
बुटवल-‘मृत्युमार्ग’का नामले बदनाम रहेको बुटवल-तानसेन सडकखण्डको सिद्धबाबा क्षेत्रमा सुरुङ बनाउन टेण्डर आह्वान भएको छ।
लामो समयदेखि चर्चामा रहेको सुरुङमार्गका लागि आइतबार सडक विभागले ग्लोबल टेण्डर आह्वान गरेको हो।
सडक विभागका प्रवक्ता ई. शिवप्रसाद नेपालले सुरुङमार्ग निर्माण प्रक्रियामा प्रवेश गरेको बताउँदै असार २३ गते दिउँसो १२ बजेभित्रै योग्य निर्माण कम्पनीहरुलाई बोलपत्र आह्वान गरिएको जानकारी दिए।
उनका अनुसार एउटा डबल लेनको हाइवे टनेल, रक शेड संरचना, रक फल मिटिगेशन र सुरुङमार्गको सडक निर्माणका लागि ग्लोबल टेण्डर आह्वान भएको हो।
सुरुङमार्ग निर्माणका लागि सरकारले यसअघि स्वीस सरकारको सहयोगमा सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरिसकेको छ भने अर्थमन्त्रालयले अघिल्लो वर्ष नै १० अर्ब १५ करोड रुपैयाँ बजेट सुनिश्चित गरिसकेको छ।
सुरुङमार्गको लागि रुपन्देहीबाट पटकपटक निर्वाचित सांसद तथा हालका अर्थमन्त्री विष्णु पौडेलले लामो समयदेखि पहल गर्दै आएका थिए। उनले अर्थमन्त्री भएपश्चात् रुपन्देही आउँदा सुरुङमार्गको काम आफ्नै कार्यकालमा अघि बढाउने विश्वास दिलाएका थिए।
सिद्धबाबामा खसिरहने पहिरोबाट हुने जनधनको क्षति रोक्न यो आयोजना महत्वपूर्ण रहने नेता पौडेलको भनाइ छ।
स्वीस कम्पनीले गरेको अध्ययनअनुसार १ किलोमिटर १२६ मिटरको सुरुङ हुनेछ। सुरुङमार्गको सुरु हुनुभन्दा अगाडि र पछाडि ३ हजार ५ सय मिटरको रकनेट हुनेछ।
यो सडक खण्ड प्रयोग गरेर गुल्मी, पाल्पा अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ, हुँदै बेनीसम्म गाडी चल्ने गर्छन्। हिउँद या वर्षायाममा झर्ने चट्टानसहितको पहिरोका कारण कैयौं यात्रुको अकालमै मृत्यु हुने गरेको छ।