
काठमाडौँ -पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग २०७५ जेठ २ मा फर्केर समस्याको समाधान गर्ने सहमति भएको असन्तुष्ट पक्षले दाबी गरेको छ। तर यसबारे ओली पक्षले भने केही खुलाएको छैन।
सिंहदरबारमा शुक्रबार साँझ भएको भण्डै साढे दुई घण्टा लामो वार्तामा जेठ २ मै फर्केर समस्याको समाधान खोज्ने सहमति भएको नेपाल पक्षका नेता घनश्याम भुसालले जानकारी दिए।
त्यसका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैले एउटा कार्यदल गठन गर्ने निर्णय वार्तामा भएको उनको भनाई छ। यसबारे वार्तामा सामेल नेपाल पक्षका नेता गोकर्ण विष्टले पनि सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
बिहीबार चपली घुम्तीमा एक व्यवसायीको घरमा भएको झण्डै चार घण्टा लामो वार्तामा फागुन २८ गतेका निर्णय खारेज गर्न र जेठ २ मा पार्टीलाई फर्काउन ओली सकारात्मक रहेको प्रतिक्रिया नेता नेपालले दिएका थिए।
त्यसका लागि कार्यदल गठन गर्ने निर्णय भएको उनले सुनाएका थिए। शुक्रबारको वार्तामा कार्यदल गठनको जिम्मा नेपाल र ओलीले पाएका छन्। तर उनीहरुको अबको वार्ताबारे केही खुलाइएको छैन।
वार्तामा ओलीका तर्फबाट ओली आफै, ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र सुवास नेम्वाङ सामेल थिए। नेपालको तर्फबाट नेपाल आफै, नेता भुुसाल, विष्ट, भीम रावल र रघुजी पन्थ सामेल थिए।