
काठमाडौँ- सत्तारुढ नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि कार्यदल गठन गर्ने भनिएपनि त्यसमा शुक्रबार अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्ष असफल भएका छन्।
सिंहदरबारमा साँझ झण्डै साढे दुई घण्टासम्म भएको लामो वार्तामा दुवै पक्ष कार्यदल बनाउन असफल भएका हुन्। बिहीबार चपली घुम्तीमा एक सञ्चार व्यवसायीको घरमा भएको झण्डै चार घण्टा लामो वार्तामा आफ्नो माग अनुसार फागुन २८ मा गरेका निर्णय फिर्ता लिन र पार्टीलाई २०७५ जेठ २ मा फर्काउन ओली सकरात्मक रहेको र त्यसका लागि कार्यदल गठन हुने दाबी गरेका थिए।
त्यसैका आधारमा शुक्रबार भएको वार्तामा ओली आफै, ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, सुवास नेम्वाङ सामेल थिए। यस्तै वार्तामा असन्तुष्ट पक्षबाट नेपाल आफै, सुरेन्द्र पाण्डे, भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त सामेल थिए। वार्तामा के के सहमति भयो भन्नेबारे ओली पक्षले मुख खोलेको छैन।
नेपाल पक्षका नेता भीम रावलले कार्यदल गठनको मामिला ओली र नेपालले छुट्टै बसेर टुंग्याउने जानकारी दिए। साथै उनले वार्तामा पार्टी एकताका लागि गम्भीरतापूर्वक छलफल गरेको बताए। उनले भने,‘ वार्तामा जेठ २ भन्दा अगाडि पुगेर छलफल गर्ने कुरा भयो। त्यो प्रयोजनका लागि ओली र नेपाल बसेर कार्यदल गठन गर्ने निर्णय भएको छ।’
वार्तामा सामेल नेपाल पक्षका अर्का नेता रगुजी पन्थले पार्टीलाई एकताबद्ध बनाउनेबारे वार्तामा छलफल भएको बताए। तर नेपाल पक्षले आजै लिखित सहमति गर्ने र सहहमति कार्यान्वयनका लागि कार्यदल गठन गर्न दबाब दिने दाबी गरेका थिए।