
बुटवल – ०७८/७९ मा लुम्बिनी प्रदेशका महत्तवपूर्ण आयोजना समावेश भएका छन्।
राष्ट्रिय गौरवका योजनाहरू लुम्बिनी विकास गुरुयोजना र गौतमबुद्ध विमानस्थलका साथै अरु केही योजनामा बजेट थपिएको छ भने चर्चामा रहेका केही योजनालाई बजेट आएको छ।
लुम्बिनी प्रदेशको रुपन्देहीबाट सांसद निर्वाचित अर्थमन्त्री विष्णु पौडेलले प्रदेशमा भौतिक पूर्वाधार, पर्यटन, उद्योग, स्वास्थ्य, पूर्वाधार, खानेपानी, खेलकुदलगायत क्षेत्रका केही पुराना योजनामा बजेट छुट्याएका छन् भने केही नयाँ योजना थपेका छन्।
लामो समयदेखि पूरा हुन नसकेको लुम्बिनी गुरुयोजना २ वर्षभित्र पूरा गर्ने प्रतिबद्धतासहित बजेट विनियोजन भएको छ। लुम्बिनीमा जारी विकास गुरुयोजनाको क्षेत्रलाई फराकिलो बनाउँदै कपिलवस्तु र नवलपरासीका बुद्धस्थलहरू लुम्बिनी, तिलौराकोट, देवदह, रामग्रामलाई समेटेर बृहत्तर गुरुयोजना बनाउने विषयलाई बजेटले समेटेको छ।
जसका लागि १ अर्ब ५० करोड विनियोजन गरिएको अर्थमन्त्रीले जनाए। उनका अनुसार कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न पहल थालिनेछ।
रुपन्देहीको भैरहवामा निर्माणाधीन विमानस्थलको लागि ०७८/७९ मा ३ अर्ब ५३ अर्ब विनियोजन गरिएको छ।
विमानस्थल निर्माण सम्पन्न गर्न र दोस्रो टर्मिनल भवन निर्माणका लागि अर्थमन्त्री पौडेलले बजेट विनियोजन गरेका छन्। निर्माणको काम अन्तिम चरणमा पुगेको विमानस्थलमा दोस्रो टर्मिनल भवन बनाउने प्रक्रिया सुरु भएको छ।
यस्तै, कालीगण्डकी–तिनाउ डाइभर्सनको डीपीआर आगामी वर्ष पूरा गरेर काम सुरु गर्ने विषयले पनि बजेटमा महत्व पाएको छ।
नौमूरे जलविद्युत् आयोजना, तिनाउ नदी नियन्त्रणका लागि पनि बजेट परेको छ। बाँकेको सिक्टा सिँचाइका लागि १ अर्ब ५६ करोड बजेट विनियोजन गर्दै २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
पाल्पामा मौसम मापन गर्न राडर स्थापना, प्रदेशमा भूमि बैंक स्थापना गरेर १ वर्षभित्र सञ्चालनमा ल्याउने, अंग्रेज फौजलाई हराएको बुटवलको जितगढीलाई संरक्षण गरी विस्तृत अध्ययन गर्ने, पाल्पामा लिफ्ट खानेपानी, लुम्बिनीमा सांस्कृतिक स्मार्ट सिटी, बुटवल–भैरहवालाई मेगा सिटी बनाउने, पश्चिम नवलपरासीको बर्दघाटमा ट्रमा सेन्टर स्थापना गर्नेजस्ता योजना बजेटमा समेटिएका छन्।
केही समयदेखि चर्चामा रहेर केही महिनाअघि मात्रै शिलान्यास भएको रुपन्देहीको मोतिपूरको औद्योगिक क्षेत्र २ वर्षभित्र पूरा गरिने बजेटमा उल्लेख छ।
रूपन्देहीको तिलोत्तमामा बन्ने बुटवल मेडिकल कलेजको डीपीआर पूरा गरी निर्माणको काम सुरु गर्ने, रूपन्देहीको बेलहियामा मालबाहक गाडी पार्किङ गर्न ‘पार्किङ ग्राम’ बनाउने योजना बजेटमा छन्।
केही दिनअघि मात्रै ग्लोबल टेण्डर भएको सिद्धबाबा क्षेत्रको सुरुङमार्ग निर्माणका लागि बजेटको व्यवस्था गर्ने, सिद्धार्थ राजमार्गलाई डेलिकेटेड राजमार्ग बनाउने बुटवल–कोहलपुर सडकलाई चार लेनको बनाउनका लागि आवश्यक बजेट विनियोजन भएको छ।
यस्तै, बजेटले भैरहवामा क्रिकेट मैदान, नवलपरासीको त्रिवेणीदेखि देवघाटसम्म जलमार्ग, सिद्धार्थनगरमा सडक, ढल, खानेपानीका लागि पूर्वाधार बनाउन बजेट विनियोजन भएको छ।
बुटवल–भैरहवा लुम्बिनीका लागि चल्ने विद्यतीय बस चलाउन अनुदान दिने र बुटवलमा विद्युत् तार भूमिगत गर्ने योजना पनि बजेटमा छ।
लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा पूर्वाधार बनाउन पनि बजेट छुट्टिएको छ।