
काठमाडौँ– एनआईसी एसिया बैंक लिमिटेडले ०७७।७८ को तेस्रो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
बैंकिङ क्षेत्रको अधिकांश वित्तीय सूचकांकमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचक उत्साहजनक छन्।
कोरोना महामारीका कारण सिर्जित असहज अवस्था, अर्थतन्त्रमा आएको अस्थिरता, आर्थिक गतिविधिमा आएको कमीजस्ता विषम परिस्थितिका बाबजुद पनि यस बैंकले तेस्रो त्रयमाससम्म व्यवसार्यतर्फको कर्जामा वार्षिक विन्दुगत आधारमा ४८ प्रतिशत तथा स्वदेशी मुद्राको निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ५० प्रतिशतको उत्साहजनक वृद्धि गरी वार्षिक प्रति सेयर आम्दानी ३४.८७ आर्जन गर्न सफल भएको छ।
बैंकले गत वर्षको सोही अवधिको तुलनामा २०.०७ प्रतिशतले मुनाफा वृद्धि गर्न सफल भई ३ अर्ब खुद मुनाफा आर्जन गरेको छ। बैंकको स्व–पुँजीमा प्रतिफल २१.५२ प्रतिशत छ। जुन मुलुकका वाणिज्य बैंकमध्ये सबैभन्दा बढी रहेको अनुमान गरिएको छ।
बैंकले तेस्रो त्रयमाससम्म कर्जातर्फ ८६ अर्बले वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ४८ प्रतिशत (८५ अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम २६०अर्ब पुर्याउन सफल भएको छ।
जुन मुलुकका वाणिज्य बैंकमा सोही अवधिमा भएको करिब ६०५ अर्बको कुल कर्जा वृद्धिमा यस बैंकको १४.२१ प्रतिशतको हिस्सा छ।
साथै, बैंकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ ७८ अर्बले वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ५० प्रतिशत (९५ अर्ब) ले वृद्धि गरी कुल स्वदेशी मुद्राको निक्षेप संकलन २८६ अर्ब पुर्याउन बैंक सफल भएको छ।
जुन मुलुकका वाणिज्य बैंकमा सोही अवधिमा भएको करिब ४२७ अर्बको कुल वृद्धिमा यस बैंकको हिस्सा १८.१८ प्रतिशत छ। यस विषमपरिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई गत वर्षको अन्त्यमा ०ं.७५ प्रतिशत रहेको निष्क्रिय कर्जालाई यस तेस्रो त्रयमाससम्म ०.४७ प्रतिशतमा घटाउन बैंक सफल भएको छ।
बैंकले आफ्नो रणनीतिअनुसार कर्जा पोर्टफोलियोमा न्यून जोखिम कायम गर्ने उद्देश्यले साना तथा मझौला कर्जा र रिटेल कर्जामा लगानी विस्तार गर्ने नीति अवलम्बन गर्दै आएको छ।
सोहीअनुरूप गत आर्थिक वर्षसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ९२ प्रतिशत कर्जा यस प्रकारका रणनीतिक क्षेत्रमा विस्तार गरेको छ।
बैंकले अवलम्बन गरेको सो रणनीतिको परिणामस्वरूप बैंकका प्रमुख १० ग्राहक महानुभावको कुल कर्जा अंश बैंकको कुल कर्जाको ३.१५ प्रतिशत मात्रै छ, जुन समग्र बैंकिङ क्षेत्रकै सबैभन्दा उत्कृष्ट किसिमको र अत्यन्त न्यून जोखिम भएको मध्ये पर्छ।
साथै, बैंकको कुल कर्जामा ५ करोडभन्दा कम सीमा भएका कर्जाको अंश ९२.७१ प्रतिशत छ। जुन बैंकिङ क्षेत्रमध्ये उत्कृष्टमा पर्छ।
बैंकले निक्षेपतर्फ पनि स–साना निक्षेप एवं व्यक्तिगत निक्षेप वृद्धि गर्दै जाने रणनीति अवलम्बन गरी अगाडि बढिरहेको छ।
बैंकिङ क्षेत्रको विभिन्न वित्तीय तथा गैरवित्तीय सूचांकमा अग्रणी स्थानमा रहेको यस बैंक ०७७।७८ को दोस्रो त्रयमासमा कर्जा, निक्षेप,स्व–पुँजीमा प्रतिफल, शाखा कार्यालय र एटीएममा मुलुकका अन्य वाणिज्य बैंकमध्ये पहिलो स्थान ओगट्न सफल भएको छ।
साथै, खुद ब्याज आम्दानी र प्रति सेयर आम्दानीतर्फ अन्य वाणिज्य बैंकमध्ये दोस्रो स्थानमा छ भने खुद नाफा, चल्ती तथा बचत निक्षेप र निष्क्रिय कर्जा अनुपातमा तेस्रो स्थान ओगट्न सफल भएको छ।