
काठमाडौँ – कोभिड १९ को संक्रमण बढ्दै गएको अवस्थामा सोको रोकथाम र नियन्त्रणका लागि शारदा ग्रुपले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगका कार्य गर्दै आएको छ।
यसले दुहबी नगरपालिकाअन्तर्गत ३० बेडको आइसोलेसन सेन्टर र १५ बेडको आईसीयू भएको कोभिड अस्पताल सञ्चालनका लागि सम्पूर्ण बिरामीका लागि निःशुल्क अक्सिजन र औषधि उपलब्ध गराउने जिम्मेवारी लिएको छ।
यसका साथै बिरामीको लागि निःशुल्क प्याकेट फुड र बिरामी कुरुवाका लागि भोजनको समेत व्यवस्था गरेको छ।
नेपाल उद्योग परिसंघमार्फत अक्सिजन प्लान्ट सञ्चालनका लागि सहयोग गर्नुका साथै माडवारी सेवा समितिअन्र्तगत गौशालामा रहेको ५१ बेडको आइसोलेसन सेन्टर सञ्चालनका लागि ४ लाख नगदका साथै बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराइरहेको छ।
त्यस्तै, लाहान नगरपालिकामा भर्खरै बनेको २५ बेडको आइसोलेसन सेन्टरलाई निःशुल्क औषधि अक्सिजन उपलब्ध गराउने पूर्णरूपमा जिम्मेवारी लिएको छ।
साथै, कोभिडका बिरामी र कुरुवाका लागि निःशुल्क भोजन उपलब्ध गराउन पहल गरिरहेको यस ग्रुपले जनाएको छ।
यस ग्रुपको समेत लगानी रहेको शिवम् सिमेन्ट र होङ्सी शिवम् सिमेन्ट कम्पनीले समेत व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न काम गरिरहेको छ।
होङ्सी शिवम् सिमेन्टले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २ सय थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ भने शिवम् सिमेन्टले मकवानपुरमा रहेको अस्पतालमा आइसीइयू र आइसोलेसनसहितको कोभिड सेन्टरका लागि ३५ थान बेड र बिरामीका लागि निःशुल्क अक्सिजन र औषधि उपलब्ध गराइरहेको छ।