
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमका विरुद्ध विपक्षी गठबन्धनले सम्भवतः आइतबार या सोमबार सर्वाेच्च अदालतमा रिट दायर गर्ने भएका छन्। त्यसका लागि आइतबार ११ बजे संसद् भवनको ल्होच्छे हलमा विपक्षी गठबन्धनका सांसदहरू भेला हुँदै छन्।
उक्त भेलामा वकिलहरूले तयार पारेको प्रारम्भिक रिटबारे छलफल हुनेछ। साथै, रिट निवेदनमा हस्ताक्षरसमेत संकलन गरिनेछ।
गठबन्धनका शीर्ष नेताहरूका अनुसार सम्भवतः १४९ जना सांसदको हस्ताक्षर संकलन गरिनेछ तर मुलुकमा निषेधाज्ञा जारी रहेको अवस्थामा केही सांसद उपत्यकाबाहिर पनि रहेको र खासगरी एमाले माधवकुमार नेपाल पक्षका केही सांसदले हस्ताक्षर नगर्ने सम्भावना पनि छ।
रिट लेखन र हस्ताक्षर संकलन कार्य भोलि नसकिएमा पर्सिसम्म भए पनि उनीहरूले सर्वाेच्च जाने तयारी गरेका हुन्।
केपी ओलीको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बिहान पौने २ बजे संसद् भंग गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि चुनावको घोषणा गरेकी थिइन्। त्यसको तत्काल विरोधमा उत्रिएको गठबन्धनमा विपक्ष नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चा सहभागी छन्।