
बुटवल– लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री वलीले आफ्नो इच्छाले नै माओवादी रोजेको बताएकी छन्।
एमालेले उनी अपहरणमा परेको चर्चा चलाएपछि बुटवलमा पत्रकार सम्मेलन गर्दै उनले आफू सुरक्षित रहेको र आफूखुसी माओवादी रोजेर प्रक्रियागत हिसाबले नै पार्टीमा प्रवेश गरेको बताएकी हुन्।
उनले आफ्नो श्रीमान् एमालेबाट सांसद भएको र दुर्घटनामा ज्यान गुमाएपछि आफू संयोगवश राजनीतिमा आएको बताइन्।
‘मेरो श्रीमान् एमालेबाट सांसद हुनुभएको थियो, तर म नेकपाबाट चुनाव लडेँ र जितेँ, त्यसपछि पार्टी दुई वटा भए,’ उनले भनिन्, ‘पार्टी दुई वटा भएपछि मैले माओवादी रोजेँ, म आफ्नो खुसीले यो पार्टी रोजेकी हुँ, हल्लामा आएजस्तो कसैको पनि करकाप छैन।’
दाङ– ३ खबाट निर्वाचित उनका श्रीमान् उत्तरकुमार वलीको दुर्घटनामा मृत्यु भएपछि उनी उपचुनाव लडेकी थिइन्।