काठमाडौँ- राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ को उपधारा ५ अनुसार शेरबहादुर देउवा र केपी शर्मा ओली दुबैले नयाँ सरकारको दाबी गर्न नसकेको दलिल पेश गरेको छ।
राष्ट्रपति कार्यालयले शुक्रबार बेर जारी गरेको विज्ञप्तीमा प्रधानमन्त्रीका दाबेदार ओली र देउवा दुवैले आधार प्रस्तुत गर्न नसकेको उल्लेख छ।
संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठन हुन नसकेको विज्ञप्तिमा जनाइएको छ।
ओलीले ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था भएकोमा राष्ट्रपति भण्डारीले मौजुदा सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको भन्दै संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठन गर्न दलहरुलाई आव्हान गरेकी थिइन्।
उनले तोकेको समयसीमा शुक्रबार पाँच बजेभित्र विपक्षी नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र एमालेकै माधवकुमार नेपाल पक्षगरी १४९ जना सांसदहरुको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि राष्ट्रपति भण्डारीसमक्ष दाबी पेश गरिएको थियो।
तर सोही समयमा ओलीले आफ्ना पार्टी र जसपाका सबै सांसदहरुसहित १५३ जनाको हस्ताक्षर राष्ट्रपति समक्ष त्यसअघि नै बुझाएको उनी पक्षधर नेताहरुले दाबी गरेका थिए।
त्यसैका आधारमा राष्ट्रपति कार्यालयले ओली र देउवा दुबैले प्रधानमन्त्री पदका लागि गरेको दाबी खारेज गरिदिएको छ।
तर ओलीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आफूले बहुमत पुर्याउन नसकेका कारण नयाँ सरकार गठनका लागि बाटो खोलेको र बहुमत जुटाएर सरकार निर्माण गरेमा आफूले प्रतिपक्षका रुपमा रचनात्मक भूमिका खेल्ने दाबीसमेत गरेका थिए।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ती यस्तो छ।


