
बुटवल – रुपन्देहीमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालमा बेड र अक्सिजन नपाउने अवस्था आएको छ। अस्पतालहरु कोरोना संक्रमितले भरिएका छन्, ती कोरोना संक्रमितलाई दिने अक्सिजन अभाव हुन थालेको छ।
अक्सिजनको अभाव हुँदा कोरोना संक्रमितको उपचार प्रभावित हुन थालेको अस्पतालहरुले जनाएका छन्। प्रदेशकै धेरै बिरामी उपचाररत रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ भने अरु अस्पतालहरुले पनि अक्सिजन सकिएको बताएका छन्।
कोरोना संक्रमितको चाप बढेसँगै अस्पतालमा बिरामीहरूलाई अक्सिजन पुर्याउनै मुस्किल हुन थालेको स्वास्थ्यकर्मीले जनाएका छन्। मौज्दात रहेको अक्सिजन सकिन लागेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए।
उनका अनुसार अस्पतालमा यसअघि १ सय ५० सिलिण्डर अक्सिजन आवश्यक पर्ने गरेकोमा अहिले ५ सय सिलिण्डर आवश्यक पर्न थालेको छ। बिरामीको संख्या बढेसँगै सप्लायर्सले आपूर्ति गर्न नसकेको उनले बताए। उनले बुधबार बेलुका ६० वटा सिलिण्डर आएको र बिहीबार बिहानसम्म १० वटा सिलिण्डर मात्रै बाँकी रहेको बताए।
लुम्बिनी प्रादेशिक अस्पतालले भेन्टिलेटर, आइसीयू, अक्सिजन बेड गरी ५४ र आकस्मिक बेड र भूइँमा समेत गरी थप ५२ जना बिरामीलाई अक्सिजन दिएर उपचार गरिरहेको छ।
बेड नपाएर अक्सिजनको सहायतामा अस्पतालको भुइँमा लडिरहेका बिरामीले अक्सिजन पनि नपाएमा अवस्था थप भयावह बन्ने डा. गौतमले बताए। उनका अनुसार यो अवस्थाबारे लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री, प्रमुख जिल्ला अधिकारी र स्वास्थ्य अधिकारीहरुलाई जानकारी गराइसकिएको छ।
रुपन्देहीको अर्को सरकारी अस्पताल भैरहवाको भीम अस्पतालमा बिरामी भर्ना गर्न बेड खाली छैनन्। कोभिडका लागि छुट्याइएका २७ वटा बेड भरिएपछि आकस्मिक कक्षमा पनि कोभिडकै बिरामीको उपचार थालिएको छ। बिरामीले बेड नपाएर अस्पतालका पेटी र गल्लीहरुमा अक्सिजन लगाएर बेडको प्रतीक्षा गरिरहेका छन्। अस्पतालका सूचना अधिकारी डाक्टर नारायण पोख्रेलले बेडमा बिरामी भर्ना गर्नसक्ने अवस्था नरहेको र भुइँमा राखेरै भएपनि उपचार जारी राखेको बताए।
अस्पतालमा ४० जना कोभिडका बिरामी उपचाररत छन्, कोभिड कक्षतर्फ ४ जना आइसियुमा, १८ जना एचडियुमा छन भने बाँकी बिरामी आकस्मिक कक्षमा उपचाररत छन्।
सरकारी अस्पतालको मात्रै हैन, निजी अस्पतालको हालत पनि उस्तै छ। भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस)ले अक्सिजन अभाव भएको भन्दै अक्सिजन सिलिण्डर आपूर्तिका लागि अपील गरेको छ।
अस्पतालले कोभिडका बिरामीको उपचारका लागि राखेका थप ६० बेड अक्सिजन नभएकै कारण सञ्चालन गर्न नसकेको जनाएको छ। अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङले दैनिक ८ सय सिलिण्डर अक्सिजन आवश्यक रहेको र त्यसो भएमा मात्रै बिरामीको उपचार प्रभावकारी हुने बताए।
उनले अस्पतालमा सामान्य अवस्थामा १ सय २५ थान अक्सिजन सिलिन्डर खपत भइरहेको बताए। कोभिडका बिरामीका लागि राखिएका १ सय बेड भरिएको र तिनमा रहेका जटिल किसिमका बिरामीका लागि थप अक्सिजन चाहिने उनले बताए।
मणिग्रामस्थित क्रिमसन अस्पतालमा पनि कोभिडका बिरामी उपचारका लागि छुट्याएका सबै बेड संक्रमितले भरिएका छन्। अस्पतालले १० बेडको एचडियू, ५ बेडको सिसियू र एउटा भेन्टिलेटर कोभिडका बिरामीको लागि छुट्याएको जनाएको छ। यी सबै बेडहरु बिरामीले भरिएका छन्। देवदह मेडिकल कलेजमा पनि चारजना संक्रमितको उपचार भइरहेको छ।
संक्रमितको संख्या थपिएजस्तै मृत्यु हुनेको दर पनि रुपन्देहीमा उच्च हुंदै गएको छ। बुधबारसम्म रुपन्देहीमा २ सय ३३ जना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ।
सक्रिय संक्रमितको संख्या पनि ५ हजार नजिक पुगेको छ। रुपन्देहीका विभिन्न अस्पतालहरुमा २ सय ७ जना सिकिस्त अवस्थाका संक्रमितहरुको उपचार भइरहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए।
बुधबारमात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हालेका मन्त्री भोजप्रसाद श्रेष्ठले सरकारले आकस्मिक, आवधिक र दीर्घकालीन योजना बनाएर अघि बढ्ने बताए। ‘अहिले देशभर नै अक्सिजनको अभाव छ, स्टक रहेको, व्यक्तिका घरमा रहेका र अरु कहाँबाट ल्याउन सकिन्छ ल्याएर बिरामीको उपचारका लागि व्यवस्था गर्छौं, उनले भने-अहिले तत्काल कहाँबाट ल्याउने भन्नेमा हामी लागिरहेका छौं, हाम्रो प्रयासले भेटाएसम्म अभाव हुन दिन्नौं।’
तस्बिरहरु : प्रख्यात बञ्जाडे