
काठमाडौँ– कोरोना महामारीमा यस्ता कहालीलाग्दा दृश्यहरु देखिन थालेका छन्, जहाँ कोरोना पुष्टि हुनु पहिल्यै मानिसहरु ढल्न थालेका छन्।
सन्त्रासमा छट्पटिएका बेला समयमै अस्पतालमा पुग्न नसक्दा मानिसले एम्बुलेन्सभित्रै अन्तिम सास फेर्न थालेका छन्। बिरामीको अकालमै मृत्युका असामान्य घटनाहरु समान्यजस्तै बनेका छन्। यी घटनाहरुले स्वाभाविक रुपमा अप्रभावितहरुमा पनि मनोवैज्ञानिक डर पैदा गरेको छ, फैलिएको छ।
थानकोट चेकपोष्ट नजिकै घर भएकी ४२ वर्षीया पूजा केसी निन्द्रा नलाग्ने, डर लाग्नेजस्ता समस्याबाट ग्रसित थिइन्, केही वर्ष यता। त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालले मानसिक स्वास्थ्य समस्याको उपचार गरिरहेको थियो उनको। परिवारजनले उनलाई आवश्यक हेरविचार पनि गरिरहेको थियो। तर बढ्दै गएको कोराना महामारीका बीच उनी झनै डराउन थालेकी थिइन्। परिवारको हौसलाले उनमा साहस थपिए पनि त्यो लामो टिकेन।
पाँच दिनअघि उनलाई अचानक ज्वरो आयो। घर नजिकै ‘हेल्थ केयर’ नामको मेडिकलमा गएर जाँच गराइन्। मेडिकलको औषधिले उनको ज्वरो निको भएको जस्तो मात्रै भयो तर भित्रभित्रै उनको शरीर गल्दै थियो। थकाइ र त्रास बढ्दै थियो।
मंगलबार बिहान उनले असहज महशुस गरिन्। उनको ज्वरो बढ्यो। उनलाई उनका श्रीमान् प्रेमले मोटरसाइकलमा हालेर नजिकै चन्द्रागिरी नगरपालिकाद्वारा सञ्चालित आइसोलेशनमा पुर्याए। जाँच गर्दा उनको ज्वरो १०१ डिग्री फरेनहाइट उक्लिएको देखियो। अक्सिजनको मात्रा ८६ प्रतिशतमा झरेको पाइयो।
सामान्यतया स्वस्थ मानिसमा ९४ देखि १०० प्रतिशतसम्म अक्सिजन लेवल हुनुपर्छ। पूजाको स्वास्थ्य गम्भीर भएको आँकलनसहित आइसोलेनशका स्वास्थ्यकर्मीले उनको उपचार आफूले गर्न नसक्ने र उनलाई अन्त लगिहाल्न सुझाए। उनीहरुको सुझाव अनुसार नजिकको एपीएफ अस्पताल थियो।
पूजालाई एम्बुलेन्सभित्रको सिटमा घोप्टो पारेर लैजान उनीहरुले सुझाए, उनलाई श्वाप्रश्वासमा सहज होस् भनेर। तर केहीबेरमा एम्बलुेन्समा उनलाई एपीएफ अस्पताल पुर्याए पनि एम्बलुेन्सले अस्पताल प्रवेश गर्न पाएन, तत्काल।
गेटका सुरक्षाकर्मीहरुले पूजाको अवस्था र अस्पतालको बेडलगायत सुविधाको सोधपुछमा करिब २० मिनेट बिताए। त्यसपछि मात्रै उनीहरुको छोटो जबाफ थियो, ‘यहाँ बेड छैन रे। अन्तै लग्नुहोस्।’
पूजाको सास छोटिँदै गर्दा सुरक्षाकर्मीको जबाफ आएको थियो।
चालकले तत्काल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका लागि एम्बुलेन्स मोडे। एम्बुलेन्सभित्र पूजा घोप्टो नै परिरहेकी थिइन्। उनका हात समातेर प्रेम बसिरहेका थिए। आडैमा उनका छोरा पुजन मौन साक्षी थिए, यो असामान्य परिस्थितिको।
टेकु अस्पतालको आकस्मिक कक्ष परिसरको बाक्लो भीडकाबीच चालकले एम्बुलेन्सको ढोका हतारहतार खोले । प्रेमले पूजालाई बोलाए, तर पूजा बोलिनन्। पूजा बेहोस भएको ठानेर प्रेम आत्तिए। एक्लै बाहिर ओर्ले।
आकस्मिक कक्ष परिसरमै ‘स्ट्यान्टबाइ’ रहेका अस्पतालका स्वास्थ्यकर्मी र चिकित्सक तत्कालै पूजाको उपचार गर्न लम्के एम्बुलेन्सतिरै। पुजालाई बोलाउँदा उनको ‘रेस्पोन्स’ थिएन। पूजाको मोटो शरीर। बाहिर ल्याउन समय लाग्ने भएकाले एम्बुलेन्सभित्रै गएर पूजाको जाँचमा लागे उनीहरु।
यता प्रेम भन्दै थिए, ‘एपीएपले हामीलाई २० मिनेट कुरायो। अन्तिममा बेड छैन भन्यो। यहाँ त भुइँमा पनि अक्सिजन पाइने रहेछ। त्यहाँ यसरी अक्सिजन पाएको भए यस्तो हुने थिएन।’ उनी पीडाले बरबराउँदै थिए।
एम्बुलेन्सभित्र चिकित्सक र स्वास्थ्यकर्मीले आपसमा अंग्रेजीमा कुरा गर्दै निष्कर्ष निकाले, ‘इट इज अलरेडी लेट। ब्रट डेड।’ अर्थात पूजा बितिसकेकी थिइन्।
एम्बुलेन्सबाट स्वास्थ्यकर्मी र चिकित्सक झरेपछि प्रेमले हतारहतार पूजाको खुट्टा समाते। नियतिले उनलाई भक्कानिने बनायो। तर छोराको उपस्थितिले सम्हालिन बाध्य भए उनी। त्यतिञ्जेल छोराको मास्क आँसुले भिजिसकेको थियो।
केहीबेरपछि चिकित्सकले कागजात थमाउँदै प्रेमलाई भने, ‘सरी उहाँ बितिसक्नुभएको रहेछ। हामीले केही गर्न सकेनौँ।’
एम्बुलेन्सबाट स्वास्थ्यकर्मी र चिकित्सक झरेपछि प्रेमले हतारहतार पूजाको खुट्टा समाते। नियतिले उनलाई भक्कानिने बनायो। तर छोराको उपस्थितिले सम्हालिन बाध्य भए उनी। त्यतिञ्जेल छोराको मास्क आँसुले भिजिसकेको थियो।
प्रेम र छोरालाई सम्हाल्न उनीहरुका एक जना नातेदार हस्याङफस्याङ गर्दै अस्पताल आइपुगे।
पूजालाई ल्याएको एम्बुलेन्स सँगसँगै अर्को एम्बुलेन्समा आएकी अन्दाजी उनकै उमेरकी एक महिलाले कुर्सीमा भएपनि अक्सिजन पाइसकेकी थिइन्। ‘समयमै आउँदा यी महिलाको प्राण बच्यो,’ चिकित्सकहरु भन्दै थिए।
प्रेमले पूजाको मंगलबार पीसीआर परीक्षणको योजना बनाएका थिए। परीक्षणका लागि सुरुवातमा जाँच गर्ने मेडिकल प्राविधिकहरु घरमै आउने योजना थियो। तर कोरोना पुष्टि हुनुभन्दा पहिल्यै उनी बितिन्। कोरोनाकै कारण मृत्यु भएको कुरा अनौपचारिक रुपमा स्वास्थ्यकर्मीले गरेपनि शवको कोराना परीक्षणको औचित्य नभएको निष्कर्ष निकाले। योसँगै पूजाको हैसियत अनिर्णित रह्यो।
अर्थात पूजाको शव व्यवस्थापन सेनाको जिम्मेवारीमा परेन। त्यतिबेलै अस्पतालमै कोरोनाका कारण मृत्यु भएकालाई लिन सेना आइपुग्यो। प्रेमले सेनासँग अनुनय विनय गरे।
सेनाको जबाफ थियो, ‘हाम्रो प्रोटोकलभित्र पर्दैन। हामीलाई पीसीआर रिपोर्ट पोजेटिभ चाहिन्छ।’
त्यसपछि पूजाको शव व्यवस्थापन परिवारकै दायित्व बन्यो। कहाँ लैजाने? कसरी अन्तिम संस्कार गर्ने? दुविधा आफ्नो ठाउँमा थियो।
तर पूजालाई कोरोना भएको थियो या थिएन त्यो जान्नु उनीहरुका लागि आवश्यक थियो। परिवारकै सुरक्षाका हिसाबले पनि।
अन्तिममा उनीहरु कम्तिमा आफूहरुमा कोरोना छ या छैन त्यो स्पष्ट हुन चाहे। त्यसका लागि फेरि अस्पतालसँग हारगुहार गरे। त्यसमा भने अस्पतालले सहयोग गर्यो। तर पीसीआर रिपोर्ट नआउँदै पूजाको शव बोकेर अस्पतालबाट बाहिरिए उनीहरु।
त्यसपछि अस्पतालका स्वास्थ्यकर्मी र चिकित्सकले एकअर्कालाई प्रश्न सोधे, ‘नगरपालिकाले अहिले आएर आइसोलेसन बनाउने समय हो? यसले बिरामीलाई झुक्काइरहेको छैन त? अनि एपीएफले यस्तो गम्भी बिरामी पनि किन नलिएको होला? हामीले त भूइँमै भएपनि उपचार गरेर बिरामीको ज्यान बचाउने प्रयास गरेका छौँ त।’