कोरोनाले ससुरा र जेठाजु बिते, पतिका लागि ‘बेड’बाटै ‘भेन्टिलेटर’ खोज्दै संक्रमित महिला

कोरोनाले ससुरा र जेठाजु बिते, पतिका लागि ‘बेड’बाटै ‘भेन्टिलेटर’ खोज्दै संक्रमित महिला
+
-

काठमाडौँ-  ६ वर्ष अघि भुकम्पले घर भत्कायो। मर्मत गर्न नपाउँदा चन्द्रागिरी चारका ७० वर्षीय श्यामकाजी श्रेष्ठमा एक किसिमले पछुतो थियो। भत्किएको घर हेरेर टोलाउँथे उनी, बेलाबेला।

तर आडैमा तत्कालै टहरो बनाएर परिवारलाई राख्न पाएकोमा उनी खुसी पनि थिए। कमसेकम ओत लाग्ने ठाउँ त बन्यो! टहरोमा सिमित उनका परिवारका सदस्यहरु सन्तुष्ट नै थिए। उनीहरु स्वस्थ थिए।

तर त्यो सीमित खुसी पनि लामो टिकेन।

भत्किएको घर पुनः ठडाउनु भन्दा पहिल्यै श्रेष्ठका ४५ वर्षीय जेठा छोरा सुन्दरलाई कोरोनाले छोयो। कामकाजी उनलाई कोरोनाले कसरी छोयो? पत्तो पाएनन्।

श्रेष्ठकै जोडबलमा सुन्दरलाई गत वैशाख १६ गते महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरियो। सुन्दरले बुवालाई भनेका थिए,‘म निको हुन्छु। तपाईँ चिन्ता नगर्नुहोस् है।’ तर सुन्दर अस्पतालमा भर्ना भएको पाँच दिनमै अस्ताए।’ अर्थात बुवालाई दिएको बचन उनले पुरा गर्न सकेनन्।

जेठो छोरा गुमे लगत्तै ३५ वर्षीय कान्छो छोरा मंगल संक्रमणबाट सिकिस्त बने। अस्पतालमा दाइको स्याहारसुसार उनको अनिवार्य दायित्व थियो। दिलोज्यान लगाएर अरुले रोक्दा पनि दाइको हेरविचार गरिराखे उनले। तर सुन्दरको काजकिरियाबाट परिवार उठ्न नपाउँदै मंगल सिकिस्त बने।

वैशाख २८ गते उनी टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको शरणमा पुगे। आकस्मिक कक्षको ढोका अघि दुई दिन भूईँमै बसेर अक्सिजन लिए।
बेड अभावका कारण परिसरको टिनको टहरामा थपिएका बेडमध्ये एउटा मंगलका लागि छुट्टयाइयो।

तर मंगलको स्याहारसुसार गर्दागर्दै उनकी पत्नी अरुणा पनि संक्रमित भइन्। मंगल तंग्रिने आसमा रहेकी अरुणा आफै संक्रमित भएपछि एकाएक गल्न थालिन्। चिकित्सकहरुले मंगलको आडैमा अरुणाका लागि पनि ‘बेड’ को व्यवस्था गरे।

एकअर्कालाई हेरे सान्त्वना र भरोसा दिँदै थिए मंगल र अरुणा। घरबाट खाना ल्याउने कोही भएन। अस्पताल अघि सञ्चालित होटलहरुमा निर्भरता बढ्यो उनीहरुको।

उता छोराबुहारीको अवस्थामा चिन्तित श्यामकाजीलाई घरमा असहज महशुस हुन थाल्यो। खाना रुचेन। उनको कोरोना जाँच गर्ने मौकै मिलेको थिएन। मंगलबार रातिबाट उनलाई सास फेर्न गाह्रो भयो। आफन्तको सहयोगमा उनलाई पनि मंगल र अरुणा भर्ना भएकै अस्पताल ल्याइयो, बुधबार बिहान।

श्यामकाजीको अक्सिजनको लेवल ४४ थियो। निमोनिया भइसकेको थियो। उनलाई तत्काल भेन्टिलेटर आवश्यक थियो। त्यो जुटाउन अस्पताल असमर्थ थियो। छोराबुहारी अस्पतालका बेडमा थिए। कसले खोज्ने भेन्टिलेटर? खोजेर पनि पाइने अवस्था थिएन। अस्पताल आएको एक घण्टापछि श्यामकाजीले अन्तिम सास फेरे।

बिहीबार बिहान टेकु पुग्दा उनको शव अलपत्र थियो। करिव २४ घण्टा यता। पानीले निथ्रुक्क भिजेको थियो। शवलाई छेको पारेर भित्रबाहिर आउजाउ गरिरहेका संक्रमित र उनीहरुका आफन्तका आआफ्नै विश्लेषण थिए। कोही ‘बिचरा’ भन्दै हिँडे। ‘संक्रमितको शव पनि यसरी बेबारिसे बनाउन मिल्छ अस्पतालले?’ केही आक्रोशित आवाजहरु पनि थिए।

त्यही बेला सिन्धुली घर भएका एक पुरुषको शव लिन सेना आइपुग्यो। आईसियुमा उपचार गर्दागर्दै उनको मृत्यु भएको थियो।

मृतकका आफन्त भएकाले उनको शव लैजान सेनालाई समय लागेन।

तर श्यामकाजीका आफन्त आफै सामर्थ्यहीन थिए। सेना अस्पतालबाट निस्किसकेपछि अरुणा हस्याङफस्याङ गर्दै श्यामकाजीको पिसीआर रिपोर्ट देखाउन चिकित्सकसमक्ष आइपुगिन्।

श्यामकाजीको रिपोर्ट ‘पोजेटिभ’ थियो। तर सेना हिँडिसकेको थियो। निराश हुँदै आफ्नै बेडमा पुगिन अरुणा। मंगललाई थमथमाइन्। यता श्यामकाजीको शव उठाउनका लागि सेनालाई सम्पर्क गर्ने अस्पतालको प्रयाज जारी थियो।

अक्सिजनमै रहेका मंगलले अरुणासँग आँसु झार्दै गुनासो पोखे, ‘कम्तिमा लास उठाइदिएको भए हुन्थ्यो। हिजोदेखि अलपत्र छ।’

अरुणालाई बाँचेकाको पनि चिन्ता छ,‘ घरमा जेठाजुका छोराछोरी पनि बिरामी छन्। उनीहरुलाई कसले जाँच्ने?’

मंगललाई हेरिरहेका एक चिकित्सकले भने, ‘उहाँलाई हिजोसम्म राम्रै थियो। तर बुवा बितेपछि उहाँ एकदमै नर्भस हुनु भएको छ। अक्सिजनको लेवल घटिरहेको छ। कुनै पनि बेला भेन्टिलेटर चाहिन्छ।’

तर ‘भेन्टिलेटर फुल’ अर्थात पूर्ण अभाव अस्पतालको वास्तविकता हो। मंगल र अरुणा शितिल बन्दै गएका छन्। आफ्ना लागि आफै भेन्टिलेटर खोज्नु पर्ने कस्तो विडम्बना?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?