
बुटवल– मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि बोलाइएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य गर्न प्रदेश सरकारले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ।
आजै राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेलले कामचलाउ बनेको मन्त्रिपरिषदबाट निर्णय गरी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गर्न सिफारिस गरेको कामचलाउ सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए।
आज मध्यान्ह १२ बजेदेखि अधिवेशन अन्त्य गर्न सिफारिस भएको हो। आज दिउँसो १ बजेका लागि विशेष अधिवेशन बोलाइएको थियो। उक्त बैठकमा मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वास प्रस्ताव पेश गर्ने कार्यसूची थियो।
राजीनामापछि उनले विशेष अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेका हुन्।