कसरी अस्ट्रेलियाले कोरोनालाई नियन्त्रणमा लियो?

कसरी अस्ट्रेलियाले कोरोनालाई नियन्त्रणमा लियो?
+
-

पहिला अस्ट्रेलियाको केही कोरोना तथ्याङ्क

पहिलो लहर


अस्ट्रेलियामा कोरोना भाइरसको पहिलो संक्रमण २५ जनवरी सन् २०२० मा चीनको उहान शहरबाट मेलबर्न फर्केका एक व्यक्तिमा भेटिएको थियो। सोही दिन उहानबाटै सिड्नी आएका अन्य ३ जनामा पनि कोरोना संक्रमण भेटिएको थियो। गत वर्षको जनवरी महिनामा अस्ट्रेलियाभर जम्मा ९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो।

फेब्रुअरी २०२० मा मात्रै १४ जना व्यक्तिमा कोरोना संक्रमण भेटिएपछि अस्ट्रेलियाभर जम्मा संक्रमितको सङ्ख्या सो महिनासम्म २३ पुगेको थियो।

त्यसैगरी १ मार्चमा पर्थनिवासी ७८ वर्षीय एक वृद्धको कोरोना संक्रमणपछि मृत्यु भएपछि उनी अस्ट्रेलियामा कोरोनाबाट मृत्यु हुने पहिलो व्यक्ति बन्न पुगे। उनी ‘डायमण्ड प्रिन्सेस क्रुज’ जहाजका यात्रु थिए।

त्यसलगत्तै, २ मार्च सन् २०२० मा थपिएका ४ जना नयाँ कोरोना संक्रमित मध्येका २ जना अस्ट्रेलियाभित्रै संक्रमित बनेका थिए। यो अवधिसम्ममा सबै संक्रमितहरू अरू देशबाट मात्रै भित्रिएका थिए। ४ मार्च र ८ मार्चमा दोश्रो र तेश्रो व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएपछि अस्ट्रेलियामा कोरोना महामारीको अवस्था भयाभह बन्ने सुरुवाती सङ्केत देखिएको थियो।

अस्ट्रेलियामा कोरोनाको पहिलो लहर आउँदा मार्च महिनामा मात्रै ३ हजार २ सय ५ नयाँ संक्रमित थपिएका थिए। मार्च महिनाको २७ तारिखका दिन सबैभन्दा बढी अर्थात् ५ सय ६२ नयाँ संक्रमित थपिएका थिए। यो सङ्ख्या अप्रिलमा घटेर २ हजार १ सय ९८ पुगेको थियो। मे महिनामा जम्मा ४ सय ४७ जना मात्र नयाँ संक्रमित थपिएपछि कोरोनाका पहिलो लहरलाई अस्ट्रेलियाले नियन्त्रण गर्न सफल भएको सङ्केत देखिएको थियो।

दोश्रो लहर


कोरोना संक्रमणको पहिलो लहरलाई सफलतापूर्वक नियन्त्रण गरे पनि यो खुशी दुई महिनाभन्दा बढी कायम रहेन। २७ मे २०२० मा भिक्टोरिया राज्यको एक क्वारेन्टिन होटलमा कार्यरत सुरक्षाकर्मीमार्फत् फैलिएको कोरोना सङ्क्रमण केही दिनमा ६० जनामा सरेको थियो।

समुदायमा द्रुत गतिमा फैलिएको सङ्क्रमणले गर्दा जुन २०२० मा फेरि कोरोनाको तथ्याङ्क उकालो लाग्न थालेपछि अस्ट्रेलियामा दोश्रो लहरको सुरुवाती सङ्केत देखिएका थिए।

दोश्रो लहरको केन्द्रविन्दुमा भिक्टोरिया राज्य रहेको थियो। गत वर्षको जुलाई ३१ मा सबैभन्दा धेरै दैनिक सङ्क्रमित ७ सय २१ जना र ६ अगष्टमा ७ सय १५ संक्रमित थपिएपछि कोरोनाको दोश्रो लहरको उच्चतम विन्दु भेटिएको थियो।

५ सेप्टेम्बर २०२० पछि भने दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या दोहोरो अङ्कमा झरेपछि कोरोनाको दोश्रो लहरलाई पनि अस्ट्रेलियाले नियन्त्रणमा लिएको सङ्केत देखिएको थियो।

९ मे २०२१ सम्म अस्ट्रेलियामा कोरोना संक्रमितको कुल सङ्ख्या २९ हजार ९ सय ६ पुगेको छ जसमध्ये ९ सय १० जनाले ज्यान गुमाएका छन्। कुल सङ्ख्याको ७५ प्रतिशतभन्दा बढी सङ्क्रमण तथा ९० प्रतिशतभन्दा बढी मृत्यु भएकाहरू भिक्टोरिया राज्यबाट मात्रै थिए।
(श्रोतः हेल्थ डट गभ डट एयु, डब्लुएचओ)

भाइरसप्रति सरकारको प्रतिक्रिया


जनवरी २०२० मा चीनको उहानबाट अस्ट्रेलिया आएका ९ जनामा कोरोना संक्रमण भेटिएपछि अस्ट्रेलियन सरकारले ३१ जनवरीदेखि चीनबाट आउने विदेशी यात्रुहरूलाई कमसेकम दुई हफ्ता कुनै तेश्रो मुलुकमा बसेपछि मात्र देश छिर्न दिने निर्णय गरेको थियो भने स्थायी बसोबास अनुमतिप्राप्त मानिस तथा आफ्ना नागरिकका लागि १४ दिन आफ्नै घरमा आइसोलेसनमा बस्नुपर्ने नियम लगाएको थियो।

कोम खत्री।

लगत्तै २९ फेब्रुअरीमा इरानबाट फर्केका एक व्यक्तिमा कोरोना संक्रमण भेटिएपछि अस्ट्रेलियन सरकारले इरानबाट आउने विदेशीहरूलाई पनि कम्तीमा २ हफ्ता तेश्रो मुलुकमा बसेपछि मात्र देश छिर्न दिने नीति लागू गरेको थियो।

नयाँ कोरोना संक्रमणको बढ्दो तथ्याङ्कलाई मध्येनजर गर्दै अस्ट्रेलियाले १८ मार्च सन् २०२० मा अघिल्लो दिन बसेको राष्ट्रिय सुरक्षा समितिको निर्णयअनुसार ‘ह्युमन बायोसेक्युरिटी इमरजेन्सी’ घोषणा गरेको थियो। ‘बायोसेक्युरिटी एक्ट २०१५’ अन्तरगत गरिएको घोषणाले मानिसहरूलाई हिँडडुल गर्न प्रतिबन्ध लगाउने शक्ति मन्त्रीहरूलाई दिने गर्दछ।

२० मार्च सन् २०२० मा अस्ट्रेलियन सरकारले स्थायी बासिन्दा तथा नागरिकबाहेक अरू सबैलाई सिमाना बन्द गर्ने घोषणा गरेको थियो। २१ मार्चदेखि सरकारले अत्यावश्यक सेवाहरू मात्र खोल्ने निर्णय गरेको थियो। धेरै मानिसहरू जम्मा हुन सक्ने स्थलहरू, रेष्टुरेन्ट, पब, क्लब आदिमा कडाइ गरिए पनि सरकारले पूर्ण रूपमा देशलाई ‘लकडाउन’ भने घोषणा गरिएन। अत्यावश्यक क्षेत्रहरू खुल्ला राखे पनि सामाजिक दूरीलाई कडाइका साथ पालना गर्न सबैलाई निर्देशन दिइएको थियो।

२५ मार्च सन् २०२० मा प्रधानमन्त्री स्कट मोरिसनले ‘राष्ट्रिय कोभिड–१९ कोअर्डिनेसन कमिटी’ को गठन गरे। यसको प्रमुख कर्तव्य भनेको कोभिड–१९ लाई नियन्त्रण गर्न तथा कोभिड–१९ बाट हुने सामाजिक र आर्थिक सङ्कट निर्मूल गर्नका लागि पब्लिक–प्राइभेट साझेदारीका बारेमा सरकारलाई सुझाव र सल्लाह दिनु थियो।

त्यसैगरी मार्चको अन्त्यमा विदेशमा अस्ट्रेलिया छिरेका हरेक व्यक्तिलाई अनिवार्य रूपमा २ हफ्ता विभिन्न होटलहरूमा क्वारेन्टिनमा राखेर कोरोना नभएको पुष्टि भएपछि मात्रै घर जान दिने निर्णय गरिएको थियो।

दोश्रो लहरको टाइमलाइन


कोरोना भाइरसको दोश्रो लहर भिक्टोरिया राज्यमा केन्द्रित रहेकाले त्यसका विरुद्ध भिक्टोरिया राज्य सरकारले २० जुन सन् २०२० मा एक घरमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन निषेध गर्ने घोषणा गरेको थियो। लगत्तै, २५ जुनमा राज्य सरकारले सेनाको सहयोग लिने निर्णय गरेको थियो भने ३० जुनमा भिक्टोरियाका १० वटा स्थानहरूमा तेश्रो तहको लकडाउन घोषणा गरिएको थियो।

यसको चार दिनपछि भिक्टोरियामा दैनिक सङ्क्रमितको सङ्ख्याले सय नाघ्न सुरू गरेपछि अन्य दुईवटा स्थान र नौवटा ‘सरकारी हाउसिङ टावर’ लाई विवादास्पद लकडाउनमा राखिएको थियो जसका कारण सो टावरमा बस्ने करिब तीन हजार मानिसहरूलाई घरबाट बाहिर निस्कन रोक लगाइएको थियो।

६ जुलाईमा भिक्टोरियामा दैनिक सङ्क्रमण सङ्ख्या १ सय ९१ हुँदा राज्यका प्रिमियर डेनियल एन्ड्रूज र न्यूसाउथवेल्स राज्यकी प्रिमियर ग्लेडिज बेरिजिक्लिन्ले १० वर्षमा पहिलोपटक राज्यको सीमा बन्द गर्ने घोषणा गरेका थिए।

९ जुलाईमा राज्यका प्रिमियर डेनियल एन्ड्रूजले मेलबर्नको शहरी इलाका तथा मिचेलसायरलाई ६ हफ्ताका लागि तेश्रो तहको लकडाउन गरिने घोषणा गरे।

यसको १० दिनपछि भिक्टोरिया राज्यमा दैनिक सङ्क्रमण सङ्ख्या ३ सय ४३ पुगेको थियो भने ‘आपतकालीन अवस्था’लाई अगष्ट १६ सम्म थपिएको थियो।

२ अगष्टमा दैनिक सङ्क्रमण ६ सय ७१ पुग्दा भिक्टोरिया राज्यलाई ‘स्टेट अफ डिजास्टर’ घोषणा गरिएको थियो। लगत्तै मेलबर्नको शहरी इलाकालाई चौथो तहको लकडाउनका साथै बेलुकी ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि कर्फ्यूको घोषणा गरियो।

५ अगष्टमा दैनिक सङ्क्रमण ६ सय २५ पुगेपछि भने निरन्तर रूपमा तथ्याङ्क ओरालो झरेको थियो। तथ्याङ्क ओरालो लागेपछि लकडाउन खोल्नका लागि भिक्टोरिया राज्यले चार तहको रोडम्याप तयार पारेको थियो।

१३ सेप्टेम्बरमा दैनिक सङ्क्रमितको सङ्ख्या ४१ मा झरेपछि कर्फ्यूको समयलाई घटाएर बाह्य गतिविधिको समय थप गरियो। रिजनल भिक्टोरियालाई तेश्रो तहको लकडाउनबाट दोश्रो तहमा झारियो।

तथ्याङ्क ओरालो लाग्दै गर्दा ५ किलोमिटरभन्दा बढी हिँड्डुल गर्न नपाइने नियमलाई २५ किलोमिटर बनाइयो।

२६ अक्टोबरमा भिक्टोरियामा दैनिक सङ्क्रमित सङ्ख्या ९ जुनदेखि पहिलोपटक शून्यमा झरेको थियो। नयाँ सङ्क्रमित शून्य हुँदै ‘एक्टिभ केस’को तथ्याङ्क ओरालो लाग्दै गर्दा २५ किलोमिटरभन्दा बढी हिँड्न नपाइने नियमलाई ९ नोभेम्बरमा हटाइएको थियो।

चार महिनासम्म बन्द रहेको न्यूसाउथवेल्स भिक्टोरिया बोर्डरलाई २३ नोभेम्बरमा खोलिएको थियो।

आर्थिक राहत


१२ मार्चमा प्रधानमन्त्री स्कट मोरिसनले १७ दशमलव ६ अर्ब अस्ट्रेलियन डलर बराबरको कोरोना भाइरस राहत प्याकेजको घोषणा गरे। यसमध्ये ‘सामाजिक सुरक्षा भत्ता’ र ‘पेन्सन’ लिएर जिविकोपार्जन गर्ने करिब ६५ लाख अस्ट्रेलियनहरूको खातामा ७ सय ५० डलर सोझै ट्रान्सफर गरिएको थियो।

त्यसैगरी २२ मार्चमा सरकारद्वारा ६६ अर्ब अस्ट्रेलियन डलर बराबरको दोश्रो राहत प्याकेज घोषणापश्चात् जम्मा ८९ अर्ब डलरको राहत प्याकेज बन्न पुगेको थियो। यस प्याकेजअन्तर्गत् साना व्यवसायीहरूलाई सहयोगदेखि लिएर रोजगार गुमाएकाहरूलाई समेत सहयोग दिइने कुराहरू उल्लेख थिए।

त्यसैगरी ३० मार्चमा कोभिड–१९ द्वारा मार खेपिरहेका व्यवसायलाई मध्येनजर गर्दै सरकारले १ खर्ब ३० अर्ब डलर सहयोगको घोषणा गरेको थियो। ‘जबकिपर पेमेन्ट’ तथा ‘जबसिकर पेमेन्ट’ नामाकरण गरिएको सो राहतका माध्यमद्वारा रोजगार गुमाएका लाखौँ अस्ट्रेलियनहरूले राहत पाउनुका साथै खस्कँदो अर्थतन्त्रलाई जोगाउनका लागि सहयोगी समेत बनेको थियो।

प्रविधिको प्रयोग


२६ अप्रिल २०२० मा अस्ट्रेलियन सरकारले मोबाइल फोनमा डाउनलोड गर्न मिल्ने ‘कोभिड सेफ’ नामक एप्लिकेसन सुरू गरेको थियो। सो एप फोनमा डाउनलोड गरेपछि २१ दिनसम्म निश्चित समयभन्दा बढी आफ्नो सम्पर्कमा आएका फोनहरूको तथ्याङ्क संकलन गर्ने काम गर्दथ्यो।

यसले गर्दा स्वास्थ्यकर्मीहरूले यदि कोही कोरोना संक्रमित भएको भेटिएमा यसका आधारमा सम्पर्कमा आएका अरू व्यक्तिहरूलाई पत्ता लगाउन निकै सजिलो हुने बताइएको थियो। केही विज्ञले व्यक्तिगत गोपनियता भङ्ग हुन सक्ने चेतावनी दिए तापनि सरकारले यसको तथ्याङ्क केवल स्वास्थ्यकर्मीले मात्र प्रयोग गर्न पाउने तथा २१ दिनपछिका सबै सङ्कलित तथ्याङ्क एपले स्वयम् नष्ट गर्ने बताएको थियो।

सरकारले यो एप डाउनलोन गर्न अनिवार्य नगरे तापनि केही दिनअघिसम्म करिब ७० लाख पटक यो एप डाउनलोड गरिएको थियो भने कमसेकम एकपटक यसैको माध्यमबाट कन्ट्याक्ट ट्रेसिङ गर्ने काम पनि गरिएको थियो।

भ्याक्सिन


अस्ट्रेलियाको औषधिसम्बन्धी सरकारी नियमनकारी संस्था ‘थेराप्युटिक गुड्स एड्मिनिस्ट्रेसन (टिजिए_’ ले हालसम्म दुईवटा भ्याक्सिनलाई स्वीकृति दिएको छ। टिजिएले २५ जनवरी सन् २०२१ मा फाइजर भ्याक्सिन र १६ फेब्रुअरी २०२१ मा अक्सफोर्डको एस्ट्राजेनेका भ्याक्सिनलाई स्वीकृति दिएको थियो।

अस्ट्रेलियन सरकारले भ्याक्सिन परीक्षण र उत्पादनकै क्रममा रहेका बेला फाइजर बायोटेक, अक्सफोर्ड एस्ट्राजेनेका र युनिभरसिटी अफ क्वीन्सल्याण्डसँग सम्झौता गरेको थियो भने युनिभरसिटी अफ कवीन्सल्याण्डको भ्याक्सिलाई डिसेम्बर २०२० मा सम्झौता रद्द गरेको थियो।

कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न सफल रहे पनि भ्याक्सिन लगाउने मामिलामा भने अन्य देशको तुलनामा पछि रहेको छ। सरकारले आगामी अक्टोबर महिनासम्म सबै अस्ट्रेलियनहरूलाई भ्याक्सिन दिने सुरुवाती घोषणा गरे पनि आपूर्तिमा भएका समस्या, एस्ट्राजेनेका भ्याक्सिनमा देखिएको दुर्लभखाले रगत जम्ने रोग अनि युरोपियन युनियनसँग भएका विवाद आदिका कारणले खोप लगाउने मितिलाई पर सार्दै आइरहेको छ। हाल अस्ट्रेलिया भ्याक्सिन कार्यक्रम सुरुवाती अवस्थामै रहेको देखिन्छ।

‘आवर वल्र्ड इन डाटा’ का अनुसार अस्ट्रेलियाले हालसम्म १०० जनामा १०.०६ डोज भ्याक्सिन लगाएको छ । यो दर इजराइलमा ११५.९, वेलायतमा ७८.५, अमेरिकामा ७७.६ र जर्मनीमा ४१.४ रहेको छ । हालसम्म अस्ट्रेलियाले २५ लाख ५० हजार भ्याक्सिनको डोज लगाइसकेको सरकारी तथ्याङ्क छ ।

आइसोलेसन, क्वारेन्टिन र अस्पताल


कोरोना परीक्षणपश्चात् संक्रमण पुष्टि भइसकेको खण्डमा अनिवार्य रूपमा सुरक्षित स्थानमा आइसोलेसनमा बस्नुपर्ने तथा ती व्यक्तिसँग सम्पर्कमा आएकाहरूलाई पनि ट्रेस गरेर अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नीतिले गर्दा कोरोना भाइरसलाई समुदायमा फैलनबाट रोक्न मद्दत पुगेको मान्न सकिन्छ । अस्ट्रेलियामा कुल संक्रमितमध्ये ज्यादै कम व्यक्तिलाई मात्र अस्पताल भर्ना गरिएको थियो ।

चारैतिर समुद्रले घेरिएर रहेको भौगोलिक अवस्थिति तथा सरकारले बेलैमा आफ्ना सिमानाहरू बन्द गरी आफ्ना नागरिकहरूमाँझ सामाजिक दूरी प्रभावकारी रूपमा कायम गर्न सक्नुले यहाँ कोरोना संक्रमण नियन्त्रण गर्नमा प्रभावकारी भूमिका खेलेको मान्न सकिन्छ।

यीबाहेक प्रभावकारी परीक्षण तथा कन्ट्याक्ट ट्रेसिङ गरेर जोखिममा रहेका सबै मानिसलाई आइसोलेसनमा राख्न सकिनु पनि यो रोग नियन्त्रणमा फलदायी सावित भएका थिए। कोरोना परीक्षणको वर्तमान तथ्याङ्कलाई मध्येनजर गर्दै अस्ट्रेलियाको प्रभावकारी नीतिले विश्वका अन्य मुलुकलाई पनि केही महत्वपूर्ण पाठ सिकाउन मद्दत गर्ने पक्का देखिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?