
काठमाडौँ – नबिल बैंकले नेसनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने भएको छ। यसबारे मंगलबार नबिल बैंक र वीर अस्पतालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीअनुसार नबिल बैंकले ५० क्युबिक लिटर प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च व्यहोर्नेछ भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराउनेछ। कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिँदै जाँदा अस्पतालमा बिरामीले अक्सिजन नपाएर ज्यान गुमाउनुपरिरहेको अहिलेको विषम परिस्थितिमा नबिल बैंकले सरकारलाई सहयोग गरेको हो।
यो प्लान्ट स्थापनाले अस्पताललाई आवश्यक अक्सिजन उपलब्ध गराउने र यसबाट धेरै बिरामीको ज्यान बचाउन सकिने बैंकले विश्वास लिएको छ।
नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोभिड महामारीको सुरुदेखि नै नेपाल सरकारलाई विभिन्न तरिकाले सहयोग गर्दै आएको छ।
चालु वर्ष कोभिड १९ को प्रतिकार्यका लागि नबिल बैंकले नेपाल सरकारलाई ६ करोड नगद सहयोग गरेको छ।
त्यसैगरी, नबिल बैंकले सरकारी तथा विपद्मा काम गरेका विभिन्न संस्थासँगसमेत साझेदारी सुरु गरेको थियो।
जसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहकार्य गरी नेपालका सातै वटा प्रदेशमा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य आपत्कालीन पूर्वतयारीसम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ।
यसअन्तर्गत चालु वर्षमा सरकारी, गैरसरकारी र मानवीय कार्यमा संलग्न संस्थाका ३ सय ३० जना स्वास्थ्यकर्मीलाई एकदिने अभिमुखीकरण दिइएको छ।
त्यस्तै, बैंकले अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गर्न वीर अस्पतालसँग सम्झौता गरेको छ।
विर अस्पतालमा अक्सिजन प्लान्ट संगै केहि अस्पतालहरूलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्न बैंकले थप प्रकिया अगाडि बढाइसकेको छ।
यो सबै गरेर बैंकले कोरोना रोकथाम र नियन्त्रणमा लगभग ८ करोड सहयोग प्रदान गर्ने भएको हो।