जीवन र मृत्युको यो अन्तिम संघर्षः मेरो विवशता

जीवन र मृत्युको यो अन्तिम संघर्षः मेरो विवशता
+
-

काठमाडौँ – सास फेर्न गाह्रो भयो। ज्वरो बढ्यो। टाउको रन्कियो। यस्तै–यस्तै बरबराएर, अत्तालिएर टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षअगाडि आउने कोरोना संक्रमितको संख्या एकाएक बढ्दै थियो वैशाख २९ गते साँझतिभीडमा को बिरामी? को आफन्त? चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी सबै त्रस्त देखिन्थे।

आकस्मिक कक्षभि त्र र बाहिरका बेड भरिभराउ थिए। पाँच बेडको आकस्मिक कक्षलाई ५० बेडको बनाइएको थियो, बिरामीको चाप बढेपछि। तर, बिरामीलाई भुइँ या कुर्सीमा राखेर भए पनि अक्सिजन दिने प्रयासमा थिए उनीहरू, आफन्तको अनुनय–विनयपछि। वास्तवमा उनीहरू त्यसैमा चित्त बुझाउन बाध्य थिए।

त्यही भीडमा मिसिन पुगे ४५ वर्षीय भारतीय नागरिक राजेन्द्रकुमार मल्लिक, हस्याङफस्याङ गर्दै । तर, उनी केही हच्किए। छातीलाई हातले बेस्सरी समातेका थिए। उनको छट्पटाहट टाढैबाट देखिन्थ्यो, बुझिन्थ्यो। तर गुनासो, कोलाहल र चित्कारबीच उनलाई कसले सोधपुछ गर्ने? त्यो अवस्थामा उनी सिधै स्वास्थ्यकर्मी र चिकित्सक भएतिर जान डराए। बरु, आफू उभिएकै भुइँमा थ्याच्च बसे। टाउको समाते ।एकछिनपछि उठेर आकस्मिक कक्षको ढोकाको बायाँतर्फ भित्तामा अडेस लागे। आफूसँग भएको रातो झोलालाई तकिया बनाए।

उनको असहजता र मौनताले मेरो ध्यान खिच्यो। अर्थात् मैले त्यसदिन अन्य बिरामीलाई पछ्याइनँ। पीपीईलगायत सुरक्षा सामग्रीको प्रयोग गरेकाले उनको नजिक जाने आँट गरेँ।

मलिनो स्वरमा उनले भने, ‘मलाई कोरोना छ। घरभित्रै बसेपछि ठीक हुन्छ भनेको सुनेँ। घरमै बसेको थिएँ। तर, सास फेर्न गाह्रो भयो। खोकी बढ्यो। आफैँ यहाँ आएँ।’

उनी थिए भारतको उडिसा राज्यका नागरिक। तर, नेपालमा २६ वर्षदेखि ‘प्लम्बिङ’को काम गरिरहेका थिए। सोह्रखुट्टेमा डेरामा बस्थे। गत वर्षसम्म उनकी श्रीमती चन्द्रिका  उनीसँग सँगै थिइन्।

नेपालमा कोरोना फैलिएपछि उनीहरू आफ्नो सुरक्षाका लागि घर फिरे। तर, आर्थिक अभावले उनलाई सतायो। काम सम्झिएर उनी नेपाल आए, वातावरण सहज नबन्दै। नेपालको उनको कमाइले उनका छोराले इन्जिनियरिङ पढ्दै थिए। छोरी बिएमा पढ्दै थिइन्, उडिसामै।

मल्लिकलाई सघाउन चन्द्रिका नेपाल आउने तयारीमा थिइन्। तर, कोरोनाको दोस्रो लहरका कारण उनी घरमै रोकिइन्। मल्लिक आफ्नो सहारा नभएका बेला संक्रमित भए। त्यसैले अस्पतालमा पनि उनी एक्लै थिए। उनलाई अस्पताल जान चन्द्रिकाले नै कर गरेकी थिइन्। मल्लिकले जानेबुझेको टेकु नै थियो।

आफ्नोबारे उनी थप बताउन चाहन्थे। तर, उनको ‘स्ट्रेस’ बुझ्न सकिन्थ्यो। मैले उनलाई रोकेँ। ‘तपाईंलाई निको भएपछि कुरा गरौँला। अहिले उपचार गरौँ,’ मेरो सान्त्वना थियो उनलाई। वास्तवमा मैले उनीसँगको अन्तर्वार्ताभन्दा उनको जीवन रक्षामा अर्थ देखेँ। व्यस्त स्वास्थ्यकर्मीको ध्यान मल्लिकतिर जोडेँ। मल्लिकबारे आफूले थाहा पाएको जानकारी पनि दिएँ।

झट्टपट्ट स्वास्थ्यकर्मीले मल्लिकको हात समातेर आकस्मिक कक्षको ढोकातिर लगे। बेड खाली थिएन। एक जना बिरामीले आफ्नो कुर्सी छाडिदिए मल्लिकका लागि। सायद मल्लिकको अवस्था उनले बुझे। मल्लिकको अक्सिजन लेबल ४६ प्रतिशत मात्र थियो। उनी लगातार खोकिरहेका थिए। उनको खोकीले अरू बिरामीको पनि ध्यान खिचिरहेको थियो।

ढिलो नगरी उनलाई अक्सिजन दिइयो। उनले राहत महसुस गरे। त्यसपछि म उनीबाट टाढिन खोजेँ। तर, उनले हातको इसाराले मलाई रोके। उनको नजिक पुगेँ। मसिनो र कमजोर आवाजमा उनले मलाई भने, ‘तपाईंलाई धन्यवाद! म बाँच्छु भन्ने आस जाग्यो। अहिले आराम भएको छ।’

म मौन रहेँ। तर उनी निको होउन् भन्ने मौन कामना गरेँ। हिँड्ने बेला मैले उनलाई भनेँ, ‘न आत्तिनुहोला। आफ्नो ख्याल गर्नुहोला।’ म बिदा भएर घरतिर जाँदै थिएँ। उनी फेरि बोले, ‘मलाई गाह्रो पर्‍यो भने तपाईंलाई फोन गर्छु है म्याडम।’ मैले उनलाई नाइँ भन्न कसरी सक्थेँ? उनले मेरो फोन नम्बर मागे। उनको पनि मैले लिएँ। यससँगै चिकित्सकद्वारा उनलाई जाँच्ने काम जारी थियो। यस्तो बेला चिकित्सकको ‘एटेनसन’ले धेरै अर्थ राख्छ। यसबारे सचेत देखिन्थे यहाँका चिकित्सक।

उनले अक्सिजन पाउँदै गर्दा रात छिप्पिँदै थियो। कार्यालयबाट काम सकेर घर फर्कंदै गर्दा टेकु अस्पतालतिर मोडिएको थिएँ म। पीपीईमा मैले असहज महसुस गरेको थिएँ। तर आफ्नो सुरक्षाका निम्ति मेरा लागि महत्वपूर्ण थियो। तर, बाटोभरि मेरो दिमागमा मल्लिक मात्रै छाए।

आसा र निराशा अनि शुभेच्छाका भावसाथ म घर पुगेँ। । घरमा चुपचाप रहनु र परिवारका सदस्यसँग देखा नर्पनु मेरो ‘रुटिन’ र बाध्यता दुवै बनेका छन्, कोरोना महामारी सुरु भएसँगै। कोरोनाको दोस्रो लहरमा पनि यसले निरन्तरता पाइरहेको छ। अर्थात् म परिवारका सदस्यबाट ‘आइसोलेटेड’ छु।

त्यसदिन म स्टोरीका पात्र खोज्दै अस्पताल पुगेको थिएँ। तर खै किन हो मल्लिकलाई शव्दमा उतार्ने जाँगर लागेन। मैले घटना क्रमको चित्रण र शब्दहरूलाई व्यवस्थित रूपमा दिमागमा ल्याउन सकिनँ। अस्पतालमै छरपस्ट भएका हृदयविदारक दृश्य मात्रै आँखाअगाडि आइरहे।वास्तवमा ती दृश्यले राज्यको कमजोर संयन्त्र उदांगो पारेको थियो। मल्लिक टाढिन सकेनन् मसँग। मनले मानेन।

उनलाई फोन हानेँ, कस्तो छ भनेर सोध्न। तर उनको फोन उठेन। मन चिसो भयो। सोचै सोचमा सायद बिहानपख निदाएँ। करिब ६ बजे ट्रमा सेन्टरमा उपचारार्थ एक संक्रमितका आफन्तको फोनले मेरो आँखा खुल्यो। उनी आत्तिएर भन्दै थिइन्, ‘यहाँ अक्सिजन सकियो। सबै बिरामीको बिजोग छ, केही त मरिसके। तपाईं आउनु न प्लिज।’

वास्तवमा उनले रिपोर्टिङभन्दा मेरो उपस्थितिले अक्सिजन पाइने अपेक्षा गरेकी थिइन्। म हत्तनपत्त झोला बोकेर ट्रमातिर लागेँ। ट्रमामा पुग्दा अपत्यारिला दृश्य देखिए। कोरोना उपचार सुरु गरेको चार दिनमै सेन्टरमा अक्सिजन खत्तम थियो। सरकारी अस्पतालमा अक्सिजनको थोरै मात्रै ‘ब्याकप’ थियो। चिकित्सक र नर्सहरू आफैँ अक्सिजनका सिलिन्डर बोक्दै थिए, बिरामीको रुवाबासीका बीच।

अक्सिजन अभावका कारण आफ्ना ‘नमरुन्’ भन्ने चिन्ताका साथ उनीहरू युद्धमा झैँ दौडिरहेका थिए। अक्सिजनको जोहो उनीहरूका लागि सबैभन्दा महत्वपूर्ण थियो। यता, म वास्तवमा दुवै काम गर्दै थिएँ। मलाई बिरामीको ज्यान धरापमा परेकोबारे रिपोर्टिङ गर्नु थियो। र, मलाई फोन गर्ने बिरामीका आफन्तलाई अक्सिजनको खोजी पनि।

लगातारको  भनसुनपछि उनका लागि एक सिलिन्डर अक्जिन जुटाएँ। थोरै राहत भयो। यसो गर्दागर्दै बिहानको ११ बजेको पत्तो भएन। त्यसपछि पनि म रिपोर्टिङमै केन्द्रित थिएँ।

त्यहीबेला मल्लिकको नम्बरबाट फोन आयो।तर फोनमा मल्लिक हैन, कुनै महिला थिइन्। सिस्टरले हतारहतार भनिन्, ‘तपाईं राजेन्द्र मल्लिकको मान्छे हो?’ हो भनौँ या होइन? द्विविधामा परेँ। मैले अघिल्लो दिनको मल्लिक र मेरो भेटबारे सिस्टरलाई सविस्तार बताएँ। उनले भनिन्, ‘उहाँको अवस्था गम्भीर छ। उहाँलाई भेन्टिलेटर चाहिन्छ। हामीसँग भएका भेन्टिलेटर प्याक छन्। तपाईँले पनि भेन्टिलेटर खोज्ने कोसिस गर्दिनु न है।’

त्यसपछि म ट्रमा सेन्टरमा अडिनँ सकिनँ। सिस्टरको कुराले झस्किएँ। तर मल्लिक जति नै निरीह थिएँ म । मेरो जानकारीमा राजधानीका कुनै पनि अस्पतालमा भेन्टिलेटर खाली थिएन। यो पत्रकारहरूको नियमित रिपोर्टिङ र जानकारीको विषय बनेको छ अहिले। एउटा मर्दा अर्को भेन्टिलेटरमा पुग्ने अवस्था छ। ट्रमा सेन्टरबाट निस्केर झिनो आसमा अस्पतालमा फोन घुमाएँ, मल्लिकका लागि भेन्टिलेटर जुट्छ कि भनेर।

अस्पतालहरूका प्रतिक्रियाले मलाई झन् निरास बनायो। आक्रोशित पनि भएँ म। त्यति नै बेला अस्पतालका डा. अनुप बास्तोलाको फोन आयो। उनले सुरुमै माफी मागे, ‘मल्लिकलाई हामीलाई बचाउन सकेनौँ। उहाँलाई जे आवश्यक थियो त्यो म्यानेज हुन सकेन।’

डा. अनुपको कुरा सुनेपछि म स्तब्ध भएँ। टेकुतिर लम्किएँ। उनको हेरबिचार गरेका स्वास्थ्यकर्मीलाई भेटेँ। उनीहरूका अनुसार मल्लिक सिकिस्त अवस्थामा अस्पताल आइपुगेका थिए।

डा. अनुपले उनलाई बचाउन कोसिस नगरेका होइनन्। त्यसैदिन राति उनलाई कुर्सीमा बस्न गाह्रो भएपछि वार्डमा भुइँमा म्याट राखेर भए पनि उनको उपचार गरिरहेको थियो। तर, उनका लागि भेन्टिलेटर जुटाउन चिकित्सक असमर्थ थिए। अनि  उनका लागि भेन्टिलेटर खोजिदिने अरु कोही थिएन।

यता मल्लिकको मृत्युपछि उनका आफन्तलाई ‘ट्रेस’ गर्न सहज थिएन। एउटा कुनामा मल्लिकको शव थन्कियो। तर, त्यसयता अस्पतालमा कहिले पाँच, कहिले चार, कहिले तीन वटा शव निकालिए। अस्पतालमा शव राख्ने ठाउँ (मर्चरी)छैन। बिरामीकै अघिल्तिरबाट सेनाको गाडीमा शव राखिदिन अस्पतालका कर्मचारी मात्रै होइन मृतकका आफन्त पनि बाध्य छन्।

अस्पताल हरेक दिन मेरो रिपोर्टिङको नियमित गन्तव्य रह्यो, छ। राजनीतिमा भइरहेका उछलकुदमा भन्दा अचेल मलाई अस्पतालले मोडिरहेका छन्। तर, टेकु पुगेपछि मल्लिक मेरो दिमाग र आँखाबाट ओझल हुन सकेका छैनन्। चिनजानेका स्वास्थ्यकर्मी र चिकित्सकले भेट्नेबित्तिकै मलाई सुनाउँथे मल्लिकको ‘बडी’ अहिलेसम्म यहीँ छ। किन? उनका मान्छे आएका छैनन्।

आफ्ना मान्छेको सहमति बिना सेनाले शव लैजाँदैन व्यवस्थापनका लागि। त्यसमाथि उनी विदेशी हुन्। मल्लिकको मृत्यु भएको पाँच दिनपछि मात्रै उनको शव सेनाले व्यवस्थापनका लागि लग्यो, भारतीय दूतावासको लिखित आग्रहपछि।

अस्पतालले स्वास्थ्य मन्त्रालयलाई पत्र लेख्यो। स्वास्थ्यले परराष्ट्र मन्त्रालयलाई। परराष्ट्रले भारतीय दूतावासलाई। मल्लिक बाँच्न सकेनन्। तर, अन्तिममा सम्मानजनक अन्येष्टि पाए नेपाली सेनाद्वारा। २६ वर्षको नेपाल बसाइपछि यहीँको माटोमा उनको पञ्चभौतिक जीवन विसर्जन भयो। अर्थात् उनको आफ्नो कर्मथलोमा सम्मानजनक अन्त्येष्टि भयो।

यता मल्लिकको शव सेनाले भ्यानमा राखेका दिन मैले अक्सिजन खोजिदिएकी बिरामीकी आफन्तको फोन आयो -मेरो मान्छेलाई भेन्टिलेटर पाइएन। बचाउन सकिन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?