
काठमाडौँ- सरकारले कोभिड–१९ संङ्कट व्यवस्थापन अध्यादेश जारी गरेपछि वीर अस्पतालको स्वायत्तता खोसिएको छ।अध्यादेशका आधारमा सरकारद्धारा कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल सञ्चालनका लागि नवनियुक्त प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमले अस्पतालको सर्वाधिकार आफ्नो हातमा लिन थालेको भन्दै अस्पतालका सबै तहका कर्मचारीहरु अन्यौल र तनावग्रस्त बनेका छन्।
प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गौतमले अस्पतालका निर्देशक डा. शान्ता सापोकाटाको नाम हटाई आफ्नो ‘नेम प्लेट’ समेत झुन्डाएको भन्दै असन्तुष्टि तीब्र बनेको छ।
अध्यादेशमा संक्रमितको निदान र उपचारको काम एकीकृत रुपमा सञ्चालन र व्यवस्थापन गर्न वीर अस्पताल कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको रुपमा रहने उल्लेख छ। अध्यादेशमा यसले सम्बन्धित प्रदेश सरकारसँग आवश्यक समन्वय गरी प्रदेशस्थित सङ्घीय वा प्रादेशिक अस्पताललाई कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पताल तोकी सञ्चालन गर्न वा गराउन सक्नेछ समेत भनिएको छ।
यस्तै मन्त्रालयको केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको रुपमा निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा नेपाल स्वास्थ्य सेवाको कम्तीमा एघारौँ तहको अधिकृत वा वरिष्ठ चिकित्सकलाई खटाउन वा नियुक्त गर्न सकिने व्यवस्था अध्यादेशमा छ।

वीर अस्पताल।
सोही आधारमा नियुक्त भएका गौतमले आफूमातहत काम गर्न तयार नहुने अस्पतालका कर्मचारीलाई चेतावनी दिन थालेको गुनासो छ।
तर गौतमले आफ्नो जिम्मेवारी अनुसार आफूले काम गर्नु स्वाभाविक दाबी गरेका छन्। गौतमले देश सञ्चारसँग भने,‘ नयाँ कानुन आएपछि पुरानो कानुन रद्द हुन्छ। अहिलेको अध्यादेशले न्याम्स ऐनलाई स्वत: विस्थापित गरेको छ। कोभिडका गरिब बिरामीको ज्यान बचाउन यो अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालनका लागि प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारी मलाई दिइएको हो।’ उनले अध्यादेश आएसँगै निर्देशक पद पनि नरहेको दाबी गरेका छन्।
यो सँगै उनले वीर अस्पतालका कर्मचारीलाई सुध्रिन चेतावनीसमेत दिएका छन्। उनले भने, ‘अझ पनि नसुध्रिने हो भने सधैँका लागि न्याम्स पनि जाला। त्यसमा विचार गरियोस्। तत्कालै मिलेर कोभिडको उपचार गरौँ। अध्यादेश भविष्यमा चाहिँदैन। अस्पताल आफ्नै ठाउँमा जान्छ। उल्टोउल्टो कुरा गरेर सँधैका लागि वीर अस्पताल न्याम्सबाट हट्नका लागि काम नगरौँ।’
उनले वीर अस्पतालले काम गर्न नसकेका कारणले सरकारले अध्यादेशमार्फत यसलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल सञ्चालन गर्नुपर्ने अवस्था आएको बताए।
अस्पताल स्रोतका अनुसार डा. गौतमले उपकुलपति, निर्देशक, रजिस्टारलगायत कर्मचारीलाई आफू सर्वेसर्वा भएको दाबी मात्रै गरेका छैनन्, दुई उपनिर्देशकसमेत नियुक्त गरेका छन्, आइतबार। उनले कोभिडतर्फ उपनिर्देशकमा डा. आशिष ढुंगानालाई नियुक्त गरेका छन् भने बाँकी सेवातर्फ डा. नविन पोखरेललाई उपनिर्देशक नियुक्त गरेका छन्।
डा.ढुंगानाको इच्छा उपनिर्देशक बन्ने नभएपनि अर्को विकल्प नभएपछि उनलाई नै गौतमले त्यो जिम्मेवारी थमाएका छन्। स्रोतका अनुसार डा. ढुंगानाले गौतमलाई भनेका थिए, ‘म बिरामी जाँच्न नै व्यस्त छु। प्रशासनिक काम आउँदैन।’ कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेशले वीर अस्पताल सञ्चालन गर्दै आएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को ऐन रद्द या निलम्बन गरेको छैन।
यस्तो अवस्थामा डा. गौतमले आफ्नो अस्पतालमा आएर तीव्ररुपमा हस्तक्षप गरेको स्रोतको भनाइ छ। ‘अध्यादेशमा न्याम्सको ऐन रद्द या निलम्बन नभएको अवस्थामा न्याम्सको ऐनअनुसार नियुक्त भएका निर्देशकलगायत पदाधिकारी पदलाई सरकारले खटाएको प्रमुख प्रशासकीय अधिकारीले विस्थापित गर्न मिल्दैन’, स्रोतले भन्यो।
स्रोतका अनुसार न्याम्सको संरचना भन्दा बेग्लैरुपमा अध्यादेश कार्यान्वयन हुने बुझाइमा अस्पतालका कर्मचारीहरु थिए। अर्थात वीर अस्पताल पुरानै तरिकाले चल्ने, वीरको नयाँ सर्जिलक भवनलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गरिने, कोरोना नियन्त्रणमा आएपछि त्यो संरचना वीरकै हुने बुझाइ अस्पतालका कर्मचारीको थियो।
स्रोतले भन्यो, ‘अध्यादेशमा वीरको निर्देशक हटाउने भनेर कहाँ लेखेको छ? उपकुलपतिको अधिकार कटौती कहाँ गरेको छ? संसदले दिएको ऐनको आधारमा चलेको संस्थाको संरचना भत्काउने अधिकार डा. गौतमलाई कसरी भयो?’
डा. गौतमले वीर अस्पतालभित्रै छिरेर उसको आन्तरिक प्रशासनमा हस्तक्षेप गरेको भन्दै न्याम्स र वीर अस्पतालका पदाधिकारीहरुले आगामी बाटोबारे छलफल तीव्र पारेका छन्।
छलफलमा न्याम्सको स्वायत्तता खोसिएको भन्दै अदालत जाने कि भन्ने प्रश्नहरु पनि उठेका छन्। तर यस्तो महामारीमा अस्पतालका चिकित्सकहरु अदालत जाँदा नकारात्मक सन्देश प्रवाह हुने डरमा उनीहरु परेका छन्।
स्रोतले भन्यो, ‘ वीर अस्पतालले देशभरीका अस्पताल चलाउने हो भने अब स्वास्थ्य मन्त्रालय किन चाहियो? देशभरिको अस्पतालले कसरी सेवा दिएका छन् त्यो त स्वास्थ्य मन्त्रालयले हेरिरहेको छ अहिले। वीरमै आएर हस्तक्षेप गर्नु पर्ने कारण के हो?’
स्रोतका अनुसार कोभिड–१९ को उपचार सेवा दिने मामिलामा कसैको विमति नभएको पनि स्पष्ट छ। न्याम्सकै ऐनसँग बाझिने गरी डा. गौतमले काम गर्न थालेकाले अस्पतालका कर्मचारी असन्तुष्ट बनेका हुन्।
वीरमा यसरी आए डा. गौतम
कोरोना महमाारी नियन्त्रणका प्रयासहरु असफल हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड– १९ सङ्कट व्यवस्थापन अध्यादेश तयार गर्दा वीर अस्पताल कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको रुपमा सञ्चालनको अवधारण अघि सरेको थियो।
यसको प्रशासकीय अधिकारीको रुपमा मन्त्रालयका डा. गुणराज लोहनीलाई बनाउन स्वास्थ्यमन्त्री र सचिव दुवै इच्छुक थिए। लामोसमयदेखि महामारी लगायत सेवा व्यवस्थापनमा खटिरहेकाले डा. लोहनी उहरुको रोजाइमा परेका थिए।
तर डा. लोहनी नेकपा माओवादी केन्द्र निकट मानिन्छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले डा. लोहनीको नाम ठाडै अस्वीकार गरेको स्रोतको भनाइ छ।
विकल्पमा ओलीले उक्त पदमा डा. भगवान कोइरालालाई ल्याउन चाहेका थिए। तर डा. कोइराला त्यसमा राजी नभएपछि अन्ततः ओली गुटका पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारी निकट डा. गौतमलाई वीर पठाइएको स्रोतको दाबी छ।
डा. गौतम स्वास्थ्य मन्त्रालयमा प्रवक्ताको भूमिकामा थिए। वीरमा जानासाथ गौतमले न्याम्सका उपकुलपतिलाई पत्र थमाउँदै ‘तपाईँ एकेडेमी हेर्ने हो, बाँकी सबै मैले हेर्ने हो’ भनेको स्रोतले बतायो।
‘मैले गर्ने कामबारे तपाईँलाई सोधिरहन पर्दैन। म पूर्णरुपमा अधिकार पाएर यहाँ आएको छु। बरु मेरो काममा सहयोग गर्नुहोला,’ गौतमले उपकुलपतिलाई दिएको आदेश उद्धृत गर्दै स्रोतले भन्यो।
यस्तै न्याम्सका रजिस्टारबाट डा. गौतम महामारीसम्म त आउनु भएको होला नि भन्ने प्रतिक्रिया आउँदा गौतम झोँकिएका थिए। त्यसपछि वीर अस्पतालकी निर्देशक डा.शान्त सापकोटाको कार्यकक्षमा पुगेर ‘अब तपाईँको यो पदमा जिम्मेवारी सकियो। सहयोगीको रुपमा स्वागत छ’ भनेका थिए।
तर सापकोटाले न्याम्सको ऐन बाझिने गरी काम भएको भन्दै अस्पतालका कानुन शाखालाई गुहारेकी थिइन्। कानुन शाखाका कर्मचारीले पनि अध्यादेशले नबोलेको कुरा गर्न मिल्दैन भन्ने प्रश्न गरेपछि डा.गौतमले ‘तपाईँलाई मेरो मातहतमा रहेर काम गर्न मन छ कि छैन’ भन्दै चेतावनी दिएका थिए। निर्देशक सापकोटा अहिले कामबिहिन भएकी छन्। उनी दैनिक अस्पतालमा हाजिर गरेर फर्कने गरेकी छन्।
स्रोतका अनुसार अब वीर अस्पतालकै नामसमेत पनि परिवर्तन गर्ने तयारी सरकारले गरेको छ। यसो भएमा वीरका सबै कर्मचारी आन्दोलनमा उत्रिने स्रोतले बतायो।