
काठमाडौँ – कोरोना कहरको महामारीबीच फ्रन्टलाइनमा सक्रिय सञ्चारकर्मीको स्वास्थ्य सुरक्षाका लागि चलचित्र ‘तिम्रो मेरो साथ’का निर्माता तथा निर्देशक रमेश एमके पौडेलले नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशलाई १ लाख १ हजार रुपैयाँ सहयोग गरेका छन्।
अमेरिकामा रहेका पौडेलले पठाएको उक्त रकम नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलसहितको उपस्थितिमा चलचित्र पत्रकार राजन घिमिरेले एसोसिएट प्रदेश अध्यक्ष वैकुण्ठराज पराजुलीलाई हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा एसोसिएट प्रदेश अध्यक्ष पराजुलीले कोभिड– १९ को संक्रमणमा परेका र संक्रमणको जोखिममा रहेका सञ्चारकर्मीको स्वास्थ्य सुरक्षाको चिन्ता गर्दै सहयोग गरेका पौडेलप्रति आभार व्यक्त गरे।
‘समग्र सञ्चारकर्मीको पेसागत सुरक्षा र स्वास्थ्य सुरक्षाको पक्षमा उभिनु हाम्रो दायित्व हो’, पराजुलीले भने, ‘प्रदेश समितिले अघि बढाएको यो अभियान र अग्रसरतामा हातमा हात मिलाउने सहयोगी मनहरूप्रति कृतज्ञ छौँ।’
उनले उक्त रकम प्रदेशको पत्रकार कोरोना सुरक्षा कोषमा जम्मा गरिने बताए।
कोरोनाको दोस्रो लहर आउनुपूर्व चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सिध्याएर अमेरिका पुगेका पौडेल पछिल्लो डेढ दशकदेखि चलचित्र निर्माणमा सक्रिय छन्।
उनले यसअघि ‘रुद्रप्रिया’, ‘राजा रानी’लगायत चलचित्र निर्माण गरिसकेका छन्। पौडेल पेसाले सञ्चार उद्यमी पनि हुन्।
नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशमा विभिन्न विधामा सक्रिय १२ वटा संगठन आबद्ध छन्।