
काठमाडौँँ- वीर अस्पताल कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल सञ्चालनका लागि नवनियुक्त डा. जागेश्वर गौतमले पदाधिकारी र कर्मचारी नसुध्रिए वीर अस्पताल सँधैका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हुने चेतावनी दिएका छन्।
डा. गौतमले वीर अस्पताल सञ्चालन गर्दै आएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को ऐन विपरीत आफू सर्वेसर्वा भएको भन्दै काम गर्न थालेको आरोप त्यहाँका पदाधिकरी र कर्मचारीले लगाएका छन्।
तर डा. गौतमले पदाधिकारी र कर्मचारी अब पनि नसुध्रिए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सँधैका लागि वीर अस्पताल खोस्ने चेतावनी दिएका हुन्।
कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेशले वीर अस्पताल स्वास्थ्य मन्त्रालयले आफ्नो मातहत ल्याइसकेको र अस्पतालको प्रशासनीक आर्थिक अधिकार प्रमुख प्रशासकीय अधिकारीको हैसियतमा आफूले पाइसकेको भन्दै डा. गौतमले संकटका बेला काम नगरेर यहाँका पदाधिकारी र कर्मचारीले उल्टाउल्टा कुरा गरेर हिँड्ने हो भने वीर अस्पताल सँधैका लागि खोसिने चेतावनी दिए।
उनले भने, ‘अध्यादेशले मलाई वीर अस्पताल सञ्चालनका लागि सम्पूर्ण प्रशासनिक तथा आर्थिक अधिकार दिएको छ। अब कुनै पनि काम गर्न मैले न्याम्सलाई सोध्न पर्दैन। मात्र शैक्षिक गतिविधिका लागि समन्वय गर्ने हो। म न्याम्सको कर्मचारी होइन?’
उनले आफूलाई स्वास्थ्य मन्त्रालयले नियुक्त गरेका कारण आफ्नो हाकिम न्याम्सका पदाधिकारी नभई स्वास्थ्य सचिव भएको बताए। डा. गौतमले आफूलाई प्रदेश अस्पताललाई कोभिड अस्पताल बनाउन सक्ने, कर्मचारीको सरुवा गर्ने अधिकार पनि आफूले पाएकाले त्यसमा हात बाँधेर नबस्ने बताए।
गौतम यही जेठ ११ गते वीर अस्पतालमा हाजिर भएका थिए। पदवहालीलगत्तै उनले वीर अस्पतालका निर्देशक डा. शान्ता सापकोटाको ‘नेम प्लेट’ हटाई आफ्नो ‘नेम प्लेट’ राखेका थिए। यो बीचमा उनले दुई उपनिर्देशक पनि नियुक्त गरिसकेका छन्। डा. गौतमले आफू आएको एक सातामै वीरको नयाँ भवनमा कोभिड –१९ को उपचार सुरु गरेको बताएका छन्।
उनले भने, ‘यसअघि यो भवन सञ्चालनमा आउन सकेको थिएन। भवन बनेको लामो समयसम्म सेवा दिन नसक्दा यो बीचमा कयौँ मानिसको उपचार नपाएर ज्यान गयो। कयौँको निजी अस्पतालमा जाँदा घरखेत उड्यो।’
डा. गौतमले मंगलबारबाट अक्सिजन सुविधासहित ५० बेडको अस्पताल सुरु गरेको बताए। बुधबारबाट १०० बेडसहित कोभिडको उपचार गर्ने उनको दाबी छ। यो भवनमा ५०० बेडसहित उपचार सेवा दिन सकिन्छ।