट चार बर्ष अघि १२ बर्षिया बालिका अचानक हराइन्।
शुरुमा उनलाई कस्ले कहाँ लग्यो भन्ने कुरा कसैले पनि थाह पाउन सकेनन्।
तर एक बर्ष अघि भारतको कोलकातास्थित महावाणिज्य दूतावासमा खबर आयो कि एउटा बेश्यालयमा नेपाली किशोरी बेचिएकी छिन् भन्ने।
त्यसपछि महावाणिज्य दूतावासले गैर कानुनी थुनामा रहेका नेपाली महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने विश्वसेवा विस्तार मञ्चसंग सम्पर्क राखेर ती किशोरीको घर ठेगाना पत्ता लगायो।
त्यसपछि पत्ता लाग्यो ती किशोरी चार बर्ष अघि हराएकी नुवाकोटकी किशोरी हुन् भन्ने कुरा।
तर उनलाई कस्ले त्यहाँ पुर्यायो भन्ने ती किशोरीले नै बताउन चाहिनन्।
कोलकाताबाट उद्धार गरेर झापाको काँकरभिट्टामा सञ्चारकर्मी सामु उनले यतिमात्र भनिन्, ‘नहीँ बोलुंगी।’ अर्थात ‘केही पनि बोल्दिन।’
किशोरी अवस्थामा पुगेपछि बेश्यालयमा
विश्व सेवा विस्ता मञ्च तथा कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका अधिकारीहरूका अनुसार ती किशोरीलाई कसैले घरेलु कामदारका रुपमा भारतको कोलकाता पुर्याएका थिए।
उनलाई त्यहाँ लैजाने मान्छेले उसका घरमा छोरा-छोरी स्याहार गर्नका लागि लगेको बुझिएको महावाणिज्य दूतका निजी सचिव सतिश थापाले बताए।
उनले भने, ‘अहिले हामीले ‘ब्रोदल’बाट छुटाएर लिएर आएका हौं। पहिला घरेलु कामदार बनाइयो बढेपछि बेश्यालयमा बेचिएको पायौं।’
तर ती किशोरीले नै केही नखुलाएकाले सबै जानकारी प्राप्त भइनसकेको थापाले बताए।
नेपाली बोल्दिनन्
काँकरभिट्टा ल्याइएकी करिब १६ बर्षिया ती किशोरीले नेपाली बर्सिसकेको विश्वसेवा विस्तार मञ्च इन्द्र बस्नेतले बताए।
उनीसंग महावाणिज्य दूतका निजी सचिव थापाले बंगालीमा कुरा गर्दा मात्र केही जवाफ दिइन्। केही हदसम्म हिन्दी पनि उनले बोल्ने गरेको थापाले बताए।
उनलाई केही दिन मञ्चको सेल्टर होममा राखेर केही सहज अवस्था भएपछि परिवारका सदस्यसंग भेटघाट गराउने योजना रहेको बस्नेतले जानकारी दिए।
ती किशोरीसंगै आइतबार नै एक जना किशोर कोलकाताबाटै र अन्य दुईजना किशोरहरू भारतको कालिम्पोङबाट उद्धार गरी नेपाल ल्याएको छ।