
काठमाडौँ – खोप अभावमा गुज्रिरहेको नेपाललाई आफ्नो प्रतिवद्धता अनुसार पूर्वनिर्धारित समयमा खोप उपलब्ध गराउन विदेशी सहयोगी संस्थाहरु पनि असफल भएका छन्।
आफ्नै अस्पष्ट नीति र ढिलासुस्तीका कारण समयमै खोप खरिद गर्न नसकेको नेपाल सरकारलाई कोभ्याक्स सुविधा अन्तर्गत यही जेठको मध्यसम्म पहिलो चरणमा १९ लाख २० हजार ‘कोभिसिल्ड’ खोप उपहार स्वरुप प्रदान गर्ने लक्ष्य थियो।
स्वास्थ्य सेवा विभागका स्वास्थ्य अधिकारीहरु अब पनि तत्कालै कोभ्याक्सले आफूहरुलाई खोप उपलब्ध गराउने छ भन्नेमा आशावादी छैनन्।
कोभ्याक्स सुविधाले गत वैशाख ९ गते पठाएको पत्रमा आजकै मितिसम्म पहिलो चरणमा १९ लाख २० हजार ‘कोभिसिल्ड’ खोप, सोही अनुसारको सिरिञ्ज र सेफ्टी बक्स उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो।
यो बाहेक निकट भविष्यमा ९७ लाख ३४ हजार ८ सय खोप दिने आश्वासन पनि नेपाललाई कोभ्याक्सले दिएको थियो। त्यसबाट नेपालका २० प्रतिशत नागरिक खोपको पहुँचमा पुग्ने विश्वास स्वास्थ्य अधिकारीहरुले गरेका थिए।
तर हालसम्म कोभ्याक्सले नेपाललाई ३ लाख ४८ हजार खोप मात्रै उपलब्ध गराएको छ। कोभ्याक्सले यो खोप गत वर्ष फागुन २३ मा युनिसेफमार्फत नेपाललाई उपलब्ध गराएको थियो।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका प्रमुख डा.तारा पोखरेलका अनुसार कोभ्याक्सको प्रतिवद्धता अनुसार खोप आएको भए अहिलेसम्म ६५ वर्ष माथिका नागरिकले दोश्रो मात्रा खोप पाउने थिए। साथै थप १० लाख मानिसले दुई मात्रा नै पाउने थिए।
नेपालले किन पाएन खोप?
यतिबेला विश्वका प्राय सबै मुलुकले खोप प्राप्तिका लागि संघर्ष गरिरहेका छन्। तर उत्पादन थोरै, माग धेरै भएकाले खोप खरिद र अनुदान प्राप्त गर्न उनीहरुलाई मुस्किल परेको छ।
कोभ्याक्सले नेपाललाई भारतको सेरम इस्टिचियुटले उत्पादन गर्दै आएको ‘कोभिसिल्ड’ खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएका थियो।
कोभिसिल्डको आधिकारिता बेलायतमा उत्पादन गरिएको अस्ट्राजेनिकासँग छ। ‘कोभिसिल्ड’ नेपालका लागि उपयुक्त हुने निष्कर्षसहित कोभ्याक्सले यही खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो।
तर महामारीले विकराल रुप लिएपछि भारत सरकारले सिरमलाई खोप निर्यातमा प्रतिबन्ध लगायो। त्यसपछि १२ दिन अघि सिरमले कोभ्याक्सलाई पत्र लेख्दै तत्काल आफ्नो प्रतिवद्धता अनुसार खोप दिन नसक्ने बताएको थियो।
तर उसले २०२१ को अन्तिसम्ममा खोप उपलब्धताका लागि प्रयास गर्ने बताएको छ। बीचमा आफूहरुले खोप उपलब्धताका लागि एक दर्जन बढी पत्रहरु पठाएर कोभ्याक्सलाई ताकेता गरेको डा. पोखरेलले बताए।
कोभ्याक्सले सुबिधाले हाल कोभिसिल्ड, एस्ट्राजेनिका, फाइजर, जोन्सन एण्ड जोन्सन, मोडर्ना र न्यानोभ्याक्स खोपलाई मान्यता दिएको छ । यो सुविधाले १० दिन अघि सम्म १ सय २३ मुलुकलाई ७ करोड लाख मात्रा खोप पुर्याएको छ।
यता नेपालले अझै पनि रकम भुक्तानी गरिसके पनि भारतबाट बाँकी १० लाख मात्रा खोप पाउन सकेको छैन। खोप आपूर्तिमा सहजीकरणका लागि उच्चतम तहबाट प्रयासहरु भएपनि त्यसले सार्थकता पाउन नसकेको हो।
गत फागनु ४ गते मन्त्रिपरिषद् बैठकले सिरमसँग २० लाख मात्रा खोप किन्ने निर्णय गरेको थियो। त्यसका लागि सरकारले ८० प्रतिशत रकम भुक्तानी पनि तत्काल गरिएको थियो। तर सिरमले १० लाख मात्रा मात्रै खोप नेपाललाई पठाएको थियो। आफ्नै मुलुकमा महामारीले तीब्र रुप लिएकाले बाँकी खोप तत्काल उपलब्ध गराउन नसक्ने सिरमले बताएको थियो। त्यसअघि भारतले नेपाललाई उपहारस्वरुप १० लाख खोप र नेपाली सेनालाई एक लाख उपलब्ध गराएको थियो।
भारतले खोप दिनेमा विश्वस्त भएको सरकारले यता चीनसँग अझै खोप खरिद प्रक्रिया अघि बढाउन सकेको छैन। नेपाललाई १० लाख भेरोसेल खोप अनुदानमा उपलब्ध गराउने राष्ट्रपति सी जीन पीङको चार दिन अघिको घोषणा अनुसार आज आइतबार सम्म २ लाख मात्रा र त्यसपछि सात दिनमा बाँकी सबै मात्रा आउने दाबी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेका छन्।