सुरुमा ओलीविरुद्ध चम्किएका यी नेताहरुले निर्णायक मोडमा किन कमाए खुट्टा?

सुरुमा ओलीविरुद्ध चम्किएका यी नेताहरुले निर्णायक मोडमा किन कमाए खुट्टा?
+
-

काठमाडौँ- नेकपा एमालेभित्रको युद्ध वारपारको चरणमा प्रवेश गरेको छ। तर केही वरिष्ठ र प्रभावशाली पात्रहरुले झगडा मच्चिने क्रममा महत्वपूर्ण भूमिका खेलेतापनि अहिले या त तटस्थ या पक्ष बदलेका छन्। हिजो विद्रोहको आवाज बोल्ने केही नेता ओलीको सत्ता रहने देखेपछि त्यतै झुकेका छन्।

बामदेव गौतम नेकपामा रहँदा प्राय अध्यक्ष केपी शर्मा ओली विरोधी खेमामा उभिए। ओलीविरुद्ध सचिवालयमा मोर्चा निर्माणमा उनी खुलेरै लागे करिब दुई वर्ष। तर निर्णायक मोडहरुमा उनी ओलीसँग मोलतोल गरी केही पछि हटे।

खासगरी राष्ट्रीय सभाको सदस्यताको लोभले उनको प्रभावशाली व्यक्तित्व झण्डै ओझेलमा परेको छ। आफू एकताको पक्षमा रहेकाले कतैतिर नलाग्ने तर पार्टी टुक्रिएमा अन्तमा ओली विरोधी पक्षमा लाग्ने उनको अन्तिम अभिव्यक्ति थियो। अहिले गौतम अदृश्य जस्तै छन्।

वैशाख ७ मा ओलीले डोकेको र नेपाल पक्ष अनुपस्थित बैठकमा पुगेका गौतमले ओलीले राजीनामा दिनुपर्थ्यो सम्म भन्न भ्याएका थिए। तर तीन दिनपछि उनले ओलीसँगै डिनर खाएको फोटो सार्वजनिक भयो। राति नै ओली पक्षका नेताहरुले गौतमले ओलीलाई समर्थन गरेको दाबी गरे। तर बिहान गौतमले भने, ‘ओलीसँग कुनै सहमति भएको छैन। मेरो अडान यथावत छ। संसद विघटनको विरोधमै छु।’

तर कसको पक्षमा छन् त गौतम? खुलाएका छैनन् अझै।

ओलीले नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यमासमेत नरहने गरी निस्कासन गरिसकेका छन्। प्रधामन्त्री पदमा ओलीको साटो शेरबहादुर देउवालाई समर्थन गर्नुका साथै अर्को दल बनाउने नेपाल पक्षको तयारी सार्वजनिक भइसकेको छ। बुधबार नेपाल पक्षका थप १२ जनालाई स्पष्टीकरण सोधिएको छ। गौतम अझै पनि चुपचाप छन्। गौतम के चाहन्छन्? स्पष्ट छैन। तर पार्टी खोल्ने समर्थन उनीसँग नहुँदा दुईमध्ये एकतिर लाग्नु या राजनीतिक सन्यास लिनुमा उनको विकल्प साँघुरिएको छ।

गौतमजस्तै आधा दर्जन सांसदहरु छन् जो अनिर्णित देखिन्छन्। योगेश भट्टराई, गोकर्ण विष्ट, पवित्रा निरौला, गणेश पहाडी, जयकुमार राईलगायतको ‘अन्तिम थलो’ कुन पक्ष होला? अनुमानको विषय बनेको छ।

ओलीले पुस ५ मा संसद विघटन गरेपछि त्यसको विरोध हुँदा नेता नेपालसहित त्यसबेलाका अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरुको भीड ठूलौ हुन्थ्यो। त्यही भीडमा दिनहुँ भेटिन्थे सांसद कृष्णभक्त पोखरेल। अचानक ओलीले बोलाएको संसदीय दलको बैठकमा देखिए पोखरेल, चैत्र ७ गते।

तपाईँ अचानक किन बालुवाटार? जबाफमा व्यक्तिगतभन्दा पनि राजनीतिक कारण देखाएका थिए उनले। उनले भनेका थिए, ‘म संसद विघटनको विरुद्धमा थिएँ। संसद ब्यूँताउन मजस्तै अरु साथीहरु एकै ठाउँमा उभियौँ। संसद पुनःस्थापना भयो। तर नेकपा भंग भयो। आफूलाई टिकट दिने पार्टीमा फर्कनु पर्ने मेरो कर्तव्य हो। यसमा यो पक्ष वा त्यो पक्ष भन्न कसरी मिल्छ?’

संसद विघटनलगायत ओलीका निर्णयविरुद्ध नेपालसँगै सडक आन्दोलनमा उत्रिएका र कार्यक्रमहरुको प्रचारप्रसारमा खटिएका विष्णु रिजाल पनि अन्ततः ओली खेमामै फर्किए। ओलीका फागुन २८ का निर्णयहरु खारेजीको मागसहित चैत्र ४ र ५ गते आयोजित भेलामा सक्रिय रिजाल त्यसको एक महिनापछि वैशाख ६ गते ओलीले बोलाएको दशौँ महाधिवेशन आयोजक कमिटी बैठकमा सामेल भए। ‘मास्क’मा धेरैले उनलाई चिनेनन्। तर उनी रिजाल नै थिए। त्यसअघि उनका लेख र सामाजिक सञ्जालका अभिव्यक्तिबाट पनि नेपाल खेमाभन्दा ओलीको समर्थनमा उनी रहेको देखिन्थ्यो। अर्थात पृष्ठभूमि बनाउँदै थिए उनले। अहिले ओलीविरुद्धका टिप्पणी उनीविरुद्ध व्यंग्यवाण बनेपनि प्रखर रुपमा उनले ओलीको वकालत गरिरहेका छन्, नेपाललाई छोडेर।

सत्ता टिकाउन सफल ओलीतिर लाग्ने संकेत अन्य केही नेताहरुबाट पनि मिलिसकेको छ। लामो समय नेपाल खेमामै रहेका र ओलीको चर्को विरोधी भनेर चिनिएका सांसद योगेश भट्टराई देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि गरिएको हस्ताक्षरबाट उम्किए।

वैशाख ७ गते ओलीले फेरि संसद विघटन गर्न लागेको संकेत पाएपछि नेपालसहित २६ जना सांसदहरुले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए। तर भट्टराईले पार्टी जोगाउन हस्ताक्षर नगरेको दाबी गरेपनि अब पार्टी एक हुने सम्भावना देखिँदैन। कित्ताकाँटको यो चरणमा मौन रहेर उनले अन्ततः ओलीलाई नै रोज्ने देखिन्छ। सांसद जीवनकुमार राईले आफ्नो हस्ताक्षरको दुरुपयोग गरेको आरोप नेपाल पक्षतिर लगाउँदै विज्ञप्ति जारी गरे।

त्यस्तै पहिले देउवालाई प्रधानमन्त्री बनाउन राजी भएर हस्ताक्षर गरेका नेताहरु गोकर्ण विष्ट, पवित्रा निरौला, गणेश पहाडी लगायत सांसदहरुले संसद विघटनविरुद्ध र देउवालाई प्रधानमन्त्री बनाउन दायर रिटमा हस्ताक्षर गरेनन्। यी नेताहरुले आफूहरु पार्टी एकताको पक्षमा भएकाले विपक्षीलाई साथ नदिएको दाबी गरेका छन्।

तर विष्टसहितका नेताहरुको एमाले एकताको प्रयास खेर गएको छ। उनी संलग्न कार्यदल निष्कृय छ। यसो त उनीहरुले पार्टी एकता प्रयास जोगाउन ओलीले संसदमा विश्वासको मत लिनु पहिल्यै राजीनामा दिन नहुने अडान राखेका थिए। विष्ट, भट्टराई लगायत नेताहरुले एकता प्रयासलाई अझै जारी राख्नुपर्ने भन्ने अडानका कारण नेपाल पक्षको सामूहिक राजीनामा रोकिएको थियो, ओलीले विश्वासको मत लिने दिन। त्यसले ओलीलाई आफ्नो शर्तमा संसद विघटन गर्न तथा राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग प्रस्तावबाट बचाउनका लागि अनुकूल वातावरण बनाउन मद्दत पुर्‍यायो। पार्टी एकताको वातावरण र मुहुर्त टरिसकेको देखिन्छ।

ओलीलाई साथ दिएका र द्विविधामै रहेका नेताहरुलाई लक्षित गर्दै नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले भने, ‘अडान जे लिए पनि नेताहरुलाई सत्ता र शक्ति प्यारो लाग्ने रहेछ। ओली सरकार ढल्छ भन्ने निश्चित जस्तै थियो। उनीहरु ओलीको विरुद्धमा उत्रिए। तर ओलीले अनेक जालझेल गररे सत्ता बचाएपछि उनीहरु फेरि फर्किएका छन्।’

ती सदस्यका अनुसार नेताहरुले निर्णायक मोडमा खुटा कमाउनु राजनीतिक गद्दारी हो। लामो समय एउटा खेमामा रहने, रणनीति बनाउने अनि अन्तिममा निर्णयबाट पछि हट्नुले नेताहरु विश्वसनीय छैनन् भन्ने सन्देश जनतासमक्ष गएको ती सदस्यको भनाइ छ। यता सर्वोच्चले ओलीको पक्ष या विपक्षमा फैसला दिएको अवस्थामा पराजित पक्षमा सामान्य नै भएपनि पहिरो जाने अनुमान दुवै पक्षमा देखिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?