भिडियो अन्तर्वार्ता

लगातार तीन अर्धशतक बनाएर विश्व कीर्तिमान राखेका कुशल भन्छन्- घरेलु मैदानमा मेरो नाममा हुटिङ होस् भन्ने सपना थियो

+
-

घरेलु मैदानमा गत शनिबार सम्पन्न त्रिकोणात्मक टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला जितेर नेपालले ऐतिहासिक सफलता प्राप्त गर्‍यो। नेपालको यो पहिलो टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट उपाधि थियो। प्रतियोगितामा नेपालले केही नयाँ राष्ट्रिय कीर्तिमान पनि बनायो जसको चर्चा वर्षौँसम्म नेपाली क्रिकेटमा हुने छ। लगातार दुई खेलमा पहिलो विकेटका लागि सतकीय साझेदारी, लगातार दुई खेलमा ९ विकेटको जित,लगातार तीन खेलमा २ सय भन्दा बढी रनको लक्ष्य पेश, टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय ३८ रनको योगफल अनि एक सय ४२ रनको जित, यी नेपाली राष्ट्रिय कीर्तिमानहरु तोडिन पक्कै पनि वर्षौँ लाग्ने छ। यी सफलताको मेरुदण्डका रुपमा रहे ओपनिङ ब्याट्सम्यानद्वय कुशल भुर्तेल  र आसिफ शेख। दुवैको यो पहिलो सिनियर अन्तर्राष्ट्रिय प्रतियोगिता थियो। कुशलले पहिलो खेलमै  नयाँ राष्ट्रिय कीर्तिमान बनाए भने तेस्रो खेलसम्म पुग्दा विश्व कीर्तिमान बनाउन सफल भए। टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्युदेखि लगातार तीन खेलमा यसअघि कसैले पनि अर्धशतक बनाएको थिएन।  प्रतियोगितामा नेपालले खेलेका पाँच खेलमा चारवटा अर्धशतक बनाएका भुर्तेललाई प्लेयर अफ दी म्याचको अवार्ड पनि प्रदान गरियो। उनै २४ वर्षीय भुर्तेलसँग देशसञ्चारका  लोकेन्द्र प्रसाईले गरेको कुराकानीको सम्पादिश अंश  : 

१.पहिलो खेल त्यो पनि घरेलु मैदानमा, अर्धशतक अनि ओपनिङ ब्याट्सम्यान, अनुभव कस्तो रह्यो ? 

-राम्रै रह्यो अनुभव। इन्डिभिज्युअलभन्दा पनि टिमले राम्रो गर्‍यो। सुरुदेखि नै नेदरल्याण्ड्सलाई डोमिनेट गर्ने हाम्रो प्लान थियो। त्यो अनुसार हामी ‘सक्सेस’ भयौँ। परिणाम : हामीले उपाधि जित्यौँ।

२.नेपालको ब्याटिङलाई लिएर जहिल्यै प्रश्न उठ्ने गर्थ्यो। कमै  लक्ष्य पाएपनि पूरा गर्ला कि नगर्ला भन्ने हुन्थ्यो। तपाई नयाँ खेलाडी भएको हिसाबले ओपनर ब्याट्सम्यानका रुपमा पठाउँदा दबाब कत्तिको थियो? 

-म र मेरो पार्टनर आसिफको रोल क्लियर थियो- ६ ओभरको पावर प्ले ‘युज’ गर्ने। खेलेर आएका केटाहरु थिए सबै। पीएम कप खेलेका थियौँ, मेयर कप खेलेका थियौँ। बन्द प्रशिक्षणमा पनि केटाहरुले राम्रो नै गरिरहेका थिए। बन्द प्रशिक्षणमा  २ सय रनको लक्ष्य पूरा भइरहेको थियो,१५/१६ ओभरमा। विकेट पनि राम्रो थियो। दबाब कसैलाई पनि थिए। राम्रो भएपनि नराम्रो भए पनि सबैले सहयोग गरिरहनु भएको थियो। मलाई पहिलो खेल भनेर प्रेसर केही थिएन। नर्मल गेम खेलिरहेको थिएँ। नेदरल्याण्ड्ससँग ९ विकेटले सजिलै जित्यौँ। आसिफ र मबीच एक सय १६ रनको साझेदारी भयो।

३.नयाँ खेलाडी अनि बलियो प्रतिद्धन्द्धी हुँदा कस्तो अनुभव भयो ? 

-नेदरल्याण्ड्स टिम राम्रो छ, विश्व क्रिकेटमा हेर्दा। तर म नर्भस थिइन। नर्मल गेम खेल्छु, जति योगदान गर्न सक्छु गरौँला भन्ने थियो। तर पहिलो खेलमै अर्धशतक बनेपछि म प्लेयर अफ दी म्याच भएँ। यसले गर्दा अर्को खेलमा मलेसियासँग भने केही नर्भस भएँ। किनभने ममा रेस्पनसिबिलिटी थपियो। ममाथि सबैको अपेक्षा बढेको थियो। कुशलले रन हान्छ भन्ने भयो। मैले आफूलाई देखाउनु पनि थियो। दोस्रो खेलमा पनि नटआउट भएर टिमलाई जिताएँ। अनि सबै कुरा नर्मल लाग्दै गयो।

४. सिनियर राष्ट्रिय टोलीबाट खेल्ने हरेक खेलाडीको इच्छा हुन्छ। त्यो अवसर तपाईले घरेलु मैदानमै पाउनु भयो ? कस्तो सुरुवातको कल्पना गर्नु भएको थियो ? 

-राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने सबैको इच्छा हुन्छ। म पनि त्यसैको पर्खाईमा थिएँ। धेरैपछि, १४/१५ महिनापछि नेपालमा सिरिज भयो। म यसैका लागि तयारी गरिरहेको थिएँ। नेपालमा कुनै सिरिज होस्, त्यसमा राम्रो गरौँ भन्ने थियो। मेरो त ड्रिम स्टार्टजस्तै भयो। रिजल्टभन्दा पनि मैले तयारीमा ध्यान दिइरहेको थिएँ। कोचले पनि हामीलाई तयार गर्नुभयो। मैले सिनियर दाइहरुसँग कुरा गर्थेँ। उहाँहरुका सुरुवाती खेलका अनुभवहरु लिन्थेँ। पारस दाइ, ज्ञानु दाइ, शरद दाइहरुसँग कुरा गरेर उहाँहरुको अनुभव बुझ्थेँ। उहाँहरुलाई कस्तो भएको थियो भनेर जिज्ञासा राख्थेँ।

५.पहिलो खेलमा नेदरल्याण्ड्ससँग अर्धशतक बनाएपछि र खेल ९ विकेटले जितेपछि कस्तो प्रतिक्रिया पाउनु भयो ? 

– खेलमा जानुभन्दा अगाडि म खुसी थिएँ। मलाई सरले डेब्यु क्याप दिएपछि जिम्मेवारी थपिएको थियो-टिमलाई जिताउने। तर सुरुमा हामीले फिल्डिङ गरेकाले फिल्डिङबाट सक्दो प्रयास गर्ने सोच थियो। त्यतिबेला ब्याटिङबारे केही सोचेको थिइन। नेदरल्याण्ड्सले एक सय ३७ रनको लक्ष्य दिएपछि आसिफ र मेरो योजना थियो कि टोलीलाई राम्रो सुरुवात दिलाउन सकूँ। राम्रो स्टार्ट दिएपछि लक्ष्य पछ्याउन सजिलो हुन्छ। पहिलादेखि नै नेपालको ब्याटिङ १ सय ४० रनको लक्ष्यमा पनि लर्बराउँछ भनेर हामी दुवैलाई थाहा थियो। त्यसलाई यसपटक गलत सावित गरौँ भन्ने हामी दुवैको सोच थियो। हामी टिकेर खेल्यौँ। पहिलो विकेटका लागि एक सय १६ रनको साझेदारी भएपछि म आउट भएँ। १० विकेटले जित्न पनि सकिन्थ्यो त्यो खेल। तर आउट भइहालेँ। केही नरमाइलो लाग्यो। खेल सकेर टिमलाई भेटेपछि दीपेन्द्रले (उपकप्तान) मलाई पाँचमा पाँच (५ खेलमा ५ वटा अर्धशतक) हानेस् भनेको थियो।  नेदरल्याण्ड्सले विगतमा नेपालसँग कस्तो बलिङ गरेको थियो, उनिहरुका बलरले कहाँ कहाँ बल फ्याँकिरहेका थिए, हामीले हेरेका थियौँ। त्यसपछि दोस्रो र तेस्रो खेलमा पनि अर्धशतक भयो। चौथो खेलमा चाहिँ भएन। मेरो सोच त पाँचवटै खेलमा अर्धशतक बनाउने थियो।

६. ग्राउण्डको सबै भागमा प्रहार गरिरहनु भएको थियो, त्यसको तयारी कस्तो थियो ? 

– स्किलहरु गरिरहेको थिएँ। टीट्वेन्टी क्रिकेटमा सबै प्रकारका प्रहारहरु गर्नुपर्छ, रन धेरै चाहिन्छ नि। त्यसमा पनि मलाई ‘फियरलेस’ ब्याटिङ गर्ने भूमिका थियो।

७. ब्याटिङ गरिरहँदा स्कोरबोर्डमा नजर कत्तिको जाने रहेछ ? 

– फर्स्ट इनिङ र सेकेण्ड इनिङमा अलिक फरक हुन्छ। जस्तो पहिलो र दोस्रो खेलमा हामीले लक्ष्य पछ्याएका थियौँ। खेल सजिलो भयो। तर तेस्रो खेलमा नेदरल्याण्ड्ससँग हामीले पहिला ब्याटिङ गर्नुपर्ने भयो। त्यो खेलमा कम्तिमा २ सय रन बनाउनुपर्छ भन्ने थियो। विकेट यति राम्रो थियो कि कुनैपनि लक्ष्य सुरक्षित थिएन। बन्द प्रशिक्षणमा २ सय रनको लक्ष्य पूरा भइरहेको थियो। हामीलाई थाहा थियो २ सयभन्दा बढीको लक्ष्य पनि सुरक्षित चाहिँ छैन।

समर्थकहरुले हाम्रो राम्रोमा पनि सपोर्ट गर्नुहुन्छ नराम्रोमा पनि सपोर्ट गर्नुहुन्छ। यस्तो कोभिडको बेलामा पनि हामीलाई आएर सपोर्ट गर्नु भयो। दुई खेलपछि दर्शकलाई प्रवेश गर्न नदिइएपनि बाहिर बसेरै सपोर्ट गर्नु भयो। उहाँहरुलाई खुसी राख्ने हामीले पनि अवसर दिइराखेका छौँ।

https://youtu.be/eAR5Xv4lokM

८. सुरुका दुई खेलमा सुरुमा बलिङ गरेको नेपालले पहिलोमा ५ ओभर र दोस्रोमा करिब ८ ओभर बाँकी रहँदै खेल जितेको थियो त्यो पनि ९ विकेटले। त्यस्तो अवस्थामा तेस्रो खेलमा पहिला ब्याटिङ गर्दा ओपनरका रुपमा कत्तिको दबाब थियो ? 

-सुरुका दुईवटा खेलमा तीन जनाले मात्र ब्याटिङ गरेका थियौँ। तेस्रो खेल अघि नै हामी लगभग फाइनलका लागि छनोट भइसकेका थियौँ। त्यसैले पनि हामीले पहिला ब्याटिङ रोज्यौँ। सबैले ब्याटिङ राम्रै गर्नुभयो।

९.क्रिकेटमा लकले पनि साथ दिनुपर्छ भनिन्छ। पहिलो खेलको सुरुवातमै तपाई क्याच आउट देखिनु भएको थियो तर अम्पायरले ‘नो बल’ दिए। फाइनलमा पनि तपाईको क्याच ‘ड्रप’ भयो। लकलाई कत्तिको मान्नु हुन्छ ? 

– पहिलो खेलमा सायद पालीको त्यो तेस्रो बल थियो, मैले हानेँ। मलाई लाग्यो- म आउट भइहालेँ। मैदानमा कहिँ कतै पनि नो बल भने सुनिरहेको थिएन। म अम्पायरलाई पनि नहेरी निहुरिएर हिँडिरहेको थिएँ। आउट भएर बाहिर जाँदा ब्याट्सम्यानको त्यो खराब क्षण हुन्छ।  मलाई आसिफले इशारा दिएर ‘रुक-रुक’ भन्यो। अम्पायरलाई हेरेको नो बल रहेछ। ब्याट्सम्यानका रुपमा मलाई एउटा ‘बाउन्ड्री’ लागेपछि सहज हुन्छ। फ्री हिटमा बाउन्ड्री लाग्यो। फाइनल अघि यस्तो थियो कि कुशलले जहाँ हाने पनि रन आउँछ। हुन पनि जहाँ हाने पनि रन आइरहेको थियो, सट लागिरहेको थियो। टुर्नामेन्ट नै लक लिएर आएजस्तो भयो मेरा लागि। नेदरल्याण्ड्सले नै लक दिएजस्तो भयो- क्याच छोडेको छ, जता हान्दा पनि लाग्छ। त्यसैको सदुपयोग गरेँ मैले प्रतियोगितामा।

१०. नेदरल्याण्ड्सले २ सय ७ रनको लक्ष्य पुरा गरेपछि फाइनलमा त ब्याट्सम्यानलाई निकै दबाब थियो होला नि? 

-विकेट राम्रो थियो। यो विकेटमा हाई स्कोरिङ म्याच हुन्छ भन्ने त बन्द प्रशिक्षणका बेला बनिरहेको रनबाटै थाहा थियो। त्यसैले कुनैपनि स्कोर सुरक्षित थिएन। त्यसमा पनि नेदरल्याण्ड्स निकै राम्रो टिम थियो। तर एक सय ४० रनको लक्ष्य दिएपनि त्यसलाई डिफेन्ड गर्न सक्छौँ भन्ने कन्फिडेन्ट हाम्रो थियो। म भने कम्तिमा दुई सय रन बनाउनुपर्छ भन्ने सोचेर ब्याटिङ गरिरहेको थिएँ। दीपेन्द्र र कुशलले पनि राम्रो ब्याटिङ गरे।

११. नेपाली क्रिकेटमा अपेक्षा बढेजस्तो लाग्दैन यो शृंखलापछि ? 

– अवश्य पनि। यो शृंखलामा राम्रो क्रिकेट खेल्यौँ धेरैपछि। ब्याटिङ राम्रो भयो। मैले पहिलो खेलमा अर्धशतक बनाएपछि दोस्रो खेलमा पनि अर्धशतक बनाओस् भन्ने थियो नि!  अपेक्षा स्वभाविकरुपमा बढ्छ। अब चाँडै नेपालमा अर्को शृंखला होस्। यही प्रदर्शन कायम होस्। हामीसँग विश्वकप छनोट छ, त्यसमा राम्रो गर्नुपर्छ।

१२.एउटा खेलाडीले राम्रो खेल्दा खेल्दै पनि टिम हार्‍यो भने कस्तो लाग्ने रहेछ ? 

-हामीले २ सय ७ रनको लक्ष्य दिएर पनि हार्दा खल्लो लागेको थियो। त्यो खेलमा मैले मात्र होइन दीपेन्द्रले पनि राम्रो ब्याटिङ गरेका थिए। एउटा खेलाडीले हरेक खेल जितियोस् भन्ने चाहन्छ तर त्यो सम्भव हुन्न। यसलाई स्वभाविक मान्नुपर्छ।

१३.एक साताअघिसम्म कुशल भुर्तेल सामान्य खेलाडी थियो। अहिले सेलिब्रेटी बन्नु भएको छ, कस्तो अनुभव भइरहेको छ ? 

-पर्फमेन्स मुख्य कुरा हुने रहेछ। पर्फमेन्सले नै अर्थ राख्ने रहेछ। मेरो यात्रा भर्खरै सुरु भएको छ। मेरो लागि अबका हरेक दिन चुनौतीपूर्ण रहेको छ। त्यसलाई राम्रो गर्ने र देशलाई अगाडि बढाउने सोच छ।

१४.सन् २०१२ मा तपाईले यू-१६ राष्ट्रिय टोलीबाट खेल्नु भएको थियो, सिनियर टिममा आउन त निकै लामो समय लाग्यो नि? 

-लामो समयभन्दा पनि २०१२ मा यू-१६ खेल्दा बच्चै थिएँ। केही आउँदैन थियो। त्यसपछि अलिअलि क्रिकेट बुझ्दै गएँ। उमेरस्तरमा त्यस्तो केही हुन्न तर सिनियरस्तरमा रेस्पनसिबिलिटी हुन्छ, मान्छेले ध्यान दिएको हुन्छ। यू-१९ मा जति राम्रो गरेपनि अन्त्यमा सिनियर टिमबाटै राम्रो गर्नुपर्छ। यसबीचमा कहिले टिममा पर्ने कहिले नपर्ने भइरहेको थियो। एक दिन त अवश्य आउँछ भनेर तयारी गरिरहेको थिएँ। टिममा नपर्दा दुख त लागि हाल्छ नि। टिममा परेर पनि खेल्न नपाउँदा पक्कै पनि नराम्रो लाग्छ। सन् २०१५ मा यू-१९ विश्वकपको छनोटमा हामी फाइनल पुगिसकेका थियौँ। फाइनल अघि एउटा औपचारिकजस्तै खेल थियो किनभने हामी छनोट भइसकेका थियौँ। त्यो खेलमा अवसर पाउँछु जस्तो लागेको थियो तर परिन। यू-१९ विश्वकपदेखि चाहिँ मेरो करियर ‘टर्न’ भयो। जहिले पनि म एउटा चान्स पाएँ भने राम्रो गर्छु भन्ने थियो। त्यसका लागि म आफूलाई निरन्तर तयारी गरेर राखिरहेको थिएँ। किनभने जबसम्म तपाईले राम्रो गर्नुहुन्छ तबमात्र तपाईँले अवसर पाउनु हुन्छ। नराम्रो खेलेपछि कहाँ अवसर पाइन्छ र ! टिममा राखिएन भने म सोच्छु- केही पुगेन होला। अनि त्यही कमजोरीमा आफुलाई बलियो बनाउँछु। मलाई मेरो हार्ड वर्कमा विश्वास थियो-कुनै दिन त कसो अवसर नपाइएला ? मैले क्रिकेटबाहेक अरु केही देखेकी थिइन। यसैका लागि भनेर बुबाआमाभन्दा अलग रहेर यहाँ काठमाडौँ बसिरहेको छु।

१५. समर्थकको क्रेजले खेलाडीलाई कत्तिको तान्ने रहेछ ? 

-समर्थकहरुले हाम्रो राम्रोमा पनि सपोर्ट गर्नुहुन्छ नराम्रोमा पनि सपोर्ट गर्नुहुन्छ। यस्तो कोभिडको बेलामा पनि हामीलाई आएर सपोर्ट गर्नु भयो। दुई खेलपछि दर्शकलाई प्रवेश गर्न नदिइएपनि बाहिर बसेरै सपोर्ट गर्नु भयो। उहाँहरुलाई खुसी राख्ने हामीले पनि अवसर दिइराखेका छौँ। एकपटक नामिबिया नेपालमा आएको थियो, त्यतिबेला पारस दाईले शतक हान्नु भएको थियो। त्यतिधेरै दर्शक मैले कहिल्यै देखेको थिइन। समर्थकले पारस दाईको नाम लिँदै चियर अप गरिरहनु भएको थियो। मेरो पनि सपना थियो- घरेलु मैदानमा खेलौँ, कसैले मेरो नाममा हुटिङ गरोस्। ताली बजाओस्। मेरो त डेब्यु नै घरेलु मैदानमा भयो। सबै कुरा सोचेजस्तै भयो।

१६. तपाईले अहिलेसम्म गरेको धैर्यता र मिहेनतको सही प्रतिफल प्राप्त भयो जस्तो लाग्छ कि लाग्दैन? 

-दुई तीन दिन त लाग्छ नि। तर यत्तिमै खुसी भएर भएन नि। हिजो जे गरेको थियो त्योभन्दा अझ राम्रो गर्नु छ भोलिका दिनहरुमा। सबैले हेरिरहेको हुन्छ। अब चाडैँ यो महामारी सकियोस् र नेपालको टुर होस्। त्यसमा नेपाललाई सफलता दिलाउन सकुँ र फेरी समर्थकहरुलाई खुसी हुने मौका दिउँ भन्ने लाग्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?