
काठमाडौँ – अक्स्फोर्ड प्रोफेसर एन्ड्री जे.पोलार्डले नेपालमा कोरोनाविरुद्धको खोप उपलब्धतामा भएको ढिलाइले आफू दुःखी भएको लेखे, नेपाली टाइम्समा, शुक्रबार। अक्स्फोर्ड भ्याक्सिन ग्रुपका निर्देशकसमेत रहेका उनले भनेका छन्, ‘अस्ट्राजेनेक भ्याक्सिनको पहिलो डोज काठमाडौँमा ल्याएको देख्दा मलाई अति गर्व लागेको थियो। तर, त्यसको थप आपूर्ति नभएको सुन्दा दुःखी छु।’
सन् २०२० को अप्रिल २३ बाट सुरु भएको अस्ट्राजेनेका खोपको क्लिनिकल ट्रायलको उनले नेतृत्व गरेका थिए।
प्रोफेसर एन्ड्रीको यो अभिव्यक्ति भारतले सम्झौताअनुसार नेपाललाई १० लाख डोज कोभिसिल्ड खोप दिन ढिलाइ गरेकोप्रति लक्षित थियो।
नेपालले २० लाख खोप खरिदका लागि पैसा भुक्तानी गरेकामा उत्पादनकर्ता सिरम इन्स्टिच्युटले आधा मात्रै डोज उपलब्ध गराएको छ। र, त्यसको आपूर्ति अनिश्चित बनेको छ।
यसको आधिकारिकता बेलायतको औषधि उत्पादक कम्पनी एस्ट्राजेनेकासँग छ।
नेपालमा कोभिसिल्डको पहिलो ‘डोज’ दिएकाहरू दोस्रो खोपबाट वञ्चित हुने डरमा छन्। त्यसअघि भारतले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप पत्रकारसहित कोरोना नियन्त्रण र उपचारमा खटिएका ‘फ्रन्टलाइनर’लाई दिइएको थियो।
त्यसका अतिरिक्त ४० लाख डोज खरिदका लागि सुरु भएको प्रक्रिया दलाल र सरकारी उच्चपदस्थबीचको कमिसनको खेलले रोकिएको छ।
त्यससँगै आफूले पैसा भुक्तानी गरिसकेको खोप उपलब्ध गराउनका लागि भारतलाई नेपाल सरकारले मनाउन सकेको छैन।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका प्रमुख डा. भीमसिंह टिंकरीले पछिल्लो पटक वैशाख २२ गते नेपालले उक्त खोपका लागि लोकल सप्लायर्स हुकाम डिस्ट्रब्युर्टस् प्रालिमार्फत पत्राचार गरेको छ।
विभाग र मन्त्रालयस्तरीय पहलले मात्रै भारतले खोप दिने संकेत नमिलेपछि पछिल्लो पटक उच्चतम कूटनीतिक पहल पनि सुरु भएको छ। मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गर्दै पत्र लेखिन भने बिहीबार दिल्लीमा राजदूत नीलाम्बर आचार्यले सत्ताधारी भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेसँग फेरि आग्रह दोहोर्याए।
बरु नेपालले सुरुमा बेवास्ता गरेको चीनले अनुदानमा भए पनि थप १० लाख डोज भेरोसिल खोप उपलब्ध गराउने घोषणा गरेको छ, बिहीबार राष्ट्रपति सी जीन पीङकै तहबाट। तर, अन्य मुलुकसँग खोप सम्झौता धमाधम गर्न थालेको चीनसँग नेपालले खोप खरिद प्रक्रिया अघि बढाउन सकेको छैन।
चीन त्यस अर्थमा नेपालको तल्लो प्राथमिकतामा परेको देखिन्छ।
बिहीबार मात्रै ढाकाबाट प्रकाशित द ढेली स्टार न्युजले लेखेको छ ‘बंगलादेशलाई चीनले डेढ करोड डोज खोप उपलब्ध गराउने निर्णय गरेको छ।’
अर्थात् चीनले आफ्नै पहलमा नेपाललाई सहयोगस्वरुप दिएको भन्दा चीनले १५ गुणा बढी खोप बंगलादेशलाई उपलब्ध गराउने भएको छ।
राष्ट्रपति सीले बिहीबार नेपाललगायत अन्य तीन मुलुकका राष्ट्रपतिहरूसँग वार्ता गरी महामारीविरुद्धको युद्धमा सहयोग दिने आश्वासनसँगै नेपाललाई तत्काल १० लाख डोज खोप उपलब्ध गराउने आश्वासन राष्ट्रपति भण्डारीलाई दिएका थिए।
बिहीबार नै भएको चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूसँगको भर्चुअल बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले चिनियाँ पक्षसँग खोप उपलब्ध गराउन आग्रह गरेका थिए।
सुरुमा भारतले नेपाललाई आवश्यक सबै खोप उपलब्ध गराउनेमा ढुक्क देखिएका स्वास्थ्यमन्त्री र स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले चीन र रुसले दिन चाहेको खोपलाई बेवास्ता गरे। अहिले यिनै मुलुकसँग उनीहरूले हारगुहार गर्नुपर्ने अवस्था आएको छ।
तर, सरकारी प्रक्रियालाई नेपालले सुस्तरूपमा मात्र अघि बढाएको देखिन्छ, चीनसँगको खरिदमा।
सुरुमा भारतले नेपाललाई आवश्यक सबै खोप उपलब्ध गराउनेमा ढुक्क देखिएका स्वास्थ्यमन्त्री र स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले चीन र रुसले दिन चाहेको खोपलाई बेवास्ता गरे। अहिले यिनै मुलुकसँग उनीहरूले हारगुहार गर्नुपर्ने अवस्था आएको छ।
स्वास्थ्य सेवा विभागका एक उच्च अधिकारीले भने, ‘चीन र रुसले सुरुमै नेपाललाई खोप दिन चाहेका थिए। तर, भारतले दिने भएपछि अन्य मुलुकबाट किन खरिद गर्नुपर्यो भन्दै माथिल्लो तहबाटै उनीहरूको आग्रहलाई बेवास्ता गरे। अहिले भारतले धोका दियो। चीन र रसियासँग हात जोड्नुपर्ने अवस्था आएको छ।
यो बीचमा भारत बायोटेकले तीन लाख डोज कोभ्याक्सन ९० दिनभित्र उपलब्ध गराउन सक्ने आश्वासन पनि दिएको थियो नेपाललाई। तर, खोपका लागि भारत सरकारले अनुमति दिनुपर्ने उसको सर्त थियो। नेपाल सरकाले कूटनीतिक पहलमा ढिलाइ गरेपछि प्रक्रिया अघि बढ्नै सकेन।
यता, सात महिनाअघि रसियन राजदूत ए.ए नोभिकोभले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, यातायातमन्त्री बसन्त नेम्वाङलगायतलाई भेटेर आफ्नो मुलुकले उत्पादन गरेको ‘स्पुतनिक भी’ नामको खोप अनुदान दिन चोहको बताएका थिए।
त्यसका साथै यो खोप खरिद होस् भन्ने उनको चाहना थियो। तर, रसियन डाइरेक्ट इनभेस्टमेन्ट (आरडीआइ)ले निवेदन दिएको सात महिनापछि मात्रै नेपालले उक्त कम्पनीलाई खोपका लागि पत्राचार गरेको छ।
स्वास्थ्य सेवा विभागका अधिकारीहरू भने त्यो बेला सुरुमा भेरोसिल उत्पादन गर्दै आएको चीनको सिनोफर्माको लोकल एजेन्ट पत्ता नलागेकाले खोप खरिद प्रक्रिया अघि बढ्न नसकेको दाबी गर्दै आएका छन्।
त्यसअघि चिनियाँ दूतावासबाट गोपनीयता ‘मेन्टेन’ गर्नुपर्ने सर्तमा खोप उपलब्ध गराउने पत्र विभागलाई आएको थियो।
तर, खरिदमा दातृनिकायसँग पैसा माग्नु र खर्चको विवरण दिनुपर्ने अवस्थामा गोपनीयता रहन नसक्ने भएकाले चिनियाँ ‘अफर’ बारे प्रक्रिया त्यही टुंगियो। अभावको वर्तमान अवस्थामा तीन दिनअघि मात्र ५० लाख डोज खरिदका लागि पत्राचार गरेको छ। तर, फर्माबाट कुनै प्रतिक्रिया आएको छैन।
नेपालले हालसम्म छिमेकी मुलुकबाट अनुदान र खरिद गरी ३३ लाख ४८ डोज मात्रै प्राप्त गरेको छ।
औषधि व्यवस्था विभागले नेपालमा कोभिसिल्ड, कोभ्याक्स, भेरोसेल र स्पुतनिक भी नामका खोपको प्रयोगको अनुमति दिएको थियो।