
काठमाडौँ- निर्वाचन आयोगले आचारसंहिता उल्लंघनप्रति कर्मकाण्डी प्रतिक्रिया दिएको छ।
मौन अवधि सुरु भइसकेपछि नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोली हुने बाग्मती प्रदेशको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा आफ्ना पार्टीका आफू निकट गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई अनिवार्य मत हाल्न आग्रह गरेकोमा मौन रहँदै आयोगले आचारसंहिता कार्यान्वयनका लागि सबैलाई एकमुष्ट आग्रह गरेको छ।
आयोगले बुधबार जारी गरेको विज्ञप्तीमा आचारसंहिता उल्लंघन गर्ने ओलीको नाम नलिइ भनिएको छ,‘ केही व्यक्तिले आचारसंहिता विपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ती निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चारमाध्यमले उम्मेदवारहरुको जीत हारको पुर्वानुमानका सामाग्रीहरु प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरुको अन्तर्वार्ता लिने जस्ता गतिविधिहरु गरेको देखिएकाले यसतर्फ आयोगको गम्भीर ध्यानाकर्षण भएको छ।’
आयोगले आतारसंहिता विपरीतका गतिविधिले निर्वाचनको स्वच्छता र विश्वासनीयता प्रतिनै अघात पार्ने बताएको छ। तर जेठ ३ गते राती १२ बजेबाट निर्वाचनको मौन अवधि सुरु भइसकेको अवस्थामा ओलीले बुधबार निकालेको विज्ञप्तीबारे मौन छ।
ओलीेले बुधबार दिउँसो दुई पृष्ठ लामो अपिल जारी गरेर बादल पार्टीका आधिकारिक उम्मेदवार भएकाले उनलाई मत दिनुपर्ने र मत नदिए क्षम्य नहुने चेतावनी दिएका थिए। यसमा ओलीले बादलका लागि मत मात्रै मागेका छैनन्,धम्की पनि दिएका छन्।
यस्तो अवस्थामा उनीप्रति निर्वाचन आयोग मौन छ। आयोगले थप भनेको छ,‘अवधिमा निर्वाचन प्रचारप्रसार गर्ने, मत माग्न नहुने, एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्धारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रचार हुने गरी कुनै समाचार, वा सूचना प्रकाशन तथा प्रसारण गर्न नहुने भएको हुँदा यस्ता आचरणहरु पालना गर्न गराउन सम्बद्ध सबैसँग आयोगले अनुरोध गर्छ।’