
काठमाडौँ – मुलुकमा कोरोनाविरुद्धको खोपबाट नागरिक बञ्चित हुनुपर्ने अवस्था कायमै रहेका बेला चीनले नेपाललाई अनुदानमा १० लाख डोज खोप दिने भएको छ।
चिनियाँ राष्ट्रपति सीजीङपीले बेजिङमा बुधबार यस्तो घोषणा गरेको नेपालस्थित चिनियाँ राजदूत हाउ याङ्छीले सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गरेकी छन्।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सीसँग पौने एक घण्टा टेलिफोन संवाद गरेकी थिइन्। संवादका क्रममा चीनसँग खोप खरिद गर्न चाहेको र त्यसमा सहयोग गर्न अनुरोध गरेकी थिइन्।
उनले संवादका क्रममा चीनसँग खोप खरिद गर्न चाहेको र त्यसमा सहयोग गर्न राष्ट्रपति सीलाई अनुरोध गरेको भण्डारीका प्रेस विज्ञ टिका ढकालले जानकारी दिए।
यसअघि मंगलबार राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र पठाउँदै नेपालले सिरम इस्टिच्युटबाट खरीदका लागि रकम भुक्तानी गरिसकेको पृष्ठभूमिबारे जानकारी दिँदै खोप उपलब्धताका लागि सहजिकरण गरिदिन अनुरोध गरेकी थिइन्।
नेपालले २० लाख डोजका लागि उक्त इस्टिच्यूटलाई रकम दिइसकेको छ।