
काठमाडौँ – अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय एमाले स्थायी कमिटी बैठकले जेठ ६ गते बागमती प्रदेशमा हुन लागेको राष्ट्रियसभा सदस्यको उप निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउने गरि तयार गर्न जनप्रतिनिसहित पार्टी पंक्तिलाई निर्देशन दिने निर्णय गरेको छ।
बालुवाटारमा बिहीबार बसेको बैठकले आफ्ना उम्मेदवारलाई जिताउने गरि तयारी गर्न पार्टी पंक्तिलाई निर्देशन दिने निर्णय गरेको हो।
प्रवक्त प्रदीप ज्ञवालीले भने, ‘आजको बैठकले बाग्मतीमा हुन लागेको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा हाम्रा उम्मेदवारलाई जिताउन तयारी बलियो बनाउन पार्टी पंक्तिलाई निर्देशन दिने निर्णय भएको छ। त्यसमा माथिल्लो तहबाट पनि आवश्यक सहयोग मिल्नेछ।’
ज्ञवालीले आफ्नो जित सुनिश्चितका लागि विभिन्न किसिमका सुझाव पनि बैठकमा आएको बताए। आगामी जेठ ६ गते बाग्मती प्रदेशमा हुन लागेको उपनिर्वाचनमा राष्ट्रियसभा सदस्यमा ओली पक्षले रामबहादुर थापा बादललाई उठाउने तयारी गरेको छ।
तर माओवादी, कांग्रेस र जसपाले बादलको प्रतिस्पर्धीका रुपमा डा. खिमलाल देवकोटालाई उठाउने निर्णय गरेको छ। यो प्रतिस्पर्धामा बादल हार्ने अड्कलबाजी तीव्र बनेका बेला ओलीले बादललाई जिताउन तयारी बलियो बनाउन पार्टी पंक्तिलाई निर्देशन दिएका हुन्।
सर्वोच्च अदालतले नेकपा भंग गरेपछि बादलले प्रचण्डलाई त्यागेर ओलीलाई रोजेका थिए। लुम्बिनी प्रदेशमा विकसित राजनीतिक परिवेष र ओलीले लिने भनेको विश्वासको मतबारे पनि बैठकमा छलफल भएको छ।
ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरिसकेका छन्। तर आफ्नो सफलतालाई लिएर ओली हतास र हतार दुवैमा देखिएका छन्।
ओलीले बुधबार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहित ६ जना नेतालाई भेट्न आफ्ना विश्वास पात्रलाई लिएर बुढालनिलखण्ठ पुगेका थिए। उनको जसपाका नेताहरुसँग पनि छलफल जारी छ।